गत वर्ष भारतको आसाममा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कुस्तितर्फ नेपाललाई दुईवटा कास्य जिताएका रामबाबु यादव र सरोज यादव राष्ट्रिय टोलीको छनोटमा समावेश भएका छन्।
आगामी १३ औं साग र एसियन गेम्सका लागि शुक्रबार ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा ८ वटा तौल समूहका लागि भएको छनोट खेलमा यी दुवै पदकधारी खेलाडी छनोट भएका हुन्। रामबाबुले ५७ र सरोजले ६५ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै बन्द प्रशिक्षणका लागि छनोट भएका हुन्।
रामबाबुले ५७ केजीमा नेपाल प्रहरीका भागवत शाहलाई पराजित गरे। यस्तै, सरोजले नेपाल प्रहरीकै रितेशप्रसाद यादवलाई फाइनलमा हराए।
१२ सागमा समावेश ८ मध्ये ६ खेलाडीले छनोटमा भाग लिएका थिए। जसमा ६ जनै खेलाडी बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्। नयाँ अनुहारको रुपमा ९७ केजीमा बाँकेका रमेश गोतामे छनोट भएका छन्। उनले फाइनलमा नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गरेका थिए।
अन्य तौल समूहमा छनोट हुने खेलाडीमा ६१ केजीमा जयमंगल यादव, ७० केजीमा दिपेश राउत कमकर, ७४ केजीमा मुक्तार आलम, ८६ केजीमा सुमीरकुमार साह र १ सय २५ केजीमा सतेन्द्रकुमार यादव छन्।