एनआरएन अभियान मुलुकको लागि मल्हम थियो।
डायस्पोराको नेपाली समाजलाई मुलुकसँग जोडेर सुखदुःख अनि विकास र विस्तारमा सहयोगी भूमिका निभाएको एनआरएनले छोटो समयमै सफलता पायो।
देश संकटमा परेको बेला होस वा भवितब्यमा परेको बेला जुरूक्कै उठ्ने प्रवासी नेपाली समाजको सारथी बनेर यसले आवाज उठायो।
महाभुकम्पको चपेटामा पर्दा होस् वा कोरोना कहरसँग लड्दा नै किन नहोस् गैर आवासीय नेपाली संघले देखाएको सहयोग र तत्परतामा कमि आएन।
विदेशमा बसेर मुलुकमा रेमिट्यान्स र सहयोग गर्दै आउने सफल जमात पनि हो प्रवासी नेपाली।
जाति, भुगोल या राजनीति अथवा गाउँवेसी जे सुकै नाम र ठाउँका आधारमा विदेसमा संघ संगठन खुले पनि तिनीहरूले आ-आफ्नो क्षेत्रमा प्रशस्त सहयोग गरेकै छन्। जे जसरी भए पनि प्रवासले देशको सम्मान गरेको छ।
यति हुँदाहुँदै यो परोपकारी संस्था गन्तब्यहीन भइरहेको छ। विवादको भूमरीमा फसेको छ।
वैदेशिक रोजगार होस् वा स्थायी-अस्थायी बसोबासका लागि विदेश पुगेका नेपालीको इतिहास कोट्याउने हो भने त्यति लामो फेहरिस्त छैन।
कुटनीति र परराष्ट्र सम्बन्धका कारण सन् १९५० देखि फाट्टफुट्ट नेपाली विदेसिएको इतिहास पाउँछौं। सन् २००० पछि अझ एनआरएनका रूपमा बसोबास गर्न आउने नेपालीको संख्या बढेको तथ्याङ्कले देखाउँछ। पछिल्लो समय प्रवासमा बढेको नेपाली समाजको बाहुल्यताले धेरैखाले सम्वन्धले आफूलाई बलियो बनाएको छ। यो सँगै रेमिन्ट्यास र अन्य सम्बन्धले मुलुकको आर्थिक उन्नतिमा जोडिएका छन्।
यतिखेर डायस्पोरामा जति पनि नेपाली छन्, जे गर्दै छन् सम्भवतः पहिलो पुस्ताका नेपाली हुन्। डाक्टर, ईन्जिनियर, वैज्ञानिक, श्रमिक वा प्राविधिक जे भए पनि नेपालको माटो, हावापानी, कला संस्कृति, रहनसहन र राजनीतिवाट प्रभावित पहिलो पुस्ताका नेपालीका लागि डायस्पोरा साच्चीकै उर्बर बनेको छ।
मैले यी कुरा कनि जोडिरहेको छु भने यिनै पहिलो पुस्ताका नेपालीनै अहिलेको गैर आवासीय नेपाली संघको ठूलो झुण्ड हो।
मुलुकका हरेक तह र तप्कासँग जानकार यी प्रवासीले आफू जहाँ रहे पनि मुलुकको कला, संस्कृति, रहन सहन अनि राजनीति भुल्न सकेका छैनन्। यी र यस्तै कारण प्रवासी नेपाली समाज मुलुकसँग लपक्कै टासिएको छ।
यी सबै कुरा जोड्ने महत्वपूर्ण माध्यम हो- भाषा, भेषभुषा अनि कला र संस्कृति। पुस्तान्तरणको प्रकृयामा पुगेका नेपालीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौतीनै यही हो।
अहिले प्रवासमा दसैं तिहार मात्रै होइन, ल्होसार र छठ अनि माघी र होली पनि प्रसस्तै मनाइन्छ। पहिचान र परम्परा भनेको सकिने र मासिने बस्तु होइनन् यो त सदभाव र संस्कारी महत्वका विषय हुन्।
यद्यपि, प्रवासी नेपालीको दोस्रो पुस्तामा भाषा र परम्पराको जगेर्ना विषय कमजोर देखिएका छन्। मुलुकसँग जोड्ने तारका रूपमा रहेको भाषा नै हाम्रो प्राणका रुपमा जिवन्त रहेन भने भोलिका दिन नेपालीको संख्या जति बढे पनि हामी बिचको सम्वन्ध समधुर हुन सक्दैन।
लोकलयलाई ‘ह्वाट इज दिस’ भन्ने पुस्ताले अंग्रेजी गीतमा रमाउन थाले भने त्यसले नेपालीत्व कायम रहला भन्न सकिन्नँ। तसर्थ, विश्वभर फैलिएको एनआरएन र यसका सम्वन्ध राष्ट्रले नेपाली भाषाको जर्गेना र कला संस्कृतिको रक्षा गर्ने नयाँ अभिभारा पनि बोक्नुपर्छ।
एनआरएनलाई विश्वाशिलो साझेदारका रूपमा संसारभर चिनिँदै आएसँगै अबको यसको उद्धेश्य नेपाली भाषा र भेषभुषाको रक्षा गर्नु हुनेछ।
सम्बन्धित देशले भाषा कक्षा र कला साहित्य र संस्कृतिको रक्षा गर्ने कार्यक्रम ल्याउनुपर्ने बेला आइसकेको छ। कुरो प्रष्ट छ, भाषा र संस्कृति नै नरहे हामी कसरी नेपाली रहौंला!
एनआरएनको सबैभन्दा ठूलो मागका रूपमा रहेको दोहोरो नागरिकता प्रकृया अगाडि बढ्न सकेको छैन। ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने नारालाई सफल पार्ने जिम्मेवारी पनि सकिएको छैन।
यस्तो महत्वपूर्ण घडीमा तेरो र मेरो अनि कांग्रेस र कम्युनिष्ट भन्दै राजनीतिक रंग भर्ने र संस्थालाई बन्धक बनाउनेप्रति सबैले प्रश्न गर्नुपर्ने बेला आएको छ।
गर्नुपर्ने कयौं काम र काँधमा आएको जिम्मेवारी बिर्सेर परोपकारी अभियानलाई ‘पापी नजर’ लगाउनेसँग सावधान हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो।
सबैले बुझ्नुपर्ने कुरा भनेको यो केही स्वार्थी ‘धनपती’ले मात्र होईन लाखौं प्रवासीको मायाप्रितीले सिञ्चित साझा संस्था हो।
विश्वभरका नेपाली एमाले, कांग्रेसी र माओवादी होइनन्। ती विसुद्ध नेपाली हुन्। अवसरको खोजीमा विदेसिएका उनिहरूलाई जन्मिएको ठाउँ र हुर्केको गाउँको मायाले तानेको मात्र हो।
मुलुकमा समस्या पर्दा जुरूक्कै उठ्ने समाज हो, प्रवासी नेपाली। हुर्किँदै गरेको र झाँगिंदै गरेको यो संस्थालाई सरकारले विभिन्न वहानामा वन्धक बनाउनु अशोभनीय मात्र होइन लाजमर्दो विषय हो।
राजनीति गर्ने थलो हुन्छ। यसको मूल्य र मान्यता हुन्छन्। तर केही विचारलाई अचारझैं चाटेर भर्याङ चढ्नेको पछि लागेर समाज सेवाको परोपकारी भावलाई चोरी शिकारीझैं गर्नु जुनसुकै दलको लागि हितकर हुँदैन।
नेपाल र नेपालीलाई दुःख पर्दा यहीँ पवित्र संस्थामार्फत आफ्नो मातृभूमीमा लागेको घाउलाई मल्हम लगाउन सबै बिदेशमा रहेका नेपालीहरु एक ढिक्का भएका छन्।
यति मात्र होईन विदेशी भूमीमा जम्दै गरेको नेपाली समाजमा आउनसक्ने फाटोले ज्यादा चिन्ता थपेको छ। यस्तो संस्कारले निम्त्याउने भवितव्यलाई बेलैमा मनन् गर्नुपर्ने हुन्छ र राज्यले आफ्नो भूमिका सरल र सहज बनाउनुपर्छ।
तन विदेशमा भए पनि मन नेपालमा हुने यो जमात र एनआरएनको परोपकारी अभियान यसैमा सिमित नहोस्, शुभकामना!