सुर्खेत प्रहरीले झन्डै साढे ५ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ११ का १८ वर्षीय किरण थापा र २२ वर्षीय विक्रान्त वली पक्राउ परेका हुन्।
बुधबार राति करिब ९ बजेतिर शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनीहरूको साथबाट ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ।
वीरेन्द्रनगर–११ सुब्बाकुनामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाहरू उपर लागुऔषध सम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।