मोरङमा हात-खुट्टा बाँधिएको अवस्थामा अचेत भेटिएकी महिलाको बलात्कार भएको खुलेको छ।
आइतबार मध्यान्हमा कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा अचेत भेटिएकी महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ तीन जनालाई आइतबार राति नै पक्राउ गरेको हो। अहिले प्रहरीले ती व्यक्तिहरूको परिचय खुलाएको छैन।
जहदा गाउँपालिकाकी ती महिला आइतबार बिहान आफ्नो घरबाट निस्किएकी थिइन्। उनी घरभन्दा दुई किलोमिटर टाढा रहेको एक बाँसको झ्याङमा अचेत भेटिएकी हुन्।
ती महिला हात-खुट्टा बाँधिएको, मुखमा पट्टी लगाइएको र कपडाहरू पनि च्यातिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले महिलालाई उपचारका लागि कोशी प्रदेश अस्पतालमा पठाएको थियो।
होसमा आएपछि प्रहरीले ती महिलासँग घटनाबारे सोधपुछ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको डिएसपी जोशीले बताए।
‘घटनास्थल हेर्दा पनि पीडितमाथि जबरजस्ती करणी भएको देखिन्थ्यो। पीडितसँग सोधपुछ गरी तीन जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘उनीहरूसँग सोधपुछ र अनुसन्धान भइरहेको छ।’