सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भिभिआइपी र भिआइपीको सुरक्षामा महिला प्रहरीलाई खटाउन सुझाव दिएकी छन्।
बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलनमा बोल्दै न्यायाधीश मल्लले गृहमन्त्री रमेश लेखक र आइजिपी दीपक थापालाई महिला प्रहरीको सुरक्षा लिन अनुरोध गरेकी हुन्।
‘म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अव यदी महिलाले सुरक्षा लिने वर्ग होईन दिने वर्ग पनि हो भने भिभिआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आइजिपी र गृहमन्त्रीहरूले महिलाबाट सुरक्षा लिनुस्, तपाईंहरू उदाहरण बनिदिनुस्,’ उनले भनिन्।
उनले महिलाका लागि शान्ति सुरक्षा दिने, न्याय दिने निकायका ढोका लामो समयसम्म बन्द रहेको पनि बताइन्।
‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाईं, न्यायको पहिलो ढोका पनि हो तपाईं,’ उनले भनिन्, ‘कुनै पनि आपराधिक घटनामा न्याय दिलाउने तपाईंहरू द्वार पनि हो। तर महिलाहरू यो द्वारबाट, यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए।’
नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलनको आयोजना गरेको हो।
‘साझा जिम्मेवारी समान प्रतिबद्धता: प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित दुई दिने प्रथम महिला सम्मेलन आयोजना भएको हो। उक्त सम्मेलन शुक्रबार समापन हुनेछ।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी राजन अधिकारीले यस सम्मेलनले महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गर्ने बताए।
उनले यसरी पहिचान गरी समाधानतर्फ लैजान र त्यसले व्यावसायिकतामा समेत भूमिका खेल्ने बताए।
‘महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गरी समाधान गर्न तर्फ लैजान र महिला प्रहरीलाई पेशागत जिम्मेवारीमा मद्दत पुग्नेछ,’ उनले भने, ‘महिला प्रहरीको समस्यालाई सम्बोधन गरी व्यवसायिक उत्कृष्टता कायम हुनेछ।’
उनले नेपाल प्रहरीमा महिलाको सहभागिता दशकौं पुरानो रहेको पनि बताए।
प्रहरीमा पहिलो पटक प्रहरी जवान पदमा चैत्यमाया डंगोलले वि.स २००८मा सेवामा प्रवेश गरेकी थिइन्।
उनलाई बिहीबार गरिएको कार्यक्रममा सम्मान समेत गरिएको थियो।
अहिले नेपाल प्रहरीमा १२.४१ प्रतिशत महिला प्रहरी छन्।
गृह मन्त्री रमेश लेखकले उक्त कार्यक्रममा बोल्दै महिला प्रहरीहरूले आफ्नो जिम्मेवारी अब्बल ढंगले पूरा गरेको बताए।
‘मन्त्रालयमा कार्यभार प्रारम्भ गरेको एक वर्षको अनुभवमा महिला प्रहरीले राम्रोसँग जिम्मेवारी पूरा गरेको अनुभव छ। कुनै पनि महिला प्रहरी पुरूषको दाँजोमा कमजोर कमशल निर्बल दुर्बल हुनुहुन्न भन्ने लाग्छ,’ उनले भने।