दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमल पोखरीमा पक्की संरचना निर्माण गरेयता पहिलो पटक पानी भरिएको छ।
तालभित्र पानी अड्याउनका लागि झन्डै ६० लाख रुपैयाँ खर्च गरिएको थियो।
कमल पोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५ सय ९२ रुपैयाँ खर्चिएर बनाइएपछि ताल भित्र पानी अडिएको हो।
त्यसअघि पोखरीमा विभिन्न निकायको डेढ करोड जति रकम खर्च भइसकेको थियो। तर, तालमा पानी नअडिएपछि त्यसको आलोचना भएको थियो । पछिल्लो समय दुइ करोड बढी खर्चेपछि बल्ल तालमा पानी अडिएको थियो।
पढ्नुस्ः बन्द गरियो डेढ करोड खर्चेर बनाएको पोखरीको प्रवेशद्वार
पानीबिनाको पोखरी भन्ने आलोचनापछि पछिल्लो समय तयार नेपालले कमल पोखरी सुधार कार्यका लागि झन्डै ६० लाख खर्चिएको हो। तयार नेपालले फागुन २३ गतेदेखि सुधारको काम सुरु गरेको थियो। सुधारको काम असार ३ गतेसम्म गरिएको थियो ।
कमल पोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले पोखरी भित्र थप कामहरु गरिएपछि पहिलो पटक पानी अडिएको बताए। सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटो संगै मिसाएर पानी रोक्न (अड्याउन)का लागि ‘बेन्टो नाइट पाउडर’ राखिएको थियो।
कमल पोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गरिएको इञ्जिनियर शर्माले बताए। १२६० घनमिटर फिलिङ गर्दा प्रत्येक लियरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको इञ्जिनियर शर्माले बताए।
त्यसरी मिलाएको माटोसहितको ‘बेन्टो नाइट पाउडर’ तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो ।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो। तालभित्र २६ टिप्पर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो । ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ ।
यो पनिः कमल पोखरीमा पानी अड्याउन झन्डै ६० लाख खर्चिंदै
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले ताल मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले गेटसहित केही पर्खाल निर्माणको काम गरिएको थियो। तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले पोखरीको संरचना तयार भइ सकेको हुँदा गेट निर्माण गर्नु जरूरी ठानेर रकमान्तर गरी साढे ६ लाख बजेटबाट नगरले छुट्टै काम गरेको बताए।
पोखरीको विकासका लागि यसअघि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र युएसएआइडीको तयार नेपालले लगानी गरेका थिए।
त्यतिबेला तुलसीपुरको २५ लाख रुपैयाँ, कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको भ्याटसहित ८० लाख ५ हजार ६०१ रुपैयाँ लगानी भएको थियो।
त्यो रकमबाट प्राकृतिक अवस्थाको ताललाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाई बीचमा क्रंकिट कमलको आकृती निर्माण गरिएको छ।
तर, त्यो पोखरी भित्र गत वर्ष वर्षायाम भर एक थोपा पनि पानी अडेको थिएन। झन्डै डेढ करोड खर्च गरेपनि फेरि सरोकारवालाहरुले ताल मर्मतका लागि झन्डै ६० लाख लगानी गरेका थिए।
पछिल्लो लगानीसहित दुई करोड बढी खर्चेपछि मात्रै तालमा पानी अडेको हो। यो पाली तालमा पानी अडिएपनि पहिले जस्तै प्राकृतिक रुपमा कमलका फूलहरु फुल्लान कि नाइ? त्यो भने चासोको बिषय बनेको छ।
प्राकृतिक तालमाथि क्रंकिट संरचना निर्माणको काम झन्डै पाँच वर्ष अघिबाट सुरू भएको थियो।
तयार नेपालले विपद जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस भनेर उस्ले यो तालमा लगानी गरेको थियो ।
त्यसैमाथि लुम्बिनी सरकारले पर्यटन प्रवद्र्धनमा सजिलो होस भनेर छुट्टै लगानी गरेको थियो। तर, त्यो लगानी बालुवामा पानी साबित भएपछि फेरि तयार नेपालले तालभित्र पानी अड्याउन थप ६० लाख जति खर्चेर सुधारको काम गर्नुपरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका प्रमुख टोपबहादुर डाँगीले करिब एक बिघा क्षेत्रफलमा ताल फैलिएको बताए।
यो तुलसीपुर बजारदेखि सबै भन्दा नजिकको ताल हो। तालमा पानी भरिएपछि स्थानीयहरु खुसी भएका छन्। स्थानीय केशव वलीले तालमा पानी भरिएपछि धेरै सुन्दर देखिएको र यस्ले भविष्यमा त्यस क्षेत्रको पर्यटन पबर्द्धनमा सघाउने आशा व्यक्त गरे।
तालमा पानी भरिएपछि मानिसहरु त्यो नियाल्न आउन थालेका छन्। ताल ६ देखि सात फिट गहिरो छ। वरिपरी पर्खाल र गेट लगाइएपनि जस्ले पनि गेट खोलेर भित्र प्रवेश गर्न पाउने हुँदा पोखरी भित्र कोही केटा केटी प्रवेश गरे दुर्घटना निम्तने जोखिम यथावत रहेको हुँदा त्यसमा स्थानीय सरकारले ध्यान दिनुपर्ने वलीले बताए।
‘अप्रिय घटना हुनु भन्दा पहिलै ध्यान पुर्याउन सक्नुपर्छ,’ उनले भने ‘यसमा स्थानीय पनि उत्तिकै सजग र जिम्मेवार बन्नु पर्छ।’