वेल्स स्ट्राइकर गारेथ वेललाई क्लब भित्र्याउने सबै सम्भावना समाप्त भएको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले स्पष्ट पारेका छन्।
रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने स्ट्राइकर वेललाई भित्र्याउन सिजनको सुरुवातदेखि नै म्यानचेस्टर प्रयासरत थियो।
माउरिन्होले धेरै पहिले एउटा वक्तब्य दिँदै म्याड्रिडले बेच्न चाहेमा वेललाई किन्न आफूहरु इच्छुक रहेको जानकारी दिएका थिए।
मंगलबार राती युएफा सुपर कपमा रियल म्याड्रिडबाट २–१ गोलले पराजित भएपछि म्यानचेस्टरका प्रशिक्षक माउरिन्होले भने, ‘सबैलाई थाहा छ, उनको म्याड्रिडमै बस्ने रुची छ।’ यस विषयमा वेलले कुनै प्रतिक्रिया दिएका छैनन्। म्याड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा वेललाई बेच्ने विषयमा क्लबले नसोचेको बताएका थिए।
वेलले भने, ‘म आफ्नो खेलमा केन्द्रित छु। अन्य कुनै कुरा सोचेको छुइनँ। तर, मानिसहरुले सोधेर हैरान लगाइसके।’
२८ वर्षीय वेल २०१३ मा इङ्लिस क्लब टोटेनहामबाट विश्व कीर्तिमानी रकम ८ करोड ५० लाख पाउन्डमा रियल म्याड्रिडतर्फ अनुबन्धित भएका थिए।