म्यान्चेष्टर सिटीलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै समग्रमा ५–१ को जितसहित लिभरपुल सेमिफाइनलमा पुगेको हो ।
म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक-एक गोल गरे। सुरुवाती अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
सिटीका लागि गाब्रियल जिससले एक गोल फर्काए। यसअघि एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुलले सिटीलाई ३–० ले हराएको थियो।
इदिहाद स्टेडियममा खेलको दोस्रो मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्यो।
खेलको ५६ औं मिनेटमा सलाहले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।
योसँगै लिभरपुल दश वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ। लिभरपुल पछिल्लो पटक सन् २००७ – ८ को सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको थियो।