जुम्ल्याहा खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएको घटना नौलो होइन्। अस्ट्रेलियाका वाँ दाजु–भाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो जुम्ल्याहा दाजु–भाई थिए। तर, अहिले अन्तर्राष्ट्रिय क्रिकेटलाई नै आश्चर्य चकित पार्दै नेदरल्यान्ड्सबाट तिम्ल्याहा दाजु–भाई क्रिकेट खेल्दै छन्।
उनीहरुको नाम हो, सिकन्दर, असाद र सकिब जुल्फिकार। यी तिम्ल्याहा दाजु–भाई युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध नेदरल्यान्ड्सको एम्स्टेल्भिनस्थित भिआरए क्रिकेट मैदानमा भइरहेको ५० ओभरको खेलमा एकै पल्ट टिममा सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय तथा पहिलो दर्जाको क्रिकेटमा अहिलेसम्म कुनै देशमा तिम्ल्याहा खेलाडी समावेश थिएनन्। विश्व क्रिकेट लिग (डब्लुसिएल) भन्दा अगाडि ३ वटा एकदिवसीय खेल खेल्न युएई नेदरल्यान्ड्स पुगेको छ।
सोमबार युएईविरुद्ध भइरहेको खेलमा तेस्रो नम्बरमा क्रिजमा प्रवेश गरेका असादले १५ रन बनाएका छन्। पाँचौ नम्बरमा आएका सकिबले ११ र आठौं नम्बरमा आएका सिकन्दर अविजित ४१ रन बनाएपछि नेदरल्यान्ड्सले पहिलो इनिङमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको छ।
यी तीन जना खेलाडी पाकिस्तानको स्यालकोटमा जन्मिएका जुल्फिकार अहमदका तिम्ल्याहा छोराहरु हुन्। जुल्फिकारले पनि नेदरल्यान्ड्सबाट ९ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। जुल्फिकार तिम्ल्याहाको उमेर २० वर्ष १ सय ११ दिन छ।
असाद अफब्रेक पनि गर्छन्। सिकन्दर मध्यगतिको बलिङ फ्याँक्न पनि पोख्त छन्। सकिब लेफ्टआर्म अर्थोडक्स बल फ्याँक्न माहिर छन्।