किताब चर्चा
सत्तरी हजार वर्ष अगाडिको कुरा।
हामीजस्तै जीव अफ्रिकाको घाँसे मैदानमा हुल बाँधेर शिकार गर्न निस्केको छ।
आजको जस्तो भाषा छैन। खाली आवाज छ। आवाजभित्र भाव छ। त्यही भावमा हाहु गर्दै एकअर्कासँग हेलिँदै छन्।
जस्तो जंगलका माहुरी, त्यस्तै मानव। जस्तो जंगलका कीरा, त्यस्तै हाम्रा पूर्खा। जस्तो माछा, त्यस्तै मान्छे।
आज आफू र वरिपरिको समाज हेर्दा हामी त्यही युगबाट यहाँसम्म आइपुगेका हौं भनेर पत्याउन मुश्किल पर्छ।
इजरेली इतिहासकार तथा हिब्रु विश्वविद्यालय जेरुसेलमका प्राध्यापक युभल नोहा हरारीले यही मानव विकासक्रमलाई आफ्ना तीन अन्तर्राष्ट्रिय ‘बेस्टसेलर’ किताबमा चर्चा गरेका छन्।
पहिलो किताब ‘सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ म्यानकाइन्ड’ हाम्रो पूर्खाको कथा हो।
सन् २०११ मा हिब्रु भाषामा प्रकाशित यो किताब तीन वर्षपछि अंग्रेजीमा अनुवाद भएको थियो। आज ४० भन्दा बढी भाषामा अनूदित छ।
पाँच सय पृष्ठको किताबले ७० हजार वर्षको मानव इतिहासलाई तीन खण्डमा बाँडेको छ, जसलाई हरारी ‘क्रान्तिकारी परिवर्तन’ भन्छन्।
पहिलो, मान्छेको सोच्ने, सिक्ने र सहकार्य गर्ने शक्ति, जुन अरू जनावरको तुलनामा अद्भूत छ।
दोस्रो, कृषि क्रान्ति, जसले फिरन्ते, घुमन्ते र शिकारी युगको मान्छेलाई खेतीपाती र स्थायी बसोबासमा रूपान्तरण गर्यो। यही स्थायी बसोबासले धर्म, विवाहजस्ता सामाजिक संस्था र थितिको जन्म भयो।
तेस्रो हो, वैज्ञानिक क्रान्ति। खेतीपातीको सुरुआत सँगसँगै मान्छेले औजारको सहारा लिए। घिर्नी बनाए, हलो र फाली बनाए। चक्र र पाङ्ग्रा बनाए। यसले सामाजिक जीवनलाई नयाँ स्वरूप दियो।
यी तीन परिवर्तन एउटै जगमा अडेको छ– सहकार्य शक्ति।
यही शक्तिले मान्छेलाई अरू जनावरको दाँजोमा श्रेष्ठ बनाउँछ।
यसलाई बुझाउन हरारी भन्छन्, ‘हामी मान्छेको शरीर र मस्तिष्क अरू जनावरको भन्दा विशेष छ भन्ठान्छौं। यो गलत हो।’
‘चिम्पान्जीको शरीर जस्तो हाडछालाले बनेको छ, हाम्रो पनि त्यस्तै छ। उसलाई पनि भोक लाग्छ, प्यास लाग्छ। उसको रक्तसञ्चार, मस्तिष्क, प्रेम, क्रोध र कामवासना हाम्रोजस्तै छ।’
त्यसो भए मान्छे र चिम्पान्जीमा फरक के?
‘मान्छेसँग नयाँ कुरा सोच्ने र सिक्ने क्षमता मात्र छैन, सामूहिक सहकार्य गर्ने धैर्य पनि छ,’ उनी भन्छन्, ‘यही सहकार्य अरू जनावरमा पाइन्न।’
माहुरीहरू फूलको रस बटुल्छन् त? कमिलाहरूले आहार ओसारेकै छन्? ताँती लागेर कुदिरहेका कमिला आपसमा बात् पनि मार्छन्। के यो सहकार्य होइन?
यस्तो सहकार्य आफ्नो झुन्डभित्र सीमित हुन्छ। माहुरीहरू मिलेर रस चुस्छन्, तर एकजुट भएर प्रत्याक्रमण गर्न सक्दैनन्। नयाँ अवसरलाई एकीकृत रूपले छोप्नु उनीहरूको बूतामा छैन।
माहुरीहरूले रानीलाई मारेर गणतन्त्र ल्याएको देख्नुभएको छ? कर्मी माहुरीले ‘सबै घारका माहुरी एक हौं’ भन्दै कम्युनिस्ट क्रान्ति गरेको थाहा छ?
केही जनावर हुन्छन्, जो एक हदसम्म हामीजस्तै सहकार्य गर्छन्।
हामीसँगै बस्ने कुकुर। हामीजस्तै देखिने चिम्पान्जी। चराहरू पनि। बेलाबेला मानव बस्ती छिरेर उधूम मच्चाउने हात्ती। सागरमा बुर्कुसी मार्ने डल्फिन।
जंगलमा रूखको हाँगो समातेर फुत्तफुत्त उफ्रिने बाँदर र भुइँमा बुरुकबुरुक दौडिने मृगबीच पनि तालमेल मिलिरहेकै देखिन्छ।
हरारीका भनाइमा, यस्तो सहकार्य व्यक्तिगत सम्बन्धमा टिकेको हुन्छ।
एउटै टोलमा बस्ने कुकुरहरू पहिलोचोटि भेट्दा ङयार्ररङुर्रर नै गर्छन्। दिनहुँ देख्न थालेपछि बल्ल सुँघ्दै पछ्याउँछन्। अर्को टोलको कुकुर छिर्यो भने त झम्टिनै जान्छन्।
कुकुरहरूमा त्यतिबेलासम्म सहकार्य हुन्न, जबसम्म एउटाले अर्कोलाई चिन्दैन, विश्वास गर्दैन।
‘मान्छे मात्र यस्तो प्राणी हो, जो चिन्दै नचिने पनि सहकार्य गर्न सक्छ,’ हरारी भन्छन्, ‘दसौं हजार चिम्पान्जीलाई एकठाउँ राखे अस्तव्यस्त र लथालिंग हुन्छ। जबकि, दसौं हजार मान्छे एउटै रंगशालामा फुटबल हेर्न सक्छन्, कन्सर्ट हेर्न सक्छन्, तानाशाहविरुद्ध प्रदर्शन पनि गर्न सक्छन्।’
यहाँ भावनाको कुरा पनि आउँछ।
शिकारी युगको मान्छेले जंगलमा भौंतारिँदा गर्भिणी मृग देख्यो होला। दया जाग्यो होला। माछाले फुल पार्ने बेला बल्छी हान्न हुन्न भन्ने सोच्यो होला। आखेट बाँड्दा त्यो परिवारको निम्ति पनि भाग छुट्टयायो होला, जो शिकारमा गएकै थिएन।
सहकार्यले जोडेको समाजलाई यस्तो भावनाले कसिलो बनाउँदै लग्यो। मूल्य–मान्यतामा बाँध्यो।
अब प्रश्न उठ्छ, मान्छेले सहकार्यको प्रेरणा कहाँबाट पाउँछ?
जवाफ हो, यथार्थभन्दा परको कल्पना।
कुकुरहरू भुकेर खतराको संकेत गर्छन्। जंगलबीच कतै लटरम्म केराको घरी फेला परे चिम्पान्जीहरू ‘उ त्यहाँ केरा छ’ भन्दै एकअर्कालाई जनाउ दिन्छन्।
उनीहरू त्यस्तो विषयमा मात्र सूचना लिनेदिने गर्छन्, जुन उनीहरूको आँखाअगाडि छ।
मान्छे भने हुँदै नभएको विषय पनि कल्पना गर्छ। कथा बुन्छ। पत्याएर रिवाज बनाउँछ।
जंगलमा बाघ देखेर तर्सिएको मान्छे त्यसैलाई जंगलको राजा बनाइदिन्छ।
यो चराचर जगतभन्दा माथि अर्को सर्वशक्तिमान ईश्वरको कल्पना गर्छ। चट्याङ पर्छ, आँधीबेहरी आउँछ, भुइँचालोले जमिन थर्थराउँछ, ऊ त्यसलाई दैवीशक्तिको नाम दिन्छ।
मान्छेको धडमा सिंहको शिर राखेर नरसिंह अवतार रच्छ। बाँदरको शिर भएको हनुमान बनाउँछ र सीताको उद्धार गर्न लंका उडाउँछ।
वामन अवतारको कल्पना गर्छ, जो होचो भएर पनि एउटा खुट्टा पाताल र अर्को स्वर्गमा राखेर ब्रह्मान्ड अडाउनसक्छ।
सूर्यसँग समागम गरेर कर्ण जन्माउने कुन्ती मानव कल्पनाकै देन हो।
‘तिमी यो फल नखाऊ, भगवान रिसाउँछ,’ यस्तो कुरा चिम्पान्जीले गर्दैन।
'भगवानले हाम्रा सबै क्रियाकलाप तौलेर बसेका छन्। त्यसै आधारमा मृत्युपछि स्वर्ग वा नर्क जानुपर्छ,’ यस्तो कथा पत्यार गर्ने मान्छे मात्र हुन्।
यहाँ स्वर्ग र नर्क भनेका हामो कल्पनाका उपज। असल काम गरे स्वर्गको बास, नभए नर्कको तातो भट्टी।
यस्तो अद्भूत कल्पनाशक्तिले नै मान्छेलाई बाँधेर राख्छ। ऊ ईश्वरसँग डराउँछ। ईश्वरका नाममा बनाइएका विधि–विधानसँग डराउँछ। यही डरले आपसमा मिल्न, सहकार्य गर्न प्रेरित गर्छ।
मान्छेका कल्पनामध्ये सबभन्दा शक्तिशाली, पैसा।
बरु हामी ईश्वर मान्दैनौं, धर्म मान्दैनौं, राज्य मान्दैनौं, शासन व्यवस्था नमान्न सक्छौं, तर पैसाबिना जीवन चल्दैन।
पैसा के हो? न खान सक्छौं, न यसले हाम्रो प्यास मेटिन्छ। न पैसा सिलाएर कपडा बुन्न सकिने, न घर बनाएर हावाझरी छेक्न। तै यो मूल्यवान छ। किनकि, हामीले यसको मूल्य तोकेका छौं।
कागजलाई निश्चित आकारमा काटेर, रङ घोलेर, थरीथरीका बुट्टा भरेर, अमुक व्यक्तिको हातबाट दस्तखत गराएर कागजको मूल्य तय हुन्छ। त्यसले पैसाको रूप लिन्छ।
गल्लीको कुकुरसामु सय रुपैयाँको हरियो नोट खसाल्दिनुस्। ऊ एकछिन सुँघ्छ, बाटो लाग्छ। एउटा सानो बच्चाको अगाडि त्यही नोट राख्दिनुस्, ऊ खुसी भएर हातमा खेलाउन थाल्छ।
यही हो, हामीले बुनेको र पत्याएको कथाको कमाल।
मान्छे पैसाको निम्ति सात समुद्रपारि जात, धर्म, वर्ण, मूल्य, मान्यता, सोचाइ, संस्कार, रिवाज, रहनसहन, भाषा, भेष केही नमिल्नेसँग पनि मज्जाले सहकार्य गर्न सक्छ।
बरु पैसाको स्वार्थ बाझिए आफ्नासँगै बाझाबाझ!
‘मान्छेले यस कारण संसारमा प्रभुत्व जमायो, किनभने हामी द्वैध यथार्थमा बाँच्छौं,’ हरारी भन्छन्।
‘अरू जनावरको निम्ति जे छ, त्यही यथार्थ। रूख, हावापानी, माटो, असिना। चट्टान वा पहाड–पर्वत। हामी भने त्योभन्दा पर कहिल्यै नदेखेको संसार पनि रचना गर्छौं। त्यसलाई वास्तविक ठान्न कथा बनाउँछौं। त्यही कथा पुस्तान्तर गर्दै जान्छौं।’
हाम्रा वस्तुगत यथार्थमाथि काल्पनिक यथार्थ हाबी छन्। मानवीय मूल्य–मान्यता धर्मको अधीन छ। ईश्वरको डरले हाम्रा क्रियाकलाप प्रभावित छन्।
हाम्रो मिहिनेत पैसामा टिकेको छ। नदीनालालाई राज्यले नियन्त्रण गर्छ। जंगली जनावरको निम्ति अन्तर्राष्ट्रिय संगठन बनाएका छौं।
यहाँसम्म कि, हाम्रो पहिचान अब गुगल र फेसबुकले पहिल्याउँछ।
यही यथार्थभन्दा परको कल्पना, कल्पनाको कथा, कथाले बाँधेको थिति र थितिले चालेको सहकार्यमा उनिँदै हाम्रा पूर्खाले जंगलीराजबाट फड्को मारे। यसैको कथा ‘सेपियन्स’ मा वर्णन छ।
‘सेपियन्स’ जहाँ सकिन्छ, त्यहीँबाट हरारीको दोस्रो किताब सुरु हुन्छ– ‘होमोडियोसः अ ब्रिफ हिस्ट्री अफ टुमरो।’
सन् २०१६ मा प्रकाशित यो किताब हामी र हाम्रा सन्ततिको भविष्यको कथा हो।
पाँच सय पृष्ठकै यो किताबमा हरारीले वैज्ञानिक आविष्कारबाट सिर्जना हुँदै गएका चुनौती वर्णन गरेका छन्।
पछिल्लो शताब्दीमा मान्छेको सबभन्दा ठूलो शत्रु भोकमरी थियो। हरेक वर्ष कुनै न कुनै ठाउँमा भोकमरीले हजारौंको ज्यान जान्थ्यो।
जब भोकमरीको रजगज बढ्यो, मान्छेले आफ्नो विद्वताबाट अभूतपूर्व कृषि क्रान्ति गरे। उब्जनी बढाए। अन्न ओसारपसार भयो।
मान्छेले भोकमरीलाई जिते। संसारमा प्राकृतिक भोकमरीबाट विरलै कसैको ज्यान जान्छ। एउटा देश अनिकाल वा बाढीले भोको पर्यो भने थुप्रै देश अन्नदान गर्न अघि सर्छन्।
हरारी भन्छन्, ‘संसारमा खान नपाएरभन्दा बढी खाएर मान्छे मरिरहेका छन्।’
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला वर्ष ३० लाख जनाले अत्यधिक मोटोपनका कारण ज्यान गुमाए, खान नपाएर मर्नेको संख्या भने १० लाख थियो।
यसको मतलब भोकले मान्छे मर्नै छाडे भन्ने होइन। तर, त्यो भोकमरी प्रकृतिप्रदत्त नभई, राजनीतिप्रदत्त भएको हरारीको विश्लेषण छ।
उनी यमन, दक्षिण सुडान, सिरियाजस्ता द्वन्द्वग्रस्त देशको उदाहरण दिँदै भन्छन्, ‘यहाँ प्रकृतिले मान्छेलाई भोको राखेको छैन, राजनीतिले राखेको छ।’
यसको आसय, जुन कृषि क्रान्तिबाट हामीले अन्न फलायौं, त्यही अन्नले हामीलाई बाँध्न थाल्यो। हामी भोक लागेका बेला मात्र खान्थ्यौं, अब स्वाद र रमझमका लागि खान थाल्यौं।
ठिक्क खाए बल, बढी खाए काल!
भोकमरीपछि अर्को ठूलो शत्रु रोगव्याधी, जसले बर्सेनि हजारौं मान्छेको ज्यान लिन्थ्यो। युद्ध र द्वन्द्वमा परेर ज्यान गुमाउने पनि त्यति नै थिए।
मान्छे रोगव्याधी र युद्ध आफ्नो वशमा छैन भन्ठान्थे। अहिले संसारभरि शान्तिका प्रयास भइरहेका छन्।
‘हामी मानव इतिहासकै शान्तिपूर्ण युगमा छौं,’ हरारी भन्छन्।
‘युद्ध र आतंकवादले भन्दा आत्महत्याले धेरैको ज्यान लिइरहेको छ। मान्छेको सबभन्दा ठूलो शत्रु आतंकवादी वा सिपाही होइन, ऊ आफैं हो।’
भोक, रोग र लडाइँमाथिको विजय विद्वताको विरासत हो।
सत्तरी हजार वर्षको कालखण्डमा पछारिँदै, पाइला चाल्दै हासिल गरेको विद्धता अवसानतिर गइरहेको हरारी चर्चा गर्छन्।
यो अवसानले मानव जातिलाई इतिहासकै चुनौतीपूर्ण दोसाँधमा उभ्याएको छ। जहाँबाट अगाडि हेर्दा हामी भविष्य आकलन गर्न सक्दैनौं। त्यहाँ वैज्ञानिक चमत्कारको घना तुँवालो छ, जसले हामीलाई कता लैजान्छ थाहा छैन।
यो दूरगामी भविष्यको कुरा होइन। शताब्दीको कुरा पनि होइन। हाम्रो एक–दुई दशकपछिकै भविष्य अनिश्चित छ।
मानव इतिहास यस्तो अनिश्चित कहिल्यै थिएन।
यसको कारण हामी आफैं हौं।
अबको युग अत्याधुनिक प्रविधिको युग। जहाँ मान्छेले सिर्जना गरेको ‘आर्टिफिसियल इन्टिलिजेन्स’, अर्थात् कृत्रिम विद्वता विस्तार हुँदैछ। जो मानवीय विद्वतामाथि नै हाबी हुँदै जानेछ।
यसको सबभन्दा ठूलो प्रभाव पर्नेछ, हाम्रो श्रम बजारमा।
वैज्ञानिक आविष्कारले औद्योगिक क्रान्ति ल्यायो। सिर्जनशील र जुझारू जनशक्ति जन्मायो। प्राविधिक रूपान्तरणले नयाँ पुस्तालाई अल्छे बनाएको छ। अब त झन् बेकामे बनाउने खतरा।
सबैतिर कृत्रिम विद्वताले भरिएका रोबोटको हालीमुहाली चल्नेछ। कामकाजी जनशक्तिले ठूलो संख्यामा रोजगार गुमाउनेछन्। त्यतिबेला श्रम बजारले कस्तो जनशक्ति माग्ला, हामीलाई थाहा छैन।
कल्पना गर्नुस् त, लामो दुरीमा सामान ओसारपसार गर्ने ट्रकहरू स्वचालित रूपमा गुड्न थाल्नेछन्। यही पेसामा आधा उमेर बिताइसकेका चालकको रोजीरोटी कसरी चल्ला?
के भो त! प्रविधिको तरक्कीपछि सफ्टवेयर इञ्जिनियरको माग बढ्ला! दिनभरि कुर्सीमा बस्ने इञ्जिनियरलाई हातगोडा तन्काउन योग प्रशिक्षकको खाँचो परिहाल्ला! तर, के ट्रक चालकहरू ४०–५० वर्षको उमेरमा योग प्रशिक्षण तालिम लिएर काममा भिड्न सक्लान्?
यो समय पर छैन।
सन् २०२५ भित्रै ‘कृत्रिम विद्वता’, अर्थात् मान्छेले जस्तै सोच्ने स्वचालित रोबोटहरूको जताततै जगजगी भइसक्नेछ।
मानिलिउँ, हाम्रा ट्रक चालकहरू दस वर्षपछि स्टेयरिङ घुमाउन छाडेर योग प्रशिक्षणमा लागे रे। त्यसको दस वर्षपछि के? त्यतिबेला मान्छेभन्दा सिपालु योग प्रशिक्षक रोबोट आइसक्नेछ।
तकनिकी तरक्कीले मौसम पूर्वानुमान जति सहज बनाइदिएको छ, त्यत्तिकै असहज छ भविष्य पूर्वानुमान।
एक कक्षा पढ्ने नानीबाबुलाई दस–पन्ध्र वर्षपछिको श्रम बजारमा हेलिन कस्तो सीप र शिक्षा चाहिने हो यकिन छैन। सफ्टवेयर सिकाउँ, त्यो पनि असान्दर्भिक भइसक्ला! शल्यचिकित्सक बनाउँ, रोबोटले नै शल्यक्रिया गरिसक्न के बेर!
विकसित देशका शिक्षाविद् र प्राज्ञहरू यसैमा रनभुल्ल छन्।
‘हामी यस्ता निरीह अभिभावक हौं, जसलाई आफ्ना छोराछोरीलाई के पढाउने थाहा छैन। के सिकाउने थाहा छैन। उनीहरू कस्तो प्रकारको दुनियाँमा बाँच्न गइरहेका छन्, त्यो पनि अत्तोपत्तो छैन,’ हरारी भन्छन्।
‘अहिलेलाई यत्ति भन्न सकिन्छ, हाम्रा छोराछोरीको भविष्य सहज छैन। हरेक दिन नयाँ कुरा सिक्नुपर्नेछ। नयाँ नयाँ क्षेत्रमा स्थापित हुनुपर्नेछ।’
स्वचालित प्रविधिभन्दा ठूलो चुनौती हो, बायोटेक। अर्थात्, जैविक रूपान्तरण। जसले मानव शरीरका अंग नै इच्छाअनुसार फेरबदल गर्न सक्छ।
कसैलाई केटा भएर जन्मेको चित्त नबुझे शल्यक्रिया गरेर केटी बन्न सक्छ। मस्तिष्कभित्र जेलिएका नसा फुकाउँदै सोच बदल्ने युग आउँदैछ। खुट्टा गुमाएको मान्छे कृत्रिम खुट्टाले ठम्ठम्ती हिँड्न सक्छ। सोच्न नसक्ने मान्छे कृत्रिम विद्धतालाई साथी बनाउन सक्छ।
छोराछोरीलाई ईश्वरको वरदान मानेर हात थापिन्थ्यो। पछि भ्रूण पहिचान गरेर गर्भमै तुहाउने दिन आयो। अब भ्रूणमै लिंग बदल्ने बेला छ।
हुँदाहुँदा प्रयोगशालामा कृत्रिम मान्छे जन्माउने क्षमता विज्ञानले आर्जिसक्यो।
यस्तो वैज्ञानिक चमत्कारले डार्विनको सिद्धान्त असान्दर्भिक हुँदैछ। जसले मानिस लगायत जीवमा क्रमिक विकासको परिकल्पना गर्छ।
कुनै जमानामा मान्छेको पुच्छर थियो रे। लामो कालसम्म प्रयोगविहीन भएपछि हरायो रे। अब चाह्यौं भने रातारात पुच्छर निकाल्न सक्छौं।
भुइँझार पाइन छाडेपछि जिराफले रूखका हाँगातिर टाउको तन्काउन थाल्यो रे। सयौं वर्ष तन्काइरहँदा घाँटी नै लामो भयो रे। अब समय लाग्दैन।
जैविक रूपान्तरण प्रयोगशालामा लामो घाँटी, छोटो घाँटी दुवैथरी जिराफ उत्पादन हुनेछन्।
के विज्ञान मान्छेलाई ईश्वर बनाउने परिकल्पना गर्दैछ?
हाम्रा पूर्खाले ईश्वरबाट समस्त सृष्टि रचना भएको कथा हाले। हामी नयाँ कथा हाल्दैछौं। मानवसिर्जित ईश्वरको कथा। जसले चार अर्ब वर्षदेखिको प्राकृतिक सृष्टि रूपान्तरण गर्दैछ।
प्रकृतिले जैविक जीवन विकास गर्यो, विज्ञान रासायनिक जीवनतिर उन्मुख छ।
हिजो जुन परिवर्तन निम्ति हजारौं वर्षको लामो कालखण्ड पार गर्नुपर्थ्यो, आज क्षणभरमै साकार हुन्छ। यसले मानव समाजलाई इतिहासकै असमान युगतिर धकेल्दैछ।
मृत्यु अवश्यम्भावी थियो, छँदैछ। तर, प्रविधिको सहाराले पर सार्न सकिन्छ। यो चमत्कारबाट ती व्यक्ति बढी लाभान्वित हुनेछन्, जोसँग शक्ति छ, स्रोत छ। स्रोत भएकाहरू धेरै बाँच्न थाल्छन्। धेरै बाँच्न धेरै स्रोत थुपार्ने होडबाजीमा लाग्छन्।
इतिहासमै शक्ति र स्रोतको सबभन्दा चर्को होडबाजी अब सुरु हुनेछ।
कृत्रिम विद्वता र जैविक रूपान्तरणको छुट्टाछुट्टै प्रभाव नै यति चर्को छ भने, यी दुवै एकठाउँ मिसिए संसार कति भयानक होला?
डरलाग्दो पक्ष त, यो मिश्रण अब कल्पना मात्र रहेन। निकट भविष्यको यथार्थ हो।
स्वचालित गाडीकै उदाहरण लिउँ।
चालकबिना गाडी सर्रर कुद्न मेसिनले मान्छेको व्यवहार नबुझी हुन्न। गुड्दागुड्दै बाटोमा कहिले आठ वर्षको बच्चा आउनसक्छ, कहिले असी वर्षको वृद्ध। बच्चाको व्यवहार वृद्धसँग मेल खाँदैन। सबै उमेरको व्यवहार सही खुट्टयाउन सके मात्र स्वचालित गाडीको कृत्रिम विद्वताले बेलामा सही निर्णय लिन सक्छ।
हामी एप्पल मोबाइल र म्याकबुकमा ‘सिरी’ सँग कुराकानी गर्छौं। पहिले सिरीलाई ‘डू यू लभ भी?’ भन्दा बुझ्दैनथ्यो। अहिले बुझ्छ।
एप्पलले कम्प्युटरका यी महिलामा कृत्रिम भावना भरेको छ। कृत्रिम विद्वता र जैविक रूपान्तरणको मिश्रण भनेको यही हो।
यसले केही नैतिक प्रश्न खडा गर्छ।
मानिलिउँ, पृथ्वी राजमार्गको नागबेली बाटो हुँदै सय किलोमिटर प्रतिघन्टा गतिमा स्वचालित गाडी कुदिरहेको छ। तपाईं पछाडि सिटमा हुनुहुन्छ, मस्त निद्रामा।
एक गर्भवती महिला सानी नानी डोर्याउँदै फ्याट्ट बाटो काट्न पुगिन्। ती महिला र बच्चालाई बचाउने हो भने गाडी दायाँ वा बायाँ मोड्नुपर्छ। बायाँ मोड्दा अर्को दिशाबाट आइरहेको ट्रकसँग ठक्कर खाइन्छ। दायाँ मोड्दा सिधै तल त्रिशूली नदीमा झ्वाम्म।
स्टेयरिङ तपाईंकै हातमा भए के गर्नुहुन्थ्यो?
यो नैतिक दोधारको प्रश्न। यसमा वर्षौं बहस गरे पनि एउटै जवाफ आउन्न।
मुखले जेसुकै भन्दिउँ, त्यस्तो अपर्झट पर्दा के निर्णय लिइन्छ भन्ने त्यही बेलाको स्वविवेकमा भर पर्छ।
तपाईं आफ्नो ज्यान दिएर गर्भवती महिला र उनको बच्चालाई बचाउन सक्नुहुन्छ। वा, आफूलाई बचाउन उनीहरूलाई पेलेर जानुहुन्छ। दुवै निर्णय आफैंमा सही वा गलत हुन्न।
स्वचालित गाडीलाई भने तपाईंको निर्णय अब अहिल्यै चाहिन्छ। गर्भवती महिलाको ज्यान लिने कि आफ्नै ज्यान दिने?
स्वचालित गाडीको कृत्रिम विद्वतालाई यो कुरा नसिकाएसम्म उसले तपाईंको सेवा गर्नेवाला छैन।
यस्ता नैतिक प्रश्नमा सयौं वर्षदेखि बहस हुँदै आएकै छ। बडेबडे दार्शनिकले आफ्नो कपाल फुलाए। तै यही ठिक भन्ने निष्कर्षमा पुगेनन्।
दार्शनिकहरूको खुबी के भने, उनीहरू धीर हुन्छन्। एउटै कुरामा घोत्लिरहन्छन्। इञ्जिनियर त अधीर छन्। पलपल फुर्सद छैन। जुन कुरा प्रश्नै रह्यो, उनीहरूलाई तात्तातै जवाफ चाहिएको छ।
खै जवाफ? खै निर्णय? उनीहरूले सोधेको सोध्यै गर्छन्। नभनी सुख!
कृत्रिम विद्वताको व्यापक प्रयोगले तपाईं–हाम्रो व्यक्तिगत स्वतन्त्रता धरापमा छ।
अमेजनमा किताब खोजौं, दुई—तीनपछि उसैले किताब सिफारिस गर्न थाल्छ। राम्रो कफी पाइने रेस्टुरेन्ट खोजौं, उसैले धमाधम सुझाउन थाल्छ। हाम्रो व्यक्तिगत स्वतन्त्रता, छनौट अधिकार र रुचिलाई प्राविधिक विकासले काबूमा लिँदैछ।
यो त बजारको कुरा भयो। अझ डरलाग्दो अवस्था यसले हाम्रो लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र समाजको अवधारणालाई कस्तो प्रभाव पार्छ भन्ने हो।
के कृत्रिम विद्वताको युगमा हाम्रा लोकतान्त्रिक अधिकार सुनिश्चित रहलान्?
हाम्रा सबै बाहिरी सूचना गुगल र फेसबुकको हातमा छ। हामी के खोज्दैछौं? के किन्दैछौं? कहाँ जाँदैछौं? यी सबै गुगल र फेसबुकको कृत्रिम विद्वताबाट लुकेको छैन।
तपाईं फेसबुकमा अमूक साथीको फोटो लाइक गर्नुस्, फेसबुकले उसका अरू स्ट्याटस खोजीखोजी पठाउँछ। कुनै समाचार वा भिडियो लिंक क्लिक गर्नुस्, त्यस्तैखाले लिंक तपाईंको टाइमलाइनमा आइरहन्छन्।
यहाँसम्म कि, कुनै होटलको वेबसाइटमा एकछिन भुल्नुस्, उसका विज्ञापन घरिघरि तपाईंले हेर्ने अरू साइटमा झुल्किन थाल्छन्।
हाम्रो बौद्धिक अवसान र कृत्रिम विद्वताको उदय भनेको यही हो। यसैमा जैविक रूपान्तरण पनि मिसिन थालेपछि के चाहियो? त्यसपछि त हाम्रा बाहिरी सूचना मात्र होइन, भित्री सूचना पनि गोप्य रहने छैनन्।
आँखाको हलचलबाटै कम्प्युटरले हाम्रो सोचाइ भाँप्न सक्छ। हातको कम्पनबाटै रक्तचाप नाप्नसक्छ। हामी खुसी छौं कि दुःखी? रिसाएका छौं कि रमाएका? हाम्रो पलपलको खबर कृत्रिम विद्वताको रेकर्डमा दर्ज हुन्छ।
कुनै दिन कुनै शासकको दिमाग फिर्यो भने उसले यिनै सूचना बटुलेर हामीलाई कैद गर्न के बेर? कैद गर्ने अहिलेजस्तो झ्यालखानामा होइन। घरमै नजरबन्द राख्ने पनि होइन। हाम्रो शरीर स्वतन्त्र हुन्छ, बुद्धि बन्दी।
हामी हिँडडुल गर्न सक्छौं, तर गन्तव्य गोप्य रहन्न। सोच्नमा पाबन्दी हुन्न, तर सोचाइ हाम्रो वशमा हुन्न।
हिटलर, नेपोलियनजस्ता तानाशाहले आफ्ना नागरिकलाई चौबीसै घन्टा सुरक्षाकर्मीको निगरानीमा राखेका थिए। अब कृत्रिम विद्वता दुरुपयोगबाट हाम्रो मन–मस्तिष्क र सोच नै चौबीस घन्टा शासकको निगरानीमा रहन के बेर!
त्यसै पनि संसार एकात्मक हुँदैछ। शासन व्यवस्थामा बहुलवादी आवाज सुनिन छाडेको छ। अमेरिका होस्, युरोप वा भारत।
विपक्षीहरूलाई देखी नसहने शासकको साँच्चै दिमाग फिरोस् त, अनि के हुन्छ?
पहिले तानाशाहको बल बन्दुक थियो, अब त्यही कृत्रिम विद्वता बन्न के बेर!
‘कम्प्युटर ह्याकिङको युग सकियो,’ हरारी भन्छन्, ‘यो ह्युमन ह्याकिङको युग हो।’
के वैज्ञानिकहरूले नियत खराब भएर यस्तो संकट निम्त्याएका होलान् त?
संसारभरि प्रत्येक वर्ष १२ लाख ५० हजारभन्दा बढीको सवारी दुर्घटनामा मृत्यु हुन्छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी मानवीय त्रुटिका शिकार हुन्।
स्वचालित गाडीको प्रयोगले ती मानवीय त्रुटिबाट ज्यान जोगाउनेछ भन्नेमा शंकै छैन।
शरीरभित्रका जैविक हलचल पहिल्यै थाहा भए हामी भविष्यमा लाग्नसक्ने ठूल्ठूला रोगको बेलैमा उपचार गर्न सक्छौं। कम खर्चमा ठूलो संकट टर्छ।
सही नियतले गरेका सबै आविष्कार सधैं सही काममा प्रयोग हुँदैनन्। भइदिएको भए आणविक शक्ति संसारकै निम्ति त्रास बन्ने थिएन।
कृत्रिम विद्वता र जैविक रूपान्तरणको शक्ति भविष्यमा यस्तै खतरा बन्ने त होइन?
हरारीले हालसालै एक अन्तर्वार्तामा भनेका छन्, ‘दुई वर्षअघि ‘होमोडियोस’ को प्रचारमा हिँड्दा कृत्रिम विद्वता र जैविक रूपान्तरणबारे कमैलाई चासो थियो। अहिले जतासुकै यही प्रश्न सोधिन्छ। यो घर–घरको कुरा बनेको छ।’
पहिलो र दोस्रो किताबमा इतिहास र भविष्यबारे चर्चा गरेपछि गत वर्ष सन् २०१८ मा हरारी तेस्रो किताब लिएर आए– ‘ट्वेन्टी वान लेसन्स फर दी ट्वेन्टीफस्ट सेन्चुरी’।
साढे तीन सय पृष्ठको यो किताब वर्तमान घटनाक्रम र निकट भविष्यबारे छ। अर्थात्, हामी बाँचिरहेको आजको कथा।
पहिलो र दोस्रोको सारांश खिचेझैं यो किताब विभिन्न समकालीन विषयमाथि केन्द्रित छ।
‘एक्काइसौं शताब्दीको चुनौती सामना गर्ने ताकत एउटा देशको हातमा मात्र छैन,’ हरारी भन्छन्, ‘एउटाले कृत्रिम विद्वतामा रोक लगाउला। जैविक रूपान्तरणलाई मान्यता नदेला। तर, जब प्रतिस्पर्धी देश त्यसमा खुरन्धार लाग्छ, उसलाई पनि नपछ्याई सुख!’
यसको समाधान उनी ‘विश्वव्यापी राष्ट्रियता’ मा देख्छन्।
अर्थात्, विश्व बन्धुत्व।
जसले जलवायु, पर्यावरण, आणविक, कृत्रिम विद्वता लगायत मुद्दामा विश्वव्यापी सहकार्यको दरकार राख्छ। विश्वव्यापी समस्याको विश्वव्यापी समाधान।
यहाँ हरारी कताकता महात्मा गान्धीजस्तो सुनिन्छन्।
उनी गान्धीजस्तै शुद्ध शाकाहारी पनि हुन्। अहिंसाको कुरा गर्छन्। ध्यानको कुरा गर्छन्। आत्मशुद्धीकरणको कुरा गर्छन्। धर्म होइन, अध्यात्मका पक्षपाती छन्।
भन्छन्, ‘अध्यात्मले प्रश्न गर्न सिकाउँछ, धर्म त आफैंमा जवाफ हो, जसले ईश्वरको कुरा नमान्नेलाई सजायको बन्दोबस्त गरेर राखेको छ।’
हरारीका यी तीनैवटा किताबमा समाजशास्त्र, मानवशास्त्र र विज्ञानको समीश्रण छ। यी किताब उनले आफैं पत्ता लगाएको प्राथमिक स्रोतका आधारमा लेखेका होइनन्। अरूले गरेका अनुसन्धानको निचोडमा उनले आफ्नो कल्पना मिसाएका हुन्।
धेरैले भन्छन्, इतिहास पढ्न जरुरी छ, किनभने यसले भविष्य बुझ्न मद्दत गर्छ।
हरारी भन्छन्, ‘इतिहास पढ्न जरुरी छ, किनभने इतिहासको अध्ययनबाटै हामीमा स्वतन्त्रताको चेत खुल्छ।’
‘हामी सधैं पुरानै बाटो हिँड्ने हो भने यत्रो लामो अनुभवको के अर्थ? हामीले आफ्नो स्वतन्त्रता र न्यायलाई विगतबाट अलग्याउन सकेनौं भने हाम्रो स्वतन्त्रता त गुमेर जान्छ नै, वैकल्पिक अवसर खोज्ने सिर्जनशीलता पनि सकिन्छ।’
त्यसैले, हरारी फरक–फरक कोणबाट इतिहासको वस्तुगत विश्लेषण गर्नुपर्ने खाँचो औंल्याउँछन्।
इतिहास, वर्तमान र भविष्यसँग सम्बन्धित आफ्ना तीन किताबमा उनले यही गरेका छन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्: