विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको असम क्रिकेट क्लबले जित दर्ता गरेको छ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा असमले कोशी प्रदेशलाई ९७ रनको ठूलो अन्तरले पराजित गर्यो।
२१० रनको लक्ष्य पछ्याएको कोशीले ३७.२ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिङ गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन योगदान दिए। चिराग शाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
असमको बलिङतर्फ तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए। राज विश्वले २ तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको असम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो।
असमको ब्याटिङमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए। ३३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे।
कोशी प्रदेशको बलिङमा देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन गर्दै ४ विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट लिए। फिर्दोश अन्सारी र प्रकाश कार्कीले १/१ विकेट लिए।
अलराउण्ड प्रदर्शन गरेका असमका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको असम क्रिकेट टिम रहेका छन्।
आफ्नो पहिलो खेलमा कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। असमसँग हार पछि अब समुह 'बी' बाट फाइनल पुग्ने टिमको निर्क्योल बिहीबार हुने नेपाल पुलिस क्लब र असम बीचको खेलले निर्धारण गर्नेछ। असमले पुलिसलाई पराजित गरेको खण्डमा असम दुवै जितको साथ समूह विजेताको रुपमा फाइनल पुग्नेछ। यदि पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र असममध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ। समूह 'ए' बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।
प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।