भर्खरै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ कि अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन्। भारतको उत्तरी राज्य असममा जन्मिएकी विदिशाको मृत शरीर सोमबार गुडागाउँस्थित गुरुग्राममा भेटिएको छ।
३० वर्षीय विदिशा राम्रो गायिका पनि हुन्। सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको थियो।
प्रहरीले यसको जानकारी मंगलबार मात्र दिएको थियो। प्रहरीका अनुसार असम निवासी विदिशा चर्चित टेलिभिजन अभिनेत्री थिइन्। उनले थुप्रै टेलिभिजन शो सञ्चालन गरेकी थिइन्। उनी केही समयअगाडि मात्र मुम्बईबाट गुरुग्राम बस्न आएकी थिइन्।
प्रहरी अधिकारी दीपक सहारनका अनुसार उनको मृत शरीर कोठाको पंखामा झुन्डिएको आवस्थामा भेटिएको थियो। उनले फ्लाट भाडामा लिएको बताइन्छ। असममा बसोबास गर्ने विदिशाको परिवारलाई यसको जानकारी घटनाको भोली पल्टै दिएको प्रहरीले जनाएको छ।
‘सोमबार रातीसम्म परिवारको फोन उठाइरहेकी थिइनन्। त्यसैले उनको बुवालाई त्यही दिन दूर्घटनाको आभाष भइसकेको रहेछ,’ प्रहरी अधिकारी दीपकले भने–‘उनको बुवाले नै हामीलाई ठेगाना दिएपछि घटनास्थल पुगेका थियौ।’
प्रहरी घटनास्थल पुग्दा मुख्य ठोका भित्रबाट बन्द थियो। प्रहरी ठोका फोडेर भित्र छिरेका थिए, जहाँ एउटा कोठामा उनी पंखामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्।
विदिशाको बुवाले प्रहरीलाई दिएको जानकारीअनुसार उनले प्रेम विवाह गरेकी थिइन्। तर, श्रीमानसँग उनको सम्बन्ध त्यति राम्रो थिएन्। श्रीमानले प्रायः सधै उनलाई कुटिरहने बताएका छन्।
‘हामीले उनको मोबाईल फोन, फेसबुक र सोशल नेटवर्किङ साइटबाट भएको कुराकानीको अनुसन्धान गरिरहेका छौं। कुनै सुसाइट नोट फेला परेको छैन। आवश्यकता पर्यो भने उनको श्रीमानलाई बयानका लागि बोलाउने छौं,’ उनले भने।
यसैबीच असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले मंगलबार हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरसँग फोनमा कुराकानी गर्दै विदिशाको मृत्युको न्यायिक छानवीनको सुनिश्चितता गर्न आग्रह गरेका छन्।