नेइमार बिनाको बार्सिलोनालाई रियल म्याड्रिडले स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा ३–१ गोलले पराजित गरेको छ। लिओनल मेसीले गोल गरे पनि घरेलु मैदानमा बार्सिलोनालाई परम्परागत प्रतिद्वन्दी रियलले आइतबार राती पराजित गर्यो।
मार्सेलोको क्रसमा गेरार्ड पिकेको ‘स्लाइड’ बल आफ्नै गोल पोस्टमा छिरेपछि मेसीले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएका थिए।
मार्सेलोले ५० मिनेटमा क्रस गरेको बल पिकेले डिबक्स बाहिर पठाउन खोज्दा बल आफ्नै गोल पोस्टमा छिरेको थियो।
७५ मिनेटमा लुइस सुआरेजलाई डिबक्स भित्र रियल गोलरक्षक नाभासले लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो।
पेनाल्टीमार्फत मेसीले गोल गरेका थिए। तर, करिम बेन्जेमाको स्थानमा दोस्रो हाफको ५८ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले ८० मिनेटमा पुनः गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
उनी बार्सिलोनाविरुद्ध गोल गरेको ३ मिनेट पछि नै दोस्रो पहेँलो कार्डका कारण मैदान छोड्न विवश भए। ८३ मिनेटमा बार्सिलोनाको गोल पोस्टमा बल अगाडि बढाउने क्रममा लडेका रोनाल्डोलाई पेनाल्टीको झुटो अपील गरेको आरोपमा दोस्रो पहेँलो कार्ड देखाइएको थियो।
यसअघि बार्सिलोनालाई गोल गरेपछि उनले जर्सी खोलेका थिए। जसबापत उनले पहिलो पहेँलो कार्ड पाएका थिए।
तेस्रो गोल ९० मिनेटमा असेन्सियोले गरे।