भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली भिड्न लागेका हुन्। यद्यपी यो खेल अनौपचारिक हो।
यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले पाएकी छन् भने नेपालले दोस्रो रोजाइको टोली मैदान उतार्ने भएको छ।
नेपाली टोली
अनिता बस्नेत (कप्तान), उषा नाथ (गोलकिपर), प्रतिक्षा चौधरी, मीना देउवा, सरु लिम्बू, हिराकुमारी भुजेल, निशा थोकर, विमला विक, पूर्णिमा राई, सरस्वती हमला र रश्मिकुमारी घिसिङ।

सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको हो। यो खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको छ। जसका करण नेपाली हतार-हतार गान्तोक गएका हुन्।
नेपाली खेलाडी अनिद्रा तथा भोकभोकै विहान सबेरै गान्तोकका लागि गएपछि आलोचना भएको थियो। खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीले दु:ख पाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई फोन गरेर हप्काएको भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओ मन्त्री निकट व्यक्तिहरूले सार्वजनिक गरेका थिए।
सोमबार भारतविरूद्ध २-१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन। बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा हुनेछैनन्।
सिक्किममा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल भए पनि अनौपचारिक मात्र हुने भएको छ। किनभने यो खेल फिफा विन्डोमा हुन लागेको भने होइन। त्यसका कारण यसलाई अन्तर्राष्ट्रिय मान्यता भने हुनेछैन।
पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुने भएपछि सिक्किम फुटबल संघका अध्यक्ष मेनला एथेन्पाले लिखित वक्तव्यमा भनेका छन्, ‘सिक्किम फुटबलको इतिहासमा पहिलो पटक भारतको सिनियर राष्ट्रिय महिला फुटबल टोली र नेपालको सिनियर राष्ट्रिय महिला फुटबल टोलीबीच गान्तोकको पाल्जोर स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।’