बार्सिलोनाका सुपरस्टार लिओनल मेसीले क्याटलान क्लबसँगको सम्झौता नवीकरण गर्ने भएपछि उनी विश्व फुटबलकै सर्वाधिक तलब पाउने खेलाडी बन्दै छन्।
क्लबले यसै साता अर्जेन्टिनी स्ट्राइकरसँग २०२१ सम्मका लागि सम्झौता नवीकरण हुन लागेको आधिकारीक जानकारी दिएको थियो। उनको सम्झौता पत्रमा नै अन्य क्लबसँग सम्झौता गर्नु परेको खण्डमा २६ करोड ३० लाख पाउन्ड (करिब ३४ अर्ब ९० करोड रुपैयाँ) चुकाउनु पर्ने नयाँ प्रावधान थपिन लागेको छ। यसको अर्थ मेसीलाई कुनै क्लबले अनुबन्धित गर्नु परेमा बार्सिलोनालाई ३४ अर्ब ९० करोडको थप भुक्तान गर्नु पर्नेछ।
स्पेनिस मिडियाले जनाएअनुसार उनको साताको तलब मात्र १० लाख पाउण्ड अर्थात १३ करोड २७ लाख रुपैयाँ हुनेछ। ‘दि सन्डे टाइम्स’ का अनुसार मेसीले पाउन लागेको तलब मात्र विश्वमा अन्य खेलाडीले पाउने तलबभन्दा निकै धेरै हुनेछ।
यसै वर्ष सार्वजनिक भएको एउटा समाचारअनुसार अर्जेन्टिनाका कार्लोस टेभेजले चिनिया क्लबमा अनुबन्धित हुन सर्वाधिक तलब लिएका थिए। तर, अब उनलाई पनि ३० वर्षीय मेसीले उछिन्ने स्पेनिस मिडियाले जनाएको छ।