उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन्।
निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे उपप्रधानमन्त्री सिंहले बिहीबार छड्के अनुगमन गरेको उनको सचिवालयले जनाएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास व्यक्त गरे।
ठेकेदार कम्पनीका प्रतिनिधिहरूले प्यारापिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए।
उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए।
ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफूले जोड दिएको बताए।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो।