पछिल्लो दस वर्षदेखि हरेक वर्ष नेपाल आएको छु र हरेक पटक एउटा न एउटा समस्यावाट गुज्रिएको अनुभव पनि बोकेको छु।
मुलुकको विकास र उन्नतीलाई सरसर्ती हेर्दा यो सधै यस्तैयस्तै प्रवृतिबाट जकडिएको छ।
राजनीतिलाई कमाउ पेशा ठान्ने र कहिल्यै नछाड्ने रोगले पनि हामीलाई सधै पिरोलिरहेको छ।
यी सबै समस्याको उपाय भनेको कुनै पनि मानेमा सक्षम र भिजनरी नेतृत्वनै हो। आलाकाँचा विचार र अपरिपक्क उफ्राइले भुइँ त छाडिनसक्छ तर उचाई नाघ्न मुश्किल हुन्छ।
कुरोको चुरो भनेको विमानस्थलको बेहालको प्रसंग नै हो। अन्तर्राष्ट्रिय विमानस्थलको हाल यस्तो छ कि ब्यवस्थापन पुरै अस्तब्यस्त छ। शक्तिका सन्ततिलाई भने यो समस्याबाट गुज्रनु पर्नेरहेनछ।
नेपालको एक मात्र अन्तर्राष्ट्रय विमानस्थलमा आइतबार देखिएको अवस्थाले मलाई मेरो देशको विमानस्थल भन्न लाज लागेर आयो।
‘पर्यटन विकास र सम्भावनाको बहस गर्ने नेताहरुले विमानस्थलमा पर्यटकको बेहाल किन देख्दैनन्,’ मनमनै प्रश्न उठ्यो अनि रिस पनि।
विमानबाट उत्रिएर अध्यागमन नआईपुग्दै दुई चार जनालाई ‘हजुर फलानो नमस्ते, मलाई ढिस्कानोले पठाईबक्सेको’ भन्दै पासपोर्ट बोकेर कता उतारे पत्तै भएन।
हामी पर्यौ सर्वसाधारण, यता लाईन उता लाईन तर लगेज खोज्ने बेलामा पुरै पसिना पसिना आउने।
अस्ट्रेलियामा सुरक्षा ज्याकेट नलाउँदा प्रधानमन्त्रीलाई जरीवाना र मास्क नलाउँदा उप प्रधानमन्त्रीलाई कारबाही गरेको मैले आँखैले देखेको र समाचार लेखेको थिए।
एक बोतल वाईन उपहारको प्रसंग बाहिरिँदा मुख्यमन्त्रीबाट राजीनामा अनि नैतिकताको राजनीतिमा उम्दा कारिगरको कयैन कहानी।
विमानस्थल भनेको पर्यटकको पहिलो प्रभाव भएकोले त्यहाँको ब्यवस्थापन चुस्त र दुरूस्त हुनुपर्ने हो। यसका लागि हामीले कयैन परिवर्तनका घोक्रो सुकाई पनि सुनेका हौ। तर दुर्दशामा पछिल्लो पन्ध्र वर्षदेखि त्यहाँ कुनै परिवर्तन आएको देखिएन। परिवर्तन आवागमन कक्षको वनावटमा केही देखियो तर ब्यवहार, शैली र साधनमा केही देखिएन।
यात्रुका लगेज आगमन कक्ष त कहालीलाग्दो नै देखियो। आफ्नो सामान पर्खेर बसेका यात्रुमा कौतुहलता थियो- खोई आउँदैन, कता छ भनेर!
कति सामान त झिकेर उहिल्यै प्यासेजमा तेर्साईएको पाईयो भने केही कुनाकाप्चा तीर। सानो कक्षमा यात्रुको भिड, बीचमा ट्रलीमा टीप्स खोजेर बसेका लोडर। लाग्थ्यो लगेज कलेक्सन होइन, कुनै ईलेक्सननै त भैरहेको छैन।
‘देशका असल कालिगढ ती हुन्। जो आफ्नो, समाजको र देशको रूपान्तरणलाई उत्तिकै महत्व दिन्छन्। आ-आफ्नो पेशागत दक्षतालाई आफूसहित समाजको हितमा लगाउँछन् अनि जो पर्दा पछाडि बसेर अनवरत सबैलाई घचघचाईरहन्छन्’, लगेज खोज्दै हैरान सञ्चारकर्मी मनऋषि धीतालले भने।
अस्ट्रेलियाबाट चार वर्षपछी घर फिरेका धिताल छोरालाई काखमा च्यापेर लगेज खोज्न तल्लीन थिए। कहिले भुइँमा लडाइएका लगेज नियाल्थे कहिले घुमुवा लगेज च्याम्बरमा! ‘हैट केहि परिवर्तन भएको रहेनछ’, धीतालले भने।
विदेशी त अलमलमै थिए, ट्रली पनि निकै कम थिए, भएका केही लोडरका हातमा, डलरको आशमा थिए।
‘परिवर्तन व्यवहारमा देखिनुपर्छ बोलीमा हैन। हाम्रा कयैन नेता विदेश जान्छन् तर उनीहरू भीआईपी कक्षबाट हुईकिन्छन् र त्यतैबाट घर फर्कन्छन्। कहिले काँही नागरिक भएर सर्वसाधारणको बाटो लागे त बुझिन्छ नि वास्तविक पीडा’, सिडनीबाट घर फिरेकी विद्यार्थी सविना गौतमले गुनासो गरिन्।
जबसम्म असल र खराबका बारेमा हामी मनै भित्रदेखि केलाउन सक्दैनौं, यहाँ केही हुनेवाला छ जस्तो लाग्दैन। किनभने परिवर्तन र विकासमा छलाङ मार्न एक असल र दूरदर्शी निष्ठावान व्यक्तिको ‘विकास अवधारणा’ आवश्यक पर्छ।