बार्सिलोनाका स्टार स्ट्राइकरद्वय लिओनल मेसी र नेइमार इङ्लिस प्रिमियर लिग क्लब टोटेनहामका एक खेलाडीमाथि निकै लोभिएका छन्। उनीहरु अहिले क्लबमा उनलाई भित्र्याउन लबिङ पनि गरिरहेका छन्।
विश्व फुटबलका दुई चर्चित स्ट्राइकर लोभिएका ती मिडफिल्डर आखिर को हुन? जसलाई अनुबन्धित गर्न दुवै बार्सिलोनालाई दबाब दिइरहेका छन्। स्पेनिस पत्र–पत्रिकाका अनुसार मेसी र नेइमार लोभिएका ती खेलाडी हुन्, टोटेनहामका मिडफिल्डर डाले अली। उनको खेलको दुवै ठूलो प्रशंसक हुन्।
स्पेनिस क्लबले आगामी सिजनको सुरुवातभन्दा अगाडि फिलिप काउटिन्हो, पाउलिन्हो र भेराटीलाई भित्र्याउन संवाद सुरु गरेको थियो। तर, स्पेनिस पत्रिका ‘डायरियो गोल’ का अनुसार अर्जेन्टिना र ब्राजिलियन खेलाडीभन्दा पनि बार्सिलोना अलीको अनुबन्धतर्फ केन्द्रित हुन थालेको छ।
अलीले टोटेनहाममा दुई वर्षअगाडि डेब्यु गरेका थिए। तर, उनी अहिले विश्व फुटबलको चम्किलो प्रतिभाको रुपमा देखा परेका छन्।
२१ वर्षीय आक्रामक मिडफिल्डरले टोटेनहामबाट ९६ खेल खेल्ने क्रममा ३२ गोल गरिसकेका छन् भने २४ गोलका लागि बल मिलाएका थिए।
उनी इङ्लिस फुटबल टिमका महत्वपूर्ण सदस्यसमेत हुन्। बार्सिलोनाले उनीमाथि ८ करोड पाउन्ड दाउँमा लगाउन खोजेको स्पेनिस पत्र–पत्रिकाले बताएका छन्।