मेक्सिको फुटबल टिमका कप्तान राफेल मार्केजलाई लागु औषध ओसार–पोसारको नाइके भएको आरोप लगाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको छ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले लागु औषध कारोवार गर्ने ४२ अर्गनाइजेसन र २१ व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गर्दा मेक्सिको फुटबल टिमका कप्तान पनि समावेश भएका हुन्।
उनलाई लागु औषध ओसार–पोसार गर्ने मुख्य अभियुक्त मानिएको छ। उनलाई लागु औषधका मुख्य कारोवारी राहुल फ्लोरेस हर्नान्डेजसँग मिलेर काम गर्ने गरेको बताइएको हो। मार्केजले मेक्सिकोका न्यायधिवक्ताको कार्यालयबाट आफ्नो पक्ष राखेका छन्। तर, उनले अन्य जानकारी दिएका छैनन्।
गायक जुलियो सेसर आल्भारेजलाई पनि अमेरिकाले अभियुक्तको सूचीमा राखेको छ। ३८ वर्षीय मार्केजले मेक्सिकोबाट ४ वटा विश्व कपमा प्रतिनिधित्व गरिसकेका छन्। उनले मेक्सिकोबाट १ सय ४० भन्दा बढि अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मेक्सिकोबाट सबैभन्दा बढि दुई दशक खेल्ने खेलाडीमा उनी पर्छन्। उनले मोनाको र बार्सिलोनाजस्ता चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलिसकेका छन्।