ब्राजिलियन फुल–ब्याक डानी आल्भेसको अनुबन्धमा पेरिस सेन्ट जर्मनी(पिएसजी) ले म्यानचेस्टर सिटीलाई उछिनेको छ। इङ्लिस क्लब सिटीले आल्भेसलाई गर्मीयामको अनुबन्धित महिनामा भित्र्याउने अभियान सुरु गरेको थियो। तर, उनलाई खुला बोलपत्रमा पिएसजीले फ्रेन्च क्लबमा भित्र्याएको छ।
आल्भेसले दुई वर्षका लागि पिएसजीसँग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेपछि बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला जिल्लिएका छन्। सिटीले पनि ३४ वर्षीय फूल–ब्याकलाई २ वर्षका लागि क्लब भित्र्याउन खोजेको थियो तर आल्भेसको माग अनुसार साताको २ लाख ३० हजार पाउन्ड पारिश्रमिक दिन हिचकिचाए पछि उनी फ्रान्स पुगेका हुन्।
सिटीसमक्ष अब राइट–ब्याकमा अर्को विकल्प टोटेनहामका केली वाल्कर रहेका छन्। इङ्ल्यान्डका डिफेन्डर वाल्करलाई पनि मागअनुसारको पारिश्रमिक दिन सिटीले तत्परता देखाएको छैन। त्यसैले पाबलो जाबालेटा र बाकारे साग्ना अनुबन्धविहिन बनेको अवस्थामा सिटीले अहिलेसम्म उनीहरुको विकल्पको रुपमा कुनै फुल–ब्याक भित्र्याउन सकेको छैन्।
सिटी अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स प्रतियोगिता खेल्न उता लाग्दैछ। त्यसैले तत्काल उसले कुनै खेलाडीलाई भित्र्याउने सम्भावना छैन्।
आल्भेसलाई यसै सिजन युभेन्ट्सले अनुबन्धका लागि स्वतन्त्र गरेको थियो। उनी ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक हुँदा क्याटलान क्लबमै आवद्ध थिए। आल्भेस फ्रान्सको पहिलो डिभिजनको फुटबल खेल्ने ३० औं ब्राजिलियन बन्ने छन्।