हाम्रा सडक किनारामा एकैछिन उभिएर हेर्ने हो प्रायः सबैजसो यात्रीहरू हतारमा देखिन्छन्, त्यसमाथि पनि विशेषतः दुई पाङ्ग्रे सवारी साधन। अनि हतारका नाममा आफ्नै सुरक्षाका लागि आफैले सहजै प्रयोग गर्न सकिने अथवा भनौँ आफ्नो, आफ्नो परिवार तथा अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत क्षति पुर्याउन सक्ने हेलमेटको प्रयोगलाई पूर्णतया बेवास्ता गर्दै आफ्नै रफ्तारमा हुइँकिरहेका दृश्यहरू बग्रेल्ती देख्न सकिन्छ।
घरबाट निस्कन हतार नगर्ने तर सडकमा पुगेपछि भने हतारिने प्रवृत्ति, सकेसम्म हेलमेट नलगाउने लगाइहालेमा पनि हेलमेटको फित्ता राम्रोसँग नबाँध्ने, गुणस्तरीय हेलमेटको प्रयोग नगरी सस्तो र काम चलाउ हेलमेट प्रयोग गर्ने, हेलमेट त ट्राफिक प्रहरीको कारबाहीबाट बच्नका लागि प्रयोग गर्ने साधन हो भन्ने गलत बुझाइ र व्यवहार लगायतका कारणले गर्दा दिनानुदिन दुई पाङ्ग्रे सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति बढिरहेको छ।
नेपालमा मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनु पर्छ भनिए पनि पछाडि बस्नेलाई कुनै त्यस्तो बाध्यकारी नियम लगाइएको छैन। जसका कारण दुर्घटना हुँदा पछाडि बस्ने धेरै मानिसको मृत्यु हुने गरेको छ। चालकले आफ्नो हेलमेट छनोट गर्दा कुनै खास मापदण्ड नबाई किन्ने र चलाउँदा पनि सकभर राम्रोसँग फित्तासमेत कस्न नपरे हुन्थ्यो भने जसरी लगाउने हुँदा धेरैले अकालमा ज्यान गुमाएका छन्।
नेपालमा भएका सवारी दुर्घटनाको तथ्यांकलाई विश्लेषण गर्ने हो भने सबैभन्दा धेरै दुर्घटना हुने साधनमा दुई पाङ्ग्रे सवारी साधन अग्रस्थानमा देखिन्छ। नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालको तथ्यांकअनुसार गत आ.व. २०८०/०८१ मा २२ हजार ८ सय ७३ वटा सवारी दुर्घटनामा, ३५ हजार ४ सय ४ वटा सवारी साधन संलग्न थिए।
दुर्घटनामा संलग्न ती सवारी साधन मध्ये दुई पाङ्ग्रेको मात्रै हिस्सा ५६ प्रतिशतभन्दा बढी छ। आ.व. २०८१/०८२ को तथ्यांकलाई हेर्ने हो भने पनि यस अवधिमा २५ हजार २ सय ४० वटा मोटरसाइकल दुर्घटनामा परेको छ। यस तथ्यबाट के बुझ्न सकिन्छ भने नेपालको सन्दर्भमा सबैभन्दा धेरै दुर्घटनामा संलग्न सवारी साधन भनेको दुई पाङ्ग्रे सवारी साधन नै हो।
सडकमा गुड्ने संख्याका आधारमा होस् अथवा सडकमा हुने सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्यात्मक रूपमा नै किन नहोस्, यी दुवैमा दुई पाङ्ग्रो अग्रपंक्तिमा छ। यद्यपि यी सवारी साधनमा यात्राका बखत जुन रूपमा हामी संवेदनशील र गम्भीर बन्नु पर्ने हो सो अनुरूप नबन्दा वा सुरक्षा प्रतिको बेवास्ताका कारण दुर्घटनामा संलग्न सवारी साधनका आधारमा अग्रपंक्तिमा रहेको हो।
गत आ.व.मा ८०१ जना मोटर साइकल चालक तथा पछाडि सवार ३ सय २२ जना गरी १ हजार १ सय २३ जनाले ज्यान गुमाउनुका साथै मोटरसाइकलको ठक्करबाट अन्य पैदल यात्री २ सय ४३ जनाको समेत अनाहकमा ज्यान गएको अवस्था एकातिर छ भने अर्कोतिर मोटरसाइकल चालक, पछाडि सवार र मोटरसाइकलले ठक्कर दिएको पैदल यात्रु गरी २९ हजार १ सय ३९ जना घाइते भएका छन्।
तपाईं हाम्रो अधिकांशको यात्राको सहयात्री भनेको दुई पाङ्ग्रे सवारी साधन नै हो। चित्ताकर्षक डिजाइन, उच्चतम गति, मूल्य तथा प्रविधिको कारणले गर्दा पनि यी दुई पाङ्ग्रे तपाईं हाम्रा लागि लोकप्रिय बनेका हुन्। यद्यपि यसको बनावट र तीव्र गतिमा गुड्न सक्ने क्षमता भएको कारणले इन्जिन भएका दुई पाङ्ग्रे सबैभन्दा असुरक्षित यातायातको साधन मानिन्छ।
सडकको अवस्था नाजुक भएका स्थानहरूमा दुई पाङ्ग्रेको यात्रा अझै उच्च जोखिमयुक्त हुन्छ। हुन पनि सडकमा बालुवा, गिटी, पानी वा तेल पोखिएको वा खाल्डाखुल्डी परेको अवस्थामा वा हिउँ जम्ने चिसो ठाउँमा साथै स–साना कारणले पनि दुर्घटना धेरै भेटिन्छ।
नेपालमा सार्वजनिक यातायातको अवस्था नाजुक र त्यति राम्रो, भरपर्दो नभएको कारण धेरै मानिसहरू यसको प्रयोग गर्न विवश छन्। दुई पाङ्ग्रेमा चालक वा पछाडि बस्ने यात्रुलाई सुरक्षित राख्न कुनै रक्षात्मक संरचना हुँदैन। कदाचित दुर्घटनामा परिहाल्यो भने पनि चालक वा यात्रुलाई गम्भीर घाइते हुने गरी चोटपटक लाग्ने वा मृत्यु हुने उच्च सम्भावना रहन्छ। खास गरी टाउकोमा लाग्ने चोटका कारण घाइतेको अवस्था उच्च जोखिममा रहन्छ।
दुर्घटना हुँदा टाउको कुनै वस्तु वा सडकमा ठोक्किएर देखिने गरी घाउ हुने वा टाउको बेगले हल्लिएका कारणले बाहिरबाट नदेखिए पनि दिमागमा चोट लाग्छ। टाउको सडक वा कुनै वस्तुमा ठोक्किने क्रममा एक्कासि हल्लिएर पनि दिमागमा चोट लाग्छ। टाउको वा दिमागमा चोट लागेका धेरै मानिसहरू सद्दे देखिए पनि तिनले कुनै न कुनै क्षमता नफर्कने गरी गुमाएका हुन्छन् भने कतिको मानसिक अवस्था र व्यवहारमा पनि परिवर्तन आएको पाइन्छ। यसको असरले उनीहरूको आर्थिक तथा सामाजिक जीवनको गुणस्तरमा ह्रास आउँछ। त्यसैले दुई पाङ्ग्रे साधन चलाउँदा वा पछाडि बसेर यात्रा गर्दा सदैव गुणस्तरीय हेलमेटको अनिवार्य प्रयोग गरेमा टाउको वा स्पाइनमा लाग्ने चोटहरूबाट धेरै हदसम्म बच्न र बचाउन सकिन्छ।
दिमागको चोट र शरीरका अन्य अंगमा लाग्ने चोट निको हुने प्रणालीमा फरक छ। मोटरसाइकलमा दुई जना सवार छन् र दुर्घटना भयो भने पछाडि बसेको मानिस पहिले उछिट्टिएर झर्छ। टाउको ठोक्किएर लागेको अप्रत्याशित झड्कालाई टाउकोले थेग्न नसकेको फलस्वरूप दिमागमा चोट पर्ने हो। त्यसैले यसमा चोट पर्न नदिनु वा दिमागमा चोटपटक लाग्नबाट रोकथामका लागि गुणस्तरीय हेलमेटको प्रयोग गर्नु बुद्धिमानी हो।
त्यसैले यस प्रकारका ठुला–ठुला झड्कालाई थेग्न सक्ने गरी बनाइएको गुणस्तरीय हेलमेटले टाउकोमा लाग्ने सबै खालका चोट–पटकबाट बचाउँछ। विश्व स्वास्थ्य संगठनले सडक सुरक्षा नीति–निर्माताहरूका लागि तयार पारेको हेलमेट सम्बन्धी पुस्तिकामा दिइएका विभिन्न अध्ययनका नतिजाअनुसार गुणस्तरीय हेलमेटको सही प्रयोग गर्नाले मृत्यु हुनबाट जोगाउने सम्भावना २८ देखि ६४ प्रतिशतसम्म, टाउकाको चोटबाट बचाउने ५८ देखि ६० प्रतिशतसम्म, दिमागको चोटबाट बचाउने ४७ देखि ७४ प्रतिशतसम्म, अनुहारको चोटबाट बचाउने १४ देखि ६३ प्रतिशतसम्म, गर्धनको चोटबाट बचाउने १४ देखि ४८ प्रतिशतसम्म देखिएको छ।
यदि हेलमेट टाउकोमा राखेको छ तर चिउँडोमा फित्ताले राम्रोसँग बाँधिएको छैन भने मोटरसाइकल दुर्घटनामा पर्ने बेलामा टाउकोमा लागेको झड्काको कारण सबैभन्दा पहिले हेलमेट नै झर्छ र टाउको खाली भई झन् ठुलो चोट लाग्ने सम्भावना रहन्छ। त्यसैले कदाचित दुर्घटना भइहालेमा टाउकोको बचाउका लागि गुणस्तरीय हेलमेटको सही किसिमले प्रयोग गरेर क्षति कम गर्न सकिन्छ।
ठुलो मूल्य तिरेर मोटरसाइकल खरिद गर्ने तर हेलमेट चाहिँ सस्तो र गुणस्तरहीन रोज्ने र त्यसमाथि पनि हेलमेटको फित्ता राम्रोसँग नबाँध्ने प्रवृत्तिले पनि क्षति बढ्दो छ। त्यसै गरी, मानिसहरू किन हेलमेट लगाउँदैनन्? भन्ने कुरा पत्ता लगाई तिनको निराकरण गर्दै हेलमेट प्रयोग नियम कार्यान्वयन भएपछि टाउकाको चोटबाट मृत्यु तथा घाइते हुनेको संख्यामा देखिएको कमी र अन्य फाइदालाई व्यापक रूपमा प्रचारप्रसार गर्न सकेमा पक्कै पनि हेलमेट प्रयोगबारे सकारात्मक धारणा बन्दै जानेछ।
त्यस्तै, विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेलमेट) लगाउनु पर्छ भन्ने स्पष्ट कानुनी प्रावधान रहेता पनि व्यवहारतः पूर्ण रूपमा कार्यान्वयनमा लैजानु आवश्यकता मात्र होइन निकै ढिला भैसकेको छ।
जसरी हुन्छ दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु राज्यको प्रमुख दायित्व हो भने राज्यले तर्जुमा गरेका ऐन नियम, नीति तथा निर्देशिकाको पालना गर्नु नागरिकको पनि नैतिक दायित्व हो। विकासको आधार बाटो भएता पनि पर्याप्त अध्ययन अनुसन्धान बिना जथाभाबी खनिएका सडक र लापरवाह ढङ्गले जथाभाबी सवारी हाँक्ने प्रवृत्ति समस्याका कारक बन्दै छन्। फलस्वरूप सडकमार्फत सहज यात्रा मात्रै गाउँ-गाउँ पुगेको छैन, अनगिन्ती जोखिम पनि पुगेको छ।
दुर्घटनाको कारण पहिचान भइसकेको अवस्थामा सडक यात्रालाई सुरक्षित र भरपर्दो बनाउन एकातिर राज्यले जुनसुकै कदम चाल्न पनि चुक्नु हुँदैन भने अर्कोतिर सडक सुरक्षाका निम्ति हामी नागरिक पनि उत्तिकै जिम्मेवार र जागरूक हुन आवश्यक छ। त्यसैले दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रा अनि गन्तव्य तय गर्दा सदैव गुणस्तरीय हेलमेटको अनिवार्य प्रयोग गरी सवारी दुर्घटना र क्षति न्यूनीकरणको दिशामा अघि बढौँ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि।
(लेखक प्रहरी वरिष्ठ नायव निरीक्षक हुन्। उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक प्रमुखका रूपमा कार्यरत छन्)