हजुरआमाका कथा श्रृंखला
हजुरआमाका कथानिम्ति लागि मैले यसपटक ८७ वर्षीया विष्णुकुमारी श्रेष्ठसँग समय लिएकी थिएँ। उनकी नातिनी रोशनी अधिकारीसँग भेटेर विष्णुकुमारीको धापासीस्थित घर गएँ।
घरको माथिल्लो तला चढ्दै जाँदा भर्याङतिरै फर्किएको ढोका सामुन्नेको सोफामा उनी बसिरहेकी रहिछन्।
उनलाई हिँड्न कठिन रहेछ। सहाराका लागि 'वाकर' राखिएको थियो। उनको शारीरिक स्थिति देखेर मनमनै अनुमान लगाएँ- धेरैबेर कुरा गर्दा गाह्रो हुने हो कि?
जब नातिनीसँग उनले नेवारीमा कुराकानी गर्न थालिन्, मेरो अनुमानको पर्खाल ढल्यो। उनको आवाज मेरो अनुमानविपरित थियो। वजनदार र रवाफिलो सवाल-जवाफ। कुनै समूह हाँक्ने नेताभन्दा कम लागिनन्।
उनी जन्मेको ठाउँबारे सोधेर कुरा थालेँ।
'म जन्मेको बन्दीपुर। बन्दीपुरको बकुङटोल भन्छ। त्यो राम्रो चोक-सोक बनाएर राखेको छ नि। माझमा वृन्दवासी देउता छ। हो, त्यही ठाउँमा म जन्मेको। वृन्दवासी देउताथानबाट सिधै गएपछि हाम्रो घर हो,' ८७ वर्षीया विष्णुकुमारी कडकदार आवाजमा आफ्नो कथा सुनाउन तयार भइन्।
अनि तपाईंका आमाबुबा के गर्नुहुन्थ्यो? कुराकानी अगाडि बढाउन थालेँ।
'आमाबुबाको पसल थियो उबेला! किराना पसल,' उनले सुनाइन्।
उनी सानी छँदै बुबा बितेका रहेछन्। आमाले नै दुःखजिलो गरी हुर्काइछन्।
'त्यतिबेला हाम्लाई बूढापाकाले 'अहिले लैलै धैलै के चाहिन्छ र? जस्तो गर्छ। भोलिपर्सि सातथोक भोग्नुपर्छ' भन्थ्यो,' उनले विगत सम्झँदै भनिन्, 'त्यतिखेर त के भन्या होला त्यो सातथोक भन्ने लाग्थ्यो। हण्डर खाँदै जाँदा थाहा भयो।'
विष्णुकुमारीको बिहे २१/२२ वर्ष उमेरमा भयो। बन्दीपुरकै बुद्धलाल श्रेष्ठसँग। उनीहरूका ७ सन्तान जन्मिए। तीमध्ये दुई छोरा सानैमा बिते। कान्छी छोरी पनि केही वर्षअघि बितिन्। अब तीन छोरा र एक छोरी छन्। जेठा छोरा तनहुँ र माइला बेलायत बस्छन्। धापासीमा उनी कान्छा छोरासँगै बस्छिन्।
विष्णुकुमारीका अनुसार उनीहरू बन्दीपुरबाट डुम्रेको सत्रसय फाँटमा बसाइ सरे। कपडा पसल थियो। छोराछोरी हुर्किँदै गए। आ-आफ्नै हिसाबले जीवन बिताउन थाले।
त्यत्तिकैमा, माओवादी द्वन्द्व चर्कियो।
माओवादी भन्नेबित्तिकै विष्णुकुमारीको मनमा अझै पनि डर र आँखामा त्रास देखिन्छ। यी कुरा गर्दैगर्दा उनका आँखामा त्यो बेलाका दृश्य नाच्न थाले।
डरैडरमा बाँचेका ती दिनहरू सम्झिँदै उनले भनिन्, 'सत्रसय फाँट सरेपछि हामी बूढाबूढी मात्रै भयौं। रातिराति घरको ढोकामा ढुंगा हान्न सुरु भयो। चन्दा त मागेका थिएनन्। तर रातभर ढुंगा हानिरहँदा डरमर्दो भयो। सुत्नै नसक्ने। अनि सबैले कराउन थाले। बूढाबूढी मात्र बस्नुछ, यत्रो पसल छ। यहाँ नबस। काठमाडौं जाओ भन्न थाले।'
यो २०५९/६० सालतिरको कुरा होला।
विष्णुकुमारी र उनका पतिलाई माओवादीले प्रत्यक्ष हानी त पुर्याएनन्, मानसिक त्रास भने प्रशस्तै दिए। कपडा पसल चलाएर बसेका उनीहरूसँग पछि-पछि पैसा माग्न थालेछन्।
'एकातिर माओवादीको दुःख। अर्कोतिर प्रहरी घरबाहिर ढुकेर बस्ने,' विष्णुकुमारीले भनिन्, 'हामी पूरै परिवार एकदमै डराउन थाल्यौं।'
जेठी छोरी पुष्पादेवी श्रेष्ठ पनि विष्णुकमारीहरूको नजिकै बस्थिन्। माओवादीले उनलाई पनि दु:ख दिन थालेछन्।
विष्णुकुमारीका अनुसार पुष्पादेवी त्यहीँको मित्रता माविमा पढाउँथिन्। माओवादीले उनीसँग घरमा आएर चन्दा माग्ने, यति महिनाको तलब देऊ भन्ने, कहिले खाना पकाइदेऊ भन्ने गर्न थाले। स्कुलको स्थायी जागिर पनि छाड्न दबाव दिन थाले।
आफूहरूसँगै छोरीमाथि पनि माओवादीले गरेको अत्याचारले बूढाबूढीको मन पोल्थ्यो।
०५९ फागुन ४ गते माओवादीले पुष्पादेवीलाई मरणासन्न कुटेछन्। विष्णुकुमारी छाँगाबाट खसेजस्तै भइन्। माओवादीहरूले पुष्पादेवीलाई कुटेर मरिन् भन्ठानेर जंगलमा फालिदिएछन्। उनीहरू हिँडेपछि पुष्पादेवी बल्लतल्ल घिस्रिँदै मान्छेहरूले देख्ने ठाउँसम्म आइपुगिछन्। त्यहाँबाट एम्बुलेन्समा हालेर काठमाडौं लगेर उपचार गरिएछ।
त्यसपछि विष्णुकुमारीको परिवार त्यहाँ बस्न सक्ने अवस्था भएन।
'अरू कसैको स्वार्थपूर्तिका लागि हाम्रो परिवार नै आफ्नो ठाउँ छाडेर उठिवास हुनुपर्यो,' उनले निन्याउरी हुँदै भनिन्।
त्यो बेला मरणासन्न हुने गरी कुटिएकी उनकी छोरी पुष्पादेवी हाल आबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष हुन्।
दु:खका दिन सम्झँदा मन कुँडिए पनि विष्णुकुमारी बालख र जवानीका दिन सम्झेर रमाउँछिन्।
बन्दीपुरमा आफ्नो बाल्यकाल सम्झिँदै उनी अनुभूति बाँड्छिन्, 'बिहे नहुन्जेल त यताउता खेल्दै हिँडियो क्यारे! आइमाइले पढ्न पाउँदैन भन्थ्यो। पढ्न दिँदैनथ्यो। अनि त खेल्ने-कुद्ने र काम गर्ने।'
उनी साथीहरूसँग गट्टा खेल्थिन् रे। डोरी पनि। अनि घ्वाँइकासा। तर खेल्न पनि खुलमखुला थिएन। लुकेरै गर्थे।
'कहीँ नाचगान भयो भने हेर्न जान्थ्यौं। उबेला त्यस्तै त चलन थियो,' उनले भनिन्।
कस्तो नाचगान? मलाई उत्सुकता जाग्यो।
'आच्या... के त त्यो तीजका नाचगानहरू! त्यही हेर्न जाने नि!' उनले हाँस्दै भनिन्, 'अनि हाम्रोमा 'कुना राख्ने' चलन थियो। त्यसमा पनि नाचगान हुन्थ्यो।'
नेवार समुदायमा छोरी रजस्वला हुनुअघि बन्द कोठाभित्र राख्ने चलन छ। यसलाई 'गुफा' राख्ने पनि भनिन्छ। गुफा/कुना ११ दिनसम्म राखिन्छ। बाह्रौं दिनमा निकालिन्छ।
'यो बेला छोरीले घाम हेर्न हुँदैन। पुरुषहरूलाई पनि हेर्न नहुने भन्थ्यो,' विष्णुकुमारीले भनिन्, 'कुना राखेको चार दिनपछि खुब नाचगान हुन्थ्यो। हामी हेर्न जान्थ्यौं।'
बालखमा पढ्न नपाएकी विष्णुकुमारीले छोरी पुष्पादेवी प्रौढ शिक्षाको प्रशिक्षक भएका बेला नामसम्म लेख्न सिकिन्। छोरीकै आग्रहमा पढ्न थालेकी थिइन्। तर उनको चाख बसेन। त्यसैले मौका पाउने बित्तिकै केटाकेटीले स्कुल जान गाह्रो माने जसरी पढ्न छाडिदिइछन्।
'आ...केटाकेटी हुँदा पो रहर लाग्थ्यो। पछि त मन लागेन। भो भनेर हिँड्यो म त! नामसम्म लेख्ने भाथ्यो, त्यो पनि बिर्सिसक्यो,' पढाइ टुंग्याएको विषय उनले यतिमै बिट मारिदिइन्।
'अनि खुट्टा के भएर यस्तो भयो,' मैले उनको वाकरमा ध्यान मोड्दै सोधेँ।
'एउटा खुट्टा थ्याच्च बस्दा भाँचेको। अहिले ५ वर्ष लाग्यो हइ! अनि अर्को चाहिँ त्यो भुइँचालोले भाँचेको,' उनले ०७२ सालको भुइँचालो सम्झिँदै सुनाइन्।
त्यो दिन उनले सधैंझैं बिहान ४ बजे नै उठेर नुहाइधुवाइ गरी पूजा गरिछन्। बुहारीले पकाइदिएको पुवा खाएर सुतिछन्।
'पछि उठेर लठ्ठि टेक्दै माथि गएँ। यसो एकैछिन उभिएजस्तो लाग्याथ्यो, एकैपटक का...लो स्वाँ.... गरेर त्यो साँढे कराउँछ भन्थ्यो नि, त्यही चालले आयो। केभा...केभा भन्दाभन्दै म त्यहीँ लडेँ। घर पनि भत्क्यो। खुट्टा फेरि भाँचियो। महिनौं अस्पताल बस्नुपर्यो।'
विष्णुकुमारीका खुट्टालाई 'वाकर' अपरिहार्य भयो।
अचेल उनी दिनभर टिभी हेरेर बस्छिन्। उनलाई रमाइलो लाग्छ रे टिभी हेर्न।
'केटाकेटी बेला त जात्राहरूमा कुदेरै रमाइयो। बन्दीपुरमा कृष्णाष्टमीमा विशेष जात्रा हुन्थ्यो,' उनले आफ्ना मनोरञ्जनका साधन र तरिका बदलिएको संकेत दिँदै भनिन्, 'मलाई जात्रा खुब मनपर्थ्यो।'
बन्दीपुरको रमाइलो सम्झँदै उनी सुनाउँछिन्, 'हाम्रो बन्दीपुरमै रमाइलो! कृष्णाष्टमीका दिनको दिउँसोदेखि जात्रा लाग्थ्यो। रातभरी पञ्चैबाजा बजाएर खेत रोप्ने। त्यहाँको केटाहरू जम्मै केटीका लुगा लगाएर, सिँगारिएर केटीजस्तै बन्ने। अनि सबै मिलेर खेत रोप्ने। एकदम रमाइलो। बयानै नहुने। बिहान १० बजेबाट ५/६ वटा नरसिङ्गे घड्याम घड्याम बजाउने हइ।'
उनले जात्राबारे बताइन्। एक जना 'पाँचो' हुने रहेछन्। बिहानै घरघर गएर बाहिरबाटै रोपाइँ र जात्राको निम्ता दिन जाने मान्छे।
अनि घरमा गएपछि भन्ने रहेछन्, 'पाँचो हो...!'
घरको मान्छेले भन्छ, 'हँ...!'
'पाँचो'ले भन्छ, 'आजको दिनमा तन्नेरी-तरुनीहरू बाहिर आउने। बुडाखाडा भित्र बस्ने। अनि हलगोरु, बाउसे, रोपार जम्मै लिएर आउने।'
घरकाले भन्छ, 'हँ...!'
पाँचोले फेरि भन्छ, 'लछारे घुती पारे डन्न, म फेरि आउन्न।'
'बाबै कस्तो हँसाउने,' विष्णुकुमारीले हाँस्दै सुनाइन्, 'कस्तो रमाइलो कुरा हइ! त्यो कुरा सुन्दा अझै हाँसो लाग्छ।'
त्यो लछारे घुती पारे...भनेको के नि?
'म फेरि भन्न आउँदैन भनेको नि,' उनले बुझाइन्, 'रोपाइँको दिनको खबर दिएको। बिहानै दिन्छ त्यो खबर। अनि त मान्छेको हुल नै आउने। ढल्किँदै, बाजा बजाउँदै। बिहान १० बजेदेखिको बेलुका ५/६ बजेसम्म हिँड्ने। अहिलेका मान्छेलाई त थाहा नै छैन। देख्या छैनन्।'
अरू के-के जात्रा हुन्थ्यो त?
'त्यो खेत रोप्ने जात्रा कृष्णाष्टमीको दिनमा भयो। अर्को 'टाकटुके जात्रा' जनै पूर्णेमा। गाईजात्रामा पनि। जुन घरमा मान्छे मरेको छ, त्यो घरबाट गाईजात्रा निकाल्छ। सक्नेहरूले ठूलै निकाल्छ। नसक्नेले डोको सिँगारेर निकाल्छ। डोको सिँगारेर ढल्केभुचे बजाएर निकाल्छ,' उनले खर्रर सुनाइन्।
ढल्केभुचे भनेको?
'त्यो जात्रामा बजाउने बाजाको नाम। खासमा ढोलक र झ्याम्टा हो। ढल्के भनेको ढोलक र भुचे भनेको झ्याली! ढोलक र झ्याली बजाएर पूर्णेको दिन जात्रा निकाल्ने।'
गाईजात्राभन्दा भोलिपल्ट रमाइलो हुन्छ। त्यो दिनलाई 'सपारा' भन्छ। सपारा रमाइलो हुन्छ रे। बाहिर भएजति मान्छेलाई फलफूल बाँड्ने दिन हो। त्यसको भोलिपल्ट बिहान ५ बजे बन्दीपुरको तीनधारेमा लगेर सबै सेलाउने।
'तिमीहरूले देखेकै छैन त्यहाँको नाचगान कति रमाइलो हुन्छ,' सोफामा नजिकै बसेकी नातिनी रोशनीतर्फ फर्किएर आफ्नो अनुभव सुनाउँछिन् विष्णुकुमारी।
धेरै बयान गरेँ कि! भनेर सतर्क पनि हुन खोज्छिन् उनी बेलाबेला। भन्छिन्, 'बन्दीपुरका मान्छे अहिले बसेका ठाउँमा पनि मनाउँछन् यी जात्रा। तर त्यहाँजस्तो राम्रो होइन। नियम पुर्याएर पनि गर्दैनन्। कति रमाइलो हुन्थ्यो के। हुन त आफ्नो गामको मात्रै भन्यो भन्नुहोला। त्यसो हैन। त्यहाँ साँच्चै एकदमै रमाइलो हुन्छ।'
बिहेमा पनि बजाउने होला नि यस्तै बाजा?
'मेरो बिहे बाजा बजाएर भएन।'
विष्णुकुमारीहरूकहाँ मागी बिहेकै चलन थियो। केटापट्टिबाट माग्नै पर्ने रे। उहिलेका बाहरूले एउटी केटी माग्न जाँदा सातपत्र छाला जान्छ भन्थे रे। पहिले नातेदारले कुरा चलाउने। मिल्नेजस्तो भयो भने बा-काकाहरू, दाजुभाइ, मामाहरू र अरू नातेदार लिएर जाने। केटी दिने निश्चित भयो भने 'ल, फलानो दिनमा सुपारी समाउने' भनेर निधो गरी आउने।
'हाम्रोमा १० वटा सुपारी दिएपछि बिहे पक्का भयो,' विष्णुकुमारीले आफ्नो चलनबारे जानकारी दिँदै भनिन्।
सुपारी कसले-कसलाई दिने?
'केटीको आमाबाले केटाको आमाबालाई दिने। मेरो बिहेमा यो सब भएन।'
किन?
'हाम्रो बुबा बितेको वर्ष थियो। त्यसैले बाजा नबजाई बिहे गरेको। मलाई उहाँ (श्रीमान) ले एकदमै मनपराउनु भा'थ्यो। तर बुबाले दिनुभएन। पछि मात्र गरेको बिहे,' उनले सुनाइन्।
उनका अनुसार बिहे भएर केटाको घरमा भित्रिएकै दिन बुहारीले सासूको खुट्टामा तेल घस्नुपर्थ्यो। श्रीमान, आमाजु, नन्दको पनि। चलन त सधैं गर्नुपर्ने हो तर त्यो सक्ने कुरा नै भएन नि। त्यही भएर दुलही भित्र्याएको दिनमा मात्र लाउँछ। हामीलाई पनि लाए नि त बुहारीहरूले,' उनले सुनाइन्।
विष्णुकुमारीका श्रीमानले उनलाई घरको काममा खुब सघाउँथे रे। पकाउने काम पनि श्रीमानले नै गर्थे रे।
'सधैं बूढाले पकाउनुहुन्थ्यो। अहिले बुहारीले गरिहाल्छ। मेरो बुहारीले माँले बनाएको अचारसम्म पनि चाख्न पाएको छैन भन्छ,' उनले हाँस्दै भनिन्।
तपाईंले त राजनीतिक घटना पनि देख्नुभएको थियो क्यारे बन्दीपुरमा?
'ए ... त्यो दमौलीको कुरा,' उनी विस्तार लाउन थालिन्।
बिक्रम सम्वत् २०२५ सालको कुरा हो। बन्दीपुरमा भएको सरकारी अड्डाहरू दमौली सार्ने कुरा भयो। बन्दीपुर तनहुँकै व्यापारिक, प्रशासनिक केन्द्र र पश्चिम पहाडको मुख्य व्यापारिक नाका थियो। बिक्रम सम्वत् १८२५ ताक पृथ्वीनारायण शाहले काठमाडौंमाथि आक्रमण गर्दा भक्तपुरका केही प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशी थरका मान्छे बन्दीपुर आएर बसे भन्ने भनाइ छ। उनीहरूले त्यहाँ व्यापार थाले। बन्दीपुर विस्तारै व्यापारिक केन्द्र बन्यो।
पछि दमौलीबाट बाटो खुल्यो। फस्टाउँदो केन्द्र बनिसकेको बन्दीपुरबाट सदरमुकाम सार्न खोजियो। बन्दीपुरवासीलाई चित्त बुझेन। सार्न नदिन आन्दोलन थाले। धेरै दिन धर्ना दिए।
विष्णुकुमारीले भनिन्, 'त्यही क्रममा सरकारसित झडप भयो। झडपमा को-कति मरे सबै था'भएन। तर तनहुँतिरकै निर्मल नामको मान्छे मरेको थियो। उसैको नाममा दमौलीमा निर्मल हाइस्कुल बनाएछ।'
त्यतिबेला सदरमुकाम लान नदिन महिलाहरू पनि गए धर्ना र आन्दोलनमा?
'आ...बन्दीपुरमा धेरै मान्छे थिएन त्यो बेला! गयो नि जम्मै आइमाईहरू। लोग्ने-छोरा सबै गा'थे। पछि झगडा पर्यो। झगडा परेरै पूरै गाउँले उठेको हो। झगडा गर्दा काबुङ, पोखराका मान्छे आएर बन्दीपुरलाई पिसाब फेरेर बगाएर भए पनि अड्डा लान्छु भने। दमौलीबाट त कति मान्छे आएको। हामी धेरै दिन धर्ना बस्यो।'
जसरी आफू जन्मे-हुर्केको ठाउँको सुख बयान गर्दा विष्णुकुमारीको आवाज उँचो हुन्छ, दु:खको कथा भन्दा मलिन हुन्छ।
उनलाई २००७ सालको आन्दोलन पनि अलि-अलि याद छ।
'सरकार र आन्दोलनकारी बीच फाइट भा'कोथ्यो बन्दीपुरमा। हामी १७/१८ वर्षको हुँदो हो। लडाइँ हेर्न गयौं। कस्तो बुद्धि होला हाम्रो। फाइट हुनला'छ भनेपछि हामी उस्तैउस्ता गुटुटु पुग्यौं। कसो जम्मै एकै ठाउँमा सिद्धिएन। भाग्दै-हाम्फाल्दै कता कता पस्यौं।'
अझै जोश बटुल्दै उनी भन्छिन्, 'ड्याम्ड्याम्ती हे...फाइट चलेको थियो। सात जना मरेको। अहिले माथि अड्डामा सात जनाको सालिक छ नि!'
उनी भन्दै गइन्।
'माथि अड्डाबाट तल देवचौतारा मन्दिर छ। त्यो मन्दिरनिर आउँदा फेरि गोली चल्यो। हामी त ओहो, कता भागौं कता भागौं भयो। पर्रर्रर.....कस्तो आवाज आउने रहेछ बन्दुकको। त्यो गोली चलाको मान्छे पनि मर्यो। डरले थुर्थुर हुँदै दगुर्दै घर पुगेँ। बाचेँ क्यारे।'
उनले त्यो वर्णन गरिरहँदा फिल्मका दृश्य हेरिरहेको भान हुँदै थियो। तर एउटा कुराले सकसक लाग्यो, सोधिहालेँ।
अनि धोती लगाएर गुटुटुटु भाग्न सकियो त?
'धोती लाउँथेन नि। दौरासुरुवाल लाउँथ्यो। माथि दौराजस्तै गरी सिलाएको जामा र तल सुरुवाल लाउँथ्यो। त्यसैले पनि दौडन सजिलो भएर भाग्यो। म त सधैं टिलिक्क परेर हिँड्थेँ। नीर हालेको सेतो सारी र ब्लाउज लाउँथे। लुगा धोएर सुकेपछि पट्याएर डसनामुनि हाल्थेँ। आइरन लगाएजस्तै चिटिक्क हुन्छ। यी अहिले पनि देखेन,' उनले लुगा देखाउँदै भनिन्,'आइरन ला'को जस्तो छैन त?'
उनका कुरा जति नै सुनिरहन मन लागे पनि जाने बेला भइसकेको थियो।
उठेर हिँड्नै लाग्दा उनले सुनाइन्, 'अँ, खुट्टा नभाँच्या भए नानी, तपाईंलाई जित्ने थिएँ हिन्नमा। अहिले पो यसरी बस्नु परेको छ। फेरि कस्तो फूर्ति लायो बूढीले नभन्नू नि!'
यी हजुरआमाका कथा पनि पढ्नुहोस्ः
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे