अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्यटन विभागको पूर्वनिर्देशक सचिन्द्रकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
यादवले ९६ लाख ८५ हजार ५५३ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको कार्यकालमा ३ करोड ६५ लाख ४ हजार ४५३ रूपैयाँको खर्च/कारोबार गरेको देखिएको छ। जसमा २ करोड ६८ लाख १८ हजार ९ सय रूपैयाँको मात्र स्रोत खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
९६ लाख ८५ लाख ५५३ बराबरको सम्पत्तिको स्रोत भने पुष्टि गर्न सकेनन्। त्यसैले सार्वजनिक पदको दुरूपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएकाले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको उनले बताए।
उनीविरूद्ध स्रोत खुल्न नसकेको रकम बराबरको बिगो माग दाबी गरिएको छ।
उनले कमाएको सम्पत्ति श्रीमती आशाकुमारी यादवको नाममा राखेको देखिएकाले अख्तियारले आशाकुमारी यादवलाई प्रतिवादी कायम गरेको छ।