जुलाई १८, २०१५ राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, सिद्धान्त लोहनीले। आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत जर्सीविरूद्धको डेब्यू खेलमा सिद्धान्तले १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन प्रहार गरेका थिए।
नेपाल पराजित भएको उक्त खेलमा सिद्धान्त भने चर्चाको शिखरमा रहे। उनले सो खेल खेल भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको शैलीमा हेलिकोप्टर सट प्रहार गरेका थिए। उनको सो सटको अन्तर्राष्ट्रिय क्रिकेटमा पनि चर्चा भएको थियो।
डेब्यूमा सनसनी मच्चाएका उनले राष्ट्रिय टोलीमा निरन्तर प्रदर्शन गर्न भने सकेनन्।
सन् २०२३ सम्म उनले घरेलु क्रिकेट निरन्तर खेलिरहे। सन् २०२३ मा उनी कोशी प्रदेशको कप्तान थिए।
सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगिता सिद्धान्तका लागि दु:खान्त सावित भयो।
कोशी प्रदेशका कप्तान सिद्धान्त गण्डकीविरूद्ध फिल्डिङ गर्ने क्रममा घाइते भए। उनको खुट्टामा चोट लाग्यो। त्यो दिनदेखि मैदानबाट टाढा रहेका सिद्धान्त अहिले पनि उपचार गराइरहेका छन्।
उनले अहिलेसम्म ६ पटक खुट्टाको शल्यक्रिया गराएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। उपचारमा २० लाख रूपैयाँभन्दा बढी खर्च भएको बताएका सिद्धान्तले नेपाल क्रिकेट संघ (क्यान) बाट कुनै पनि सहयोग नपाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
जनकपुरमा भएको उक्त प्रतियोगिता क्यानबाट अनुमति लिएर मधेश प्रादेशीक क्रिकेट संघले आयोजना गरेको थियो। उक्त प्रतियोगितामा कुनै पनि खेलाडीको बिमा गराइएको थिएन।
दुई वर्षको बीचमा क्यानमा सहयोगका लागि धेरै पटक इमेल गरेको सिद्धान्तको भनाइ छ। एक लाख रुपैयाँबाहेक सहयोग पाउन नसकेको सिद्धान्तले बताए।
क्यानका प्रवक्ता छुम्बी लामाले क्रिकेट खेलाडीको उपचारको विषयमा संघ गम्भीर रहेको बताए।
‘त्यतिबेला क्यानले बी एन्ड बी अस्पतालमा उपचारको सहजीकरण गर्न पत्राचार गरेको रहेछ। एक लाख पनि सहयोग पाउनु भएको छ,’ लामाले भने, ‘उहाँको परिवारबाट सहयोगका लागि अनुरोध भएको छ। क्यान खेलाडीको उपचार गर्न प्रतिबद्ध र सकारात्मक छ। उहाँलाई सहयोग गर्ने विषयमा क्यानको बोर्डबाट निर्णय हुन्छ।’
तर सिद्धान्तले बोर्ड बैठकबाट निर्णय गर्ने विषयमा दुई वर्षदेखि बारम्बार आश्वासन पाए पनि अहिलेसम्म आफ्ना लागि कुनै निर्णय नभएको बताए।
सिद्धान्तले सामाजिल सञ्जालमा व्यक्त गरेको चोट पीडा :
म घाइते भएको दुई वर्ष भइसक्यो। अहिले भारतको गुरुग्राममा उपचार गराइरहेको छु। २२ मार्चमा मेरो शल्यक्रिया भएको छ। यो छैटौं पटक शल्लक्रिया गरिएको हो।
सन् २०२३ मा जनकपुरमा महेन्द्रनारायण निधि टी-२० कप खेल्ने क्रममा घाइते भए। मेरो खुट्टामा चोट लाग्यो। कोशी प्रदेशको कप्तान थिए। गण्डकीविरूद्ध फिल्डिङ गर्ने क्रममा लडेँ।
केही दिनमा मेरो शल्यक्रिया भयो। केही दिन फिजियोथेरापी गराएर विराटनगर घरमा पुगे। तर दुख्न थाल्यो। खुट्टामा इन्फेक्सन भइसकेको रहेछ। फेरि अर्को शल्यक्रिया गर्नु पर्ने भयो। यसरी इन्फेक्सन हुने क्रम बढिरह्यो। बराम्बार भयो। बिएनबी अस्पतालमा पाँच पटक शल्यक्रिया भयो।
६ वर्षअघि पनि प्रधानमन्त्री कप खेल्दा घाइते भएको थिए। त्यो बेलामा पनि न नेपाल क्रिकेट संघ (क्यान) ले हेरेको थियो न राष्ट्रिय खेलकुद परिषदले हेरेको थियो ! खेलकुद परिषदमा रिपोर्ट र बिलहरू बुझाएको थिए। त्यो पनि कसैको पनि सहयोग भएन।
दुई वर्षअघि घाइते भएपछि क्यानका सदस्यलाई म्यासेज पठाए। अध्यक्ष चतुर सर (चतुरबहादुर चन्द) लाई पनि म्यासेज गरे। सुरूमा उहाँबाट खासै केही प्रतिक्रिया आएन। धेरै ठाँउबाट भन्न लगाएपछि मलाई क्यानबाट एक लाख रूपैयाँ सहयोग प्राप्त भयो। त्यो बेलामा मेरो ३-४ लाख रुपैयाँ खर्च भइसकेको थियो। मान्छे पठाउनु भनेपछि मेरो भाइले क्यानको अफिसमा गएर एक लाख रुपैयाँ ल्याएको थियो। त्यसपछि पनि न क्यानको सदस्यले फोन गर्नु भयो न सोधखोज गर्नु भयो।
फेरि मेरो इन्फेक्सन भयो शल्यक्रिया भयो। मैले क्यानमा कति मेल लेखे। मेरो बिल बढ्दै गइरहेको थियो। दैनिक थेरापी पनि गर्नुपर्थ्यो। दिनको दुई हजार त थेरापी मै जान्थ्यो। दैनिक थेरापी गर्नु पर्ने भएपछि काठमाडौंमा फ्लाट भाडामा लिएर बस्न पर्ने भयो। पटक पटक शल्यक्रिया गर्दा मेरो २० लाखभन्दा बढी खर्च भइसकेको छ।
म घरमा लडेको पनि होइन न बाटोमा हिड्दा लडेको थिए। राष्ट्रिय प्रतियोगिता खेल्दा घाइते भएको थिए। गण्डकी प्रदेशविरूद्ध फिल्डिङगर्ने क्रममा घाइते भएको थिए।
सुरुमा क्यानले धेरै आश देखाउनु भयो। जहिले पनि गर्छौं-गर्छौं भन्नु भयो। अबको बोर्ड बैठकमा तिम्रो विषयमा निर्णय हुन्छ भन्नु भयो। दुई वर्ष भइसक्यो। अहिलेसम्म उहाँहरुको बोर्ड बैठक नै भइरहेको छ। अहिलेसम्म केही जवाफ नै आएको छैन।
पाँच छ महिनाअघि विराटनगरमा यू-१९ राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यो बेलमा मेरो स्थिति सजिलो थिएन। तै पनि म लठ्ठी टेकेर भए पनि मैदान गएको थिए। चतुर सर ओपनिङमा आउनु भएको थियो। चुतर सर आउनु भएको छ पक्कै केही हुन्छ भनेर आसा राखेर मैदान गएको थिए। त्यो बेलमा उहाँले हामी गर्छौं भन्नु भएको थियो। उहाँसँग कोषाध्यक्ष पदम खड्का हुनुहुन्थ्यो। उहाँले पनि गर्छौं भन्नु भएको थियो। त्यसपछि धेरै मेल र म्यासेज गरे। कोशी प्रदेश क्रिकेट संघले पनि कति चिठी पठाउनु भयो। तर पनि उहाँहरुको प्रतिक्रिया केही छैन।
मेरो क्यानका उपाध्यक्ष रोशन सिंह पनि भर्खरै कुरा भएको थियो। उहाँले म पहिला कोषाध्यक्ष हुँदा तीन चार जना खेलाडीको शल्यक्रिया गराएको थिए। पहिला जसरी गराउन सक्थे अहिले सक्दिन भनेर रोशन सरले भन्नु भयो। उहाँले मेरो बारेमा पटकपटक बैठकमा भनेको कुरा पनि गर्नु भयो। तर बाँकी सदस्यबाट खासै समर्थन नभएको रोशन सरले भन्नु भयो। यो कुरा सुन्दा मलाई धेरै नै दु:ख लाग्यो।
देशको लागि खेल्ने भनेर आफ्नो जिउ ज्यान लगाएर खेलेको हुन्छ। तर घाइते भए पछि हामीलाई कसैले पनि हेर्दैन। यसरी हामी कसरी खेल्ने कुन अवस्थाले खेल्ने?
अर्को दु:ख लाग्दो कुरा के हो भने मेरो बारेमा पत्रकारले क्यानको एक सदस्यसँग ‘सिद्धान्तको उपाचारमा किन सहयोग नगर्नु भएको? भनेर प्रश्न गरेका थिए। क्यानको सदस्यले भन्नु भएछ- सिद्धान्त ठूलै परिवारको मान्छे हो। उसले गर्न सक्छ। हामीले अरुलाई त गरेकै हो सिद्धान्तको केसमा उसले आफै उपचार गर्न सक्छ। भनेर भन्नु भएछ।
यो भन्दा लाजमर्दो जवाफ के होला। मेरो परिवारको स्थिति कस्तो छ उहाँलाई थाहा हुने कुरा हुँदैन। मान्छेको स्थिति सधै एउटै हुँदैन। मसँग करोडौं रूपैयाँ भए पनि म त राष्ट्रको खेलाडी हो नी त। म यतिकै लडेको होइन। राष्ट्रिय प्रतियोगिता खेल्दा घाइते भएको हो। मेरो अभिभावक नै क्यान हो। क्यानबाट नै यस्तो जवाफ आएपछि हामीले के आसा राख्ने? खेल्ने त माहोल नै रहेनछ भनेर बुझ्न पर्यो।
जुन सपोर्ट पाउनु पर्ने त्यो एक प्रतिशत पनि पाइन। चतुर सरले मेरै पहलमा एक लाख दिएको भन्नु भएछ। मेरो खर्च त कति भइसक्यो। त्यो एक लाख त ट्राभलमा नै खर्चभइसक्यो। तर उहाँले कस्तो कस्तो जवाफ दिनु हुन्छ सुनेर दु:ख लाग्छ।
नेपालमा खेलेर केही नहुने रहेछ। तपाइँ घाइते हुँदा कसैले पनि नहेर्ने रहेछ। उहाँहरुले गर्नु होला भनेर यति समय चुप लागेर बसे। मेरो यति खर्च हुँदा पनि खुट्टा जस्ताकै तस्तै छ। दुई वर्षदेखि मैले जुन कुरा भोगे। यति धेरै पीडा हुन्थ्यो कि बसेर रुन्थे। कहिले कहाँ कहिले कहाँ पीडा हुन्थ्यो। रुने बाहेक उपाय थिएन।
दुई वर्षदेखि यति धेरै पीडा खपे मेरो परिवारबाट साथ पाए। एक्कासी खेलबाट बाहिरिएपछि पहिलो तीन चार महिना त म डिप्रेसनमा नै जान्छु कि जस्तो भएको थियो। दुई चार महिना त हिड्नै नसक्ने भए।
अहिले भागवानसँग यति प्रार्थना गर्छु कि हिड्ने मात्र बनाइदिनु भन्छु।
जे कुरा मैले पाइन। भावी पुस्ताका खेलाडीका लागि राम्रो होस्। जे कुरा मैले भोगे उनीहरुले भोग्न नपरोस्। जिल्लादेखि नै खेलाडीको बीमा हुनु पर्यो। तब मात्र अभिभावकले आफ्नो बच्चालाई खेल्न जान दिनुहुन्छ। घाइते भए कुनै सुराक्षा छैन कसैले हेर्दन भने कसरी खेल्ने?