दुई हप्तायता तुलसीपुर बजार र कमलपोखरी आसपास ठूलो वर्षा भएको छैन। भल बग्ने गरी बर्षा नभएपनि तुलसीपुर बजारको नजिक दक्षिणको रजौरास्थित कमलपोखरी भने अहिले भरिभराउ छ।
ठूलो वर्षा नभएपनि तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरा गाउँमा सिँचाई गर्ने ‘गोलौरे कुलो’को पानी तालमा हालेपछि ताल भरिभराउ भएको हो।
यो सिँचाई कुलोको पानीको स्रोत पातुखोला हो। खहरे पातु खोलाको शीरको वन जंगल क्षेत्रमा (सल्यान कपुरकोट र तुलसीपुरको राम्री क्षेत्र ) फाट्टफुट्ट वर्षा भइरहेको हुँदा यतिखेर पातुखोलामा पानी छ।
त्यही पातुखोलाबाट डोर्याएर सिँचाइका लागि गोलौरा गाउँमा लगिने पानी पाइप मार्फत कमलपोखरीमा जाने व्यवस्था बनाइएको छ। सोही कारण अहिले कमलपोखरी भरिभराउ छ।
यसअघि असार १० गते ठूलो वर्षा हुँदा भरिएको थियो भने झन्डै दुई हप्ता तालमा पानी अडिएको पनि थियो। तर, असार तेस्रो साता पछि फेरि तालको पानी सुक्न थालेको थियो।
ताल भित्र पानीमा जाने सिमेन्टेड भर्याङको दक्षिण कुनो, बीचमा निर्मित कंक्रिट कमलको आकृती र तालभित्रै उत्तर तर्फको वालको एक भागबाट चिरा परेर पानी बगेपछि तालको पानी पुरै सुकेको थियो। ती तीन ठाउँमा परेका चिराहरु सिमेन्टले टालेपछि अहिले फेरि पानी अडिएको हो।
प्राकृतिक अवस्थाको कमलपोखरी पाँच वर्ष पहिले क्रंकिट बनाउन थालिएको थियो। त्यसयता यही बर्ष पहिलो पटक तालमा पानी भरिएको हो।
कमलपोखरी विगतमा सुख्खा मौसममा आसपासका बस्तु चौपायाका लागि पानी खुवाउने प्रयोजनका लागि निर्माण गरिएको थियो।
आधुनिक बनाउने नाममा क्रंकिट बनाउनु भन्दा पहिलेसम्म कमलपोखरीमा चैत वैशाखसम्म पनि पानी हुन्थ्यो। ताल सुक्दै गर्दा स्थानीयले त्यसमा माछा मार्थे।
स्थानीय चौधरी समुदायका महिलाहरु तालमा घोँगी खोज्न गइरहन्थे। विगतमा यो तालमा ढपक्कै कमलका फूलहरु फूल्थ्यो त्यसकारण नाम कमलपोखरी राखियो।
तर, आज बीचमा क्रंकिट कमलको आकृती निर्माण गरिएको छ।
कंक्रिटको संरचना रहेकाले त्यहाँ प्राकृतिक कमलको फुल फुल्ने र घोँगी र माछा भेटिन्छ भेटिँदैन भन्ने चासो छ।
तुलसीपुर उपमहानगरपालिका – ६ रजौराको अहिलेको कमलपोखरी निर्माण गर्न विभिन्न निकायले दुई करोड भन्दा बढी रकम खर्च भएको छ।
पढ्नुस्ः पाँच वर्षपछि कमलपोखरीमा पानी भरिभराउ
एक संस्थाले विपदको समयमा पानीको जोहो गर्ने उदेश्यले यो पोखरी क्रंकिट बनाउन सुरु गरेको थियो। त्यसैमाथि सौन्दर्यकरण र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न भन्दै बिभिन्न निकायले पनि बजेट खन्याएका थिए।
तर, जति गर्दापनि पानी नअडिएपछि, तयार नेपालले पोखरीमा पानी अड्याउन असारमा मात्रै कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रुपैयाँ खर्च गरिएको थियो।
गत फागुनदेखि सुरू भएको सुधारको काम असार ३ गतेसम्म चलेको थियो।
यो पनिः बन्द गरियो डेढ करोड खर्चेर बनाएको पोखरीको प्रवेशद्वार
कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटोसँगै मिसाएर पानी रोक्न (अड्याउन) का लागि ‘बेन्टो नाइट पाउडर’ राखिएको थियो। ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ।
पढ्नुस्ः कमल पोखरीमा पानी अड्याउन झन्डै ६० लाख खर्चिंदै
कमलपोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक लेयरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको थियो।
त्यसपछि त्यो माटो सहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो। तालभित्र २६ टिपर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो।
यति गरेपछि ताल भित्र पानी भरिभराउ भएको थियो। तालमा पानी भरिभराउ भएपछि सुन्दर देखिन थालेको थियो। स्थानीय पनि खुसी भएका थिए। तर, दुई हप्ता दिन नपुग्दै फेरि पानी सुकेको थियो।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको थियो।
‘पोखरीको संरचना तयार भइसकेको भए पनि त्यो खुला थियो,’ शर्माले भने, ‘त्यसैले गेट निर्माण गर्नु जरूरी ठानेर रकमान्तर गरी साढे ६ लाख बजेट नगरले छुट्टै काम गरेको हो।’
पोखरी निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको ९भ्याटसहित० ८० लाख ५ हजार ६०१ रुपैयाँ यसभन्दा पहिले नै लगानी गरेका थिए।
यी सबै निकायको दुई करोड बढी रकम खर्च भइसकेको छ।