दाङको कमलपोखरीमा पानी नअडिएपछि मर्मतको काम थालिएको छ।
तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा विभिन्न निकायले दुई करोड भन्दा बढी खर्चेर निर्माण गरिएको कमलपोखरीमा दुई हप्ता पनि पानी नअडिएपछि मर्मतको काम सुरू भएको हो।
सौन्दर्यीकरण र आवश्यक परे विपदमा समेत पानीको प्रयोग गर्न सकिने गरी बनाइएको पोखरी थप मर्मत गर्नुपरेको हो।
पोखरी छिर्ने सिँढी नजिकै चिरा परेपछि त्यहाँबाट पानी बगेर गएको थियो। अहिले त्यस वरिपरि खनेर सिमेन्टको वाल बनाइएको छ। जसपछि पानी अडिने आशा गरिएको छ।
पानी अड्याउन भनेर यही असारमा मात्रै कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रुपैयाँ खर्चेर पानी राखिएको थियो। दुई हप्ता पानी अडिएपनि पछि सुकेको हो।
कमलपोखरीको निर्माण पाँच वर्षअघि देखि नै सुरू भएको थियो। यद्यपि लामो समयपछि गत वर्ष नै पोखरी निर्माण सम्पन्न भएको थियो। तर त्यतिबेला पनि पानी अडिएको थिएन। पानी नअडिएपछि त्यतिबेला नै आलोचना भएको थियो।
त्यसपछि गत फागुनदेखि सुरू भएको सुधारको काम असार ३ गतेसम्म भएको थियो।
कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटोसँगै मिसाएर पानी रोक्न (अड्याउन) का लागि ‘बेन्टो नाइट पाउडर’ राखिएको थियो। ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ।
कमलपोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक लेयरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको इञ्जिनियर शर्माले बताएका थिए।
त्यसपछि त्यो माटो सहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो। तालभित्र २६ टिपर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो।
यति गरेपछि ताल भित्र पानी भरिभराउ भएको थियो। तालमा पानी भरिभराउ भएपछि सुन्दर देखिन थालेको थियो। स्थानीय पनि खुसी भएका थिए। तर, हप्ता दिन अघि फेरि पोखरी सुकेको थियो।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले बताएका थिए ।
‘पोखरीको संरचना तयार भइसकेको भए पनि त्यो खुला थियो,’ शर्माले भने, ‘त्यसैले गेट निर्माण गर्नु जरूरी ठानेर रकमान्तर गरी साढे ६ लाख बजेट नगरले छुट्टै काम गरेको हो।’
पोखरी निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रुपैयाँ यसभन्दा पहिले नै लगानी गरेका थिए ।
यी सबै निकायको झन्डै डेढ करोड रकमबाट प्राकृतिक अवस्थाको ताललाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाउनुका साथै बीचमा कंक्रिट कमलको आकृति निर्माण गरिएको छ।
तस्बिरहरू: