रूपन्देही प्रहरीले १४ लाख रूपैयाँभन्दा बढी मूल्यका विभिन्न अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतका विभिन्न कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार र आइतबार दुई दिनको अवधिमा उक्त परिमाणका सामग्री बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले शनिबार र आइतबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्दा भन्सार छलेर ल्याइएका १४ लाख २१ हजार रूपैयाँ बराबरका सामग्री बरामद गरिएको बताए।
बरामद गरिएका सामग्रीमा केराउ, लत्ताकपडा, चिनी, साइकल, शृंगार सामग्री, ब्रोइलर कुखुरा लगायत छन्।

प्रहरीले मायादेवी गाउँपालिका–६ बाट विभिन्न लत्ताकपडा, चिनी, केराउको दाल, साइकल लगायत गरी २ लाख ४० हजार ९ सय बराबरका सामग्री बरामद गरेको छ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपास रोडबाट १ लाख ७ हजार मूल्य बराबरका लेडिज सुट, किसमिस, राजमा, अमूल क्रिम, चिनी र फेयर एन्ड लभ्ली तथा ओमसतिया गाउँपालिका–२ पडसरीबाट १ लाख २४ हजार मूल्य बराबरका किराना सामान बरामद गरेको डिएसपी कार्कीले बताए।
उनका अनुसार रोहिणी गाउँपालिका–३ धकधईबाट ५ लाख ९४ हजार मूल्य बराबरका विभिन्न कम्पनीका सेन्ट तथा मायादेवी–६ सानो दुर्गउलियाबाट मोटरसाइकलसहित २ लाख ५५ हजार मूल्यका साडी र कुर्ता सुरूवाल बरामद भएका छन्।
रोहिणीबाट १ लाख मूल्य बराबरका ब्रोइलर कुखुरासमेत बरामद भएको डिएसपी कार्कीले बताए।
भन्सार छलेर सामान ल्याउने रोहिणी गाउँपालिका–१ बस्ने २५ वर्षीय प्रमोद कहार र ३० वर्षीय शैलेस सहानीलाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सामान र ब्रोइलर कुखुरा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टिन कार्यालय बेलहिया पठाइएको डिएसपी कार्कीले जानकारी दिए।