कजाकिस्तानमा जहाज दुर्घटनामा परेका ६७ जनामध्ये २८ जनालाई उद्धार गरिएको छ।
६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको जहाज बुधबार दुर्घटनामा परेको थियो।
अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको थियो।
दुर्घटनामा परेको जहाजबाट २८ जना यात्रुको उद्धार गरिएको भारतीय समाचार संस्था एनडिटिभीले उल्लेख गरेको छ। उनीहरूलाई अस्पताल लगिएको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको थियो।
विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा जहाज अवतरण गर्न रनवे छुनेबित्तिकै आगो लागेको र धुवाँको मुस्लो उडेको देखिएको थियो।
रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।