भारतमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना नेपालीको मृत्यु भएको छ।
असार २६ गते राति ८ बजे भारतको श्रीवस्ती जिल्लास्थित राजपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ बस्नेको मृत्यु भएको हो।
राप्ती सोनारी गाउँपालिका-१ का वडाध्यक्ष यामबहादुर खड्काका अनुसार ३३ वर्षीय लालबहादुर दसौदी, सुनखरियाका ५० वर्षीय गोबर्धन घर्ती र २८ वर्षीया कल्पना श्रेष्ठ दसौदीको मृत्यु भएको हो। लालबहादुर र कल्पना जेठाजु-बुहारी हुन्। गोबर्धन पनि नातेदार नै हुन्।
तीन जना राखेर लालबहादुरले चलाएको रा ४ प ७६५ नम्बरको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिएको हो। दुर्घटनाको खबरपछि वडाध्यक्ष खड्का आफू पनि दुर्घटनास्थल पुगेका थिए।
ट्याक्टरले ठक्कर दिएपछि गम्भीर घाइते भएका लालबहादुर र कल्पनालाई उपचारको लागि भारतकै भिङ्गा अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। गोबर्धनको घटनास्थलमै मृत्यु भएको थियो।
वडाध्यक्ष खड्काका अनुसार कल्पना पेशाले शिक्षिका हुन्। उनले राप्ती सोनारीको वडा नं. १ कै बाल विकासमा पढाउने गर्थिन्। विद्यालय बिदा थियो।
जेठाजु लालबहादुर र कल्पनाको परिवार घोराहीमा बस्दै आएका थिए।
जेठाजु आएको हुँदा बुहारी कल्पनासहित तीन जना एउटै मोटरसाइकलमा चढेर बनवा नाकामा बस्ने बुवा-आमालाई भेट्न हिँडेका थिए।
ठेक्कापट्टाको काम गर्ने लालबहादुर बनवा नाकामा उपभोक्ता समितिबाट खानेपानी ट्यांकी निर्माण र पाइपलाइन विस्तारको काम गरिरहेका थिए।
बुवा-आमालाई भेट्न जाँदा निरीक्षण पनि गर्ने उनको योजना रहेको वडाध्यक्ष खड्काले बताए।
राप्ती सोनारी गाउँपालिका पुरै जंगलले घेरिएको क्षेत्र हो। बनवा नाका जान राप्ती सोनारीमा सडकको सुविधा छैन। त्यस्तैले नरैनापुर गाउँपालिका-१ सुइयाको दशगजा क्षेत्र हुँदै बनवा नाका पुग्नुपर्छ। सुइयाबाट भारत हुँदै १६ किलोमिटरको यात्रा गरेपछि बनवा नाका पुगिन्छ।
बुवा-आमा भेट्न हिँडेका उनीहरू सुइया नाका हुँदै जानेक्रममा भारतीय ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए। दशगजा क्षेत्रको प्रहरीले असार २७ गते सूचना दिएपछि आफन्त, प्रहरी र वडाध्यक्ष खड्का भारत गएका थिए।
‘हामीले त्यहाँका स्थानीय र अस्पतालका कर्मचारीलाई बुझ्दा कल्पनाले नै यसमा फोन गर्नु भनेर भारतीयलाई नम्बर उपलब्ध गराएकी थिइन्,’ वडाध्यक्ष खड्काले भने, ‘कल्पनाले उपलब्ध गराएको फोन नम्बरका आधारमा उनीहरूका आफन्तलाई फोन गरिएपछि हामीहरू त्यहाँ पुगेका थियौं।’
भारतीय अस्पतालमै पोष्टमर्टम पछि परिवारले असार २८ गते शव बुझेका छन् भने तीनै जनाको अन्त्यष्टि भइसकेको छ।
मृतकका आफन्तले भारतीय प्रशासनमा असार २९ गते क्षतिपूर्तिको माग गरी उजुरी दिएका छन्।
‘भारतमा पीडित पक्षले क्षतिपूर्ती पाउन अदालतको फैसला कुर्नपर्ने रहेछ,’ वडाध्यक्ष खड्काले भने, ‘अदालतको निर्णय आएपछि बल्ल के कति क्षतिपूर्ती पाउने भन्ने निर्क्यौल होला।’ ट्याक्टर चालक भने भारतीय प्रहरीको नियन्त्रणमा छन्।