२ वर्षअघि नेपालमा आएको भूकम्पका कारण नेपालबारे अन्तर्राष्ट्रिय पर्यटन बजारमा परेको नकारात्मक सन्देश हटाउन हलिउड र बलिउडका कलाकारहरू नेपाल आउने भएका छन्।
नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक अन्तर्राष्ट्रिय प्रभावलाई हटाउन हलिउड, बलिउड साथै विश्वप्रसिद्ध कलाकाहरू लेपाल ल्याउने तयारी भएको हो।
‘फायरट्रक एक्सपिडिसन नेपाल’ नाम दिइएको यस अभियालाई बुधबार पर्यटन बोर्डले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी गराए।
सगरमाथाको ढुंगालाई घडीमा प्रयोग गर्ने भनेर चिनिएका अमेरिकी आरोही तथा पर्यटन बोर्डका ब्रान्ड एम्बेस्डर माइकल कोबोल्डले यो अभियानलाई सार्थक रूप दिन लागेका हुन्। साथै कार्यक्रममा उनले यसबारे लेखेको पुस्तक ‘फायरट्रक एक्सपिडिसन नेपाल’ समेत सार्वजनिक गरेका छन्।
कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन विकासका लागि यस अभियानमा सहभागी हुन विश्वभरका प्रमुख सेलिब्रेटी ल्याइने दाबीसमेत गरे। यस अभियानमा अमेरिकी नायक टम हार्डी, कोलिन फयारल, गायीका लेडी गागा, अस्कर विजेता नायकद्वय मालकम म्याकडोयल, स्कट ग्ल्यान, गिटारिस्ट नुनो बेटनकर्ट, संगीतकार स्टिङ, गिनिजमा नाम लेखाउने साहसिक रानुलफ टिस्लेटन, नेसनल जियोग्राफीका लागि फोटोग्राफी गर्ने चर्चित फोटोग्राफर मार्टिन हार्टली, पूर्वअमेरिकी राजदूत स्कट एच डेलेसीलगायत रहने जानकारी दिए।
उनले यी चर्चित सेलिब्रेटीहरू नेपाल आएको कुनै पारिश्रमिक नदिइनेसमेत जानकारी गराए। ‘उनीहरूले नेपालमा आई सित्तैमा प्रचार गरिदिनेछन्। उनीहरूले आफ्ना ट्विटर, फेसबुकमार्फत नेपालको पर्यटनबारे प्रचार गर्नेछन्,’ उनले भने।
नेपालजस्तो विश्वमै सुन्दर मुलुकको प्रचार गर्न हाम्रो अनुरोधमा आउन लागेका करिब २ दर्जनभन्दा बढी विश्व प्रशिद्ध सेलिब्रेटी र चर्चित व्यक्तित्वहरूले नेपाल आउने बाचा गरेका छन्, यिनलाई हामी कुनै पारिश्रमिक दिने छैनौ,’ उनले भने। ‘लेडी गागासँग पनि यसबारेमा कुरा भएको छ। यदि उनी नेपाल आउन सकिन् भने पनि आफ्नो टुइटरमार्फत फायर ट्रक एक्सपिडिसनबारे लेखिदिनेछिन्। यसबाट उनका लाखौ फलोअर्सले नेपालबारे थाहा पाउनेछन्।’
हलिउडका मात्र नभएर बलिउडका केही कलाकारलाई पनि यस अभियानमा सहभागी गराइने भएको छ। अभियानका लागि सलमान खान, मनिषा कोइरालालगायतका कलाकारहरू आगामी मार्चमा नेपाल आउने भएका छन्।
यो अभियानमा नेपाली कलाकारहरू राजेश हमाल, सृष्टि श्रेष्ठ, सुनील थापा पनि सहभागी हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी गराए।
हलिउड कलाकार, नेपाली सेलिब्रेटी, राजनीतिज्ञ, सुरक्षाकर्मी र विभिन्न देशका परोपकारीको सहयोगमा आगामी मार्च महिनामा अमेरिकाबाट आएका १० वटा दमकललाई वीरगञ्जबाट हाँकेरै चितवन- पोखरा-गोरखा हुँदै काठमाडौं ल्याउनेसमेत उनले जानकारी दिए।
अमेरिकाबाट आउन लागेका अत्याधुनिक तर सेकेन्ड हयान्ड दमकल झिकाउने अनुमति नेपाल सरकारबाट प्राप्त गरिसकेको माइकलले बताए।
काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने उद्देश्यले विभिन्न दाताहरूको आर्थिक सहयोगमा खरिद गरिएका उक्त दमकल भारतको कोलकातासम्म पानीजहाजबाट ल्याइने र त्यहाँबाट वीरगन्ज नाका हुँदै काठमाडौं ल्याइने भएको छ। यो अभियान ५ दिनको हुने कार्यक्रममा जानकारी गराइयो।
[caption id="attachment_117266" align="alignnone" width="1200"]
आफ्नो पुस्तक विमोचन गर्दै माइकलसहित अन्य। तस्बिरः नारायण महर्जन[/caption]
काठमाडौंमा आपत्कालीन संसाधनको आवश्यकता भएजस्तै पर्यटक पनि चाहिएका छन् । प्रसिद्ध व्यक्तिहरूले वीरगञ्जबाट दमकल हाँकेरै काठमाडौं ल्याउँदा विश्वको ध्यान नेपालतर्फ तानिने कोबोल्डको विश्वास छ। ‘नेपाल सुरक्षित, सुन्दर र मनमोहक छ भन्ने सन्देश विश्वसामु पुर्याउन जरुरी छ’, कोबोल्डले भने।
यो अभियानको शुरुआतीमा कोबोल्डसँग नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी र उनका घनिष्ट मित्र अभिनेता जेम्स ग्यान्डोल्पि्कनीको साथ थियो । तर, सन् २०१३ मा ग्यान्डोल्पि्कनीको हृदयघातबाट मृत्यु भयो।
भूकम्पको केही महीनामै अभिनेता माल्कम म्याकडोवेल र अन्वेषक सर रेनल्फ फिन्स् जस्ता उनका सेलिब्रेटी साथीहरू दमकल यात्रामा सहभागी हुने निश्चित भइसकेको थियो, दमकललगायतका सर–सामान पनि तयार भइसकेका थिए। तर, त्यहीबेला भारतले नेपालमाथि नाकाबन्दी गरिदियो ।
कोबोल्ड अनेकौं जटिलताबीच आगामी फागुनमा १० वटा फायर ट्रक काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा छन्।
त्यसबाहेक उनले दमकलको अनुगमन, मर्मत र स्थानीय प्राविधिकलाई तालीमका लागि आवश्यक स्पेयर पार्टस्सहितको व्यस्था पनि गर्ने भएका छन्।
प्रशिक्षणका लागि अमेरिकी अग्नि नियन्त्रक र नेभी सिलका प्राविधिकलाई नेपाल ल्याउने उनले जानकारी दिए।
‘नेपाल भनेकै साहसिक यात्रा हो। तर कहिलेकाहीं साहसिक यात्रा जोखिमपूर्ण पनि हुन्छ’, कोबोल्डले भने।
दमकल यात्रामाथि आमन्त्रित कलाकारहरूले ९० मिनेटको डकुमेन्ट्री बनाइनेछन्। जसलाई बीबीसी, सिएनएन, फक्सि न्यूज, न्योयोर्क टाइम्सलगायतका चर्चित मिडियामार्फत अमेरिका र युरोपमा प्रसारण गरिनेछ।
करिब ८ करोडको अनुमानित बजेटमा पर्यटन बोर्डले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बोर्डका सीईओ जोशीले बुधबार बताए।
यसको मुख्य प्रायोजन गरेको टर्किस एयरलाइन्सले हलिउड कलाकारहरूलाई नेपाल आउने/जाने यात्राको बिजनेस श्रेणीको टिकट व्यवस्था गर्ने भएको छ।
यो अभियानबाट नेपाली पर्यटन क्षेत्रले कम्तिमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्यको ख्याति (माइलेज) कमाउने दाबी पर्यटन बोर्डले गरेको छ।
‘लगानी धेरै हुन्छ तर नेपालले कम्तिमा पनि २ अर्ब ५० करोड बराबरको माइलेज उठाउन सक्छ,’ जोशीले भने,‘ आवश्वक रकम जुटेमा फागुनमा यो कार्यक्रम हुनेछ।’
यस अभियानका लागि नेपाल सरकारसँग धेरै अघिदेखि लबिङ गरिरहेका माइकलले अबको मार्चमा यो अभियान निश्चय नै हुने भन्दै निश्चित मितिसमेत तोकिने बताए।
उनले लेखेको पुस्तकको बिक्रीबाट उठेको सम्पूर्ण पैसासमेत यही योजनामा लगाउने बाचा गरे।