अछामको बान्नीगढी जयगढ गाउँपालिकाका-५ सुगालीमा पहिलोपटक जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेट हुने भएको छ। पुस १ बाट सुगालीको थालाकोटमा जीबी मेमोरियल क्रिकेट लिग हुन लागेको हो।
जीबी स्पोर्टका सञ्चालक सुरज रावलकाअनुसार लिगमा झण्डै एक दर्जन स्कुलका टिमहरु सहभागी हुनेछन्। लिग एक हप्तासम्म चल्नेछ। टिममा स्कुलस्तरका खेलाडीहरुको बढी प्राथमिकता हुनुपर्नेछ भने अपुग भएको अवस्थामा कक्षा ११ र १२ का २२ वर्ष उमेरसम्मका तीन जना खेलाडी सहभागी गराउन पाइने रावलले जानकारी दिए ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका युवा क्रिकेटर समेत रहेका रावलले ग्रामीण क्षेत्रका क्रिकेट विकासमा योगदान दिनका लागि आफूहरुले उक्त लिगको आयोजना गर्न लागेको बताए। टिमहरु रजिष्ट्रेशनका लागि पाँच हजार शुल्क तिर्नुपर्नेछ । जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेटका विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताको टाइटल स्पोन्सर मन्त्र एजुकेशन एण्ड माइग्रेसन रहेको छ भने इलाइट विजनेश, क्याम युथ एशोसिएसन र एसटीएल इन्टरनेशनलले सहयोग गरेका छन्। लिगलाई अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले पनि सहयोग रहेको छ।
खेलाडीहरुलाई जीबी स्पोर्टले निःशुल्क जर्सीसहितका खेलकूद सामाग्रीहरु समेत उपलब्ध गराउनेछ। ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगको म्यान अफ सिरिज, वेष्ट बलर र बेष्ट ब्याटसम्यानलाई ६-६ महिना पहिलो श्रेणीको तालिम उपलब्ध गराउनेछ। प्रतियोगितामा झण्डै १२ लाख खर्च हुने अनुमान गरिएको छ।