ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले धापाखेलको बाटो संघीय सरकारले निर्माण नगरेको बताएका छन्।
उक्त बाटो निर्माण नहुँदा आफूहरूलाई लाज लागिरहेको उनको भनाइ छ।
‘हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ, त्यो भनेको धापाखेलको बाटो। वडा नम्बर २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो हो त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ,’ महानगरको १०६ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर महर्जनले भने।
उनले धापाखेलको बाटोका दायाँबायाँका घरका मानिसहरू मुआब्जा पाएको खण्डमा घर छाड्न तयार रहेको पनि उनको भनाइ छ।
‘दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छन्। तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन। यो अहिले ललितपुर महानगरको लागि एकदमै अप्ठेरो परिस्थिति छ। संघीय सरकारले त्यहाँका स्थानीयलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्नुपर्छ,’ उनले भने।
सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन आवश्यक रहेको पनि उनले बताए।
साथै उनले ललितपुर महानगरलाई नेपालको सबैभन्दा सफा सहर बनाउन चाहेको बताएका छन्।
‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा सहर बनाउन चाहन्छौं। प्राकृतिक विपद्को सामना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)