काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी मःमलाई दुई लाख रूपैयाँ जरिवाना तोकेको छ।
बिहीबार खाद्य स्वच्छता मापदण्ड उल्लघंन गरेको पाइएपछि दुई लाख रूपैयाँ जरिवाना तोकिएको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले बताए।
उनका अनुसार अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको थियो
'धरहरा टपरी म:मले पटक–पटक महानगरको निर्देशन उल्लघंन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइयो,' उनले भने, 'त्यसैले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो।'
महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैंकमार्फत् जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
साथै,आगाम दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिएको महानगरले जनाएको छ।