राति श्रीमतीको हत्यापछि घरमै ढोका थुनेर बसिरहेका श्रीमान पक्राउ परेका छन्।
दाङको राजपुर गाउँपालिका – १ रसरीका ३८ वर्षीय गणेश घर्तीले गएराति आफ्नै ३७ वर्षीया श्रीमती बसन्ती घर्तीको रड प्रहार गरी वीभत्स हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।
सधैं बिहानै खुल्ने ढोका घर्तीको घर सोमबार बिहान ९ बजेसम्म पनि नखुलेपछि छिमेकीले आशंका लागेर स्थानीय प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
घटनास्थल पुगेकी इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार ढोका खोलेर हेर्दा वसन्तीको वीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो। दर्जनौं पटक टाउको र अनुहारमा रडले प्रहार गरी वसन्तीको हत्या भएको प्रहरी निरीक्षक कार्कीले बताइन्।
तर, राति नै घटना भए पनि हत्या आरोपी गणेश भने सोही घरभित्रै छुट्टै कोठामा ढोका थुनेर बसिरहेको अवस्थामा फेला परेका थिए।
‘भान्सा कोठाको ढोका लगाई हातमा रड लिएर एउटा झ्यालमात्रै खोलेर हत्या गरिएकी श्रीमतीको शव हेरेर ऊ उभिएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भनिन्,‘उनीहरूका ८ र १२ वर्षका छोरा पनि सोही घरभित्रै थिए।’
तीन छोराहरूमध्ये एक जना १४ वर्षीय छोरा भने आफन्तको घरमा गएको हुँदा दुई छोरा घरमै भेटिएको कार्कीले बताइन्।
‘८ वर्षको छोरा म मामुसँगै सुतेको थिएँ भन्ने कुरा गरेका थिए,’ कार्कीले भनिन्, ‘घटना भएको पनि देखेको हुँ भन्ने सांकेतिक टाउको हल्लाएका थिए, तर १२ वर्षीय छोराले भने आफूले नदेखेको प्रक्रिया दिएका थिए।’
गणेशले आवेशमा आएर आफूले श्रीमतीलाई दर्जनौं पटक रड प्रहार गर्ने गल्ती गरेको पश्चाताप प्रहरी समक्ष व्यक्त गरेको प्रहरी निरीक्षक कार्कीले बताइन्। सामान्य भनाभनका क्रममा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि निर्मम तरिकाले रड प्रहार गरी हत्या गरेको खुलेको कार्कीले जानकारी दिइन्।
गणेशलाई इप्रका गढवाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।