लोक गायक बलविर थापाले आफ्नो उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेका छन्। भारतको दिल्लीमा ब्लड क्यान्सरको उपचार गराइरहेका थापाले आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेका हुन्।
तत्कालै सघन उपचार गर्नुपर्ने भएको र थप उपचार महंगो रहेको थापाले बताए। आफ्नो पारिवारिक आर्थिक अवस्थाले मात्रै उपचार गर्न सम्भव नभएकाले सहयोगको अपिल गर्नुपरेको उनले बताए।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि थापाको उपचारका लागि सहयोग जुटाउन सुरू गरेको छ। प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले सहयोग जुटाउने काममा लागिरहेको बताइन्।
'उहाँ राम्रो कलाकार हुनुहुन्छ। हामी कतिपय उहाँका गीत सुन्दै हुर्कियौं,' अध्यक्ष मगरले भनिन्, 'अहिले उहाँ समस्यामा हुनुहुन्छ। हामीले संस्थागत रूपमा मिल्नेजति सहयोग गर्नेछौं। व्यक्तिगत रूपमा पनि सहयोग गर्दैछौं।'
तनहुँ घर भएका गायक थापाले चर्चित गायिकाहरूसँग गीतमा सहकार्य गरेका छन्। विष्णु माझीसँग गाएको 'तिमी बिना एक्लै भाछु म', बीमाकुमारी दुरासँगको 'मायाको भिकारी', दुरासँगैको 'चिठ्ठी फिर्ता लेउ', लक्ष्मी न्यौपानेसँगको 'लाज मानेर' लगायतका गीत रूचाइएका छन्।