नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ।
बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरी महिला प्रहरी सम्मेलनको उद्घाटन भएको हो।
गृहमन्त्री रमेश लेखकले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायतलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।
‘साझा जिम्मेवारी समान प्रतिबद्धता: प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित दुई दिने प्रथम महिला सम्मेलन आयोजना भएको हो।
उक्त सम्मेलन शुक्रबार समापन हुनेछ।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी राजन अधिकारीले यस सम्मेलनले महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गर्ने बताए।
उनले यसरी पहिचान गरी समाधानतर्फ लैजान र त्यसले व्यावसायिकतामा समेत भूमिका खेल्ने बताए।
‘महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गरी समाधान गर्न तर्फ लैजान र महिला प्रहरीलाई पेशागत जिम्मेवारीमा मद्दत पुग्नेछ,’ उनले भने, ‘महिला प्रहरीको समस्यालाई सम्बोधन गरी व्यवसायिक उत्कृष्टता कायम हुनेछ।’
उनले नेपाल प्रहरीमा महिलाको सहभागिता दशकौं पुरानो रहेको पनि बताए।
प्रहरीमा पहिलो पटक प्रहरी जवान पदमा चैत्यमाया डंगोलले वि.स २००८मा सेवामा प्रवेश गरेकी थिइन्।
उनलाई बिहीबार गरिएको कार्यक्रममा सम्मान समेत गरिएको थियो।
अहिले नेपाल प्रहरीमा १२.४१ प्रतिशत महिला प्रहरी छन्।
गृहमन्त्री रमेश लेखकले उक्त कार्यक्रममा बोल्दै महिला प्रहरीहरूले आफ्नो जिम्मेवारी अब्बल ढंगले पूरा गरेको बताए।
‘मन्त्रालयमा कार्यभार प्रारम्भ गरेको एक वर्षको अनुभवमा महिला प्रहरीले राम्रोसँग जिम्मेवारी पूरा गरेको अनुभव छ। कुनै पनि महिला प्रहरी पुरूषको दाँजोमा कमजोर कमसल, निर्बल, दुर्बल हुनुहुन्न भन्ने लाग्छ,’ उनले भने।