नेपाल एएफसी युथ–२३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ। केही समय अगाडि युएईमा सम्पन्न च्याम्पियनसिपको छनोटमा उज्वेकिस्तानसँग २–० ले पराजित हुँदै नेपाल छनोटको एक खेल खेल्न बाँकी रहँदा बाहिरिएको हो।
नेपालले तुलनात्मक रुपमा आफूभन्दा बलियो मानिएको उज्वेक टिमविरुद्ध राम्रो प्रदर्शन गर्यो। ४ वर्षअघि यही प्रतियोगिताको पहिलो संस्करणमा उज्वेकिस्तानसँग काठमाडौंमा ४–२ गोलले पराजित भएको नेपालले सोमबार आफूभन्दा बलिया र प्रभावशाली विपक्षीलाई खुलेर खेल्न दिएन।
२१ मिनेटमा पाएको फ्रिकिकको सदूपयोग गर्दै उज्वेक डिफेन्डर तुर्सनोभ दोस्तोनभेक पहिलो गोल गरे। कर्नरबाट पाएको बललाई मिडफिल्डर सिदिकोभ जाभोखिरले लामो र अग्लो भल्ली नेपाली डिबक्स भित्र छिराएपछि तुर्सनोभले हेडिङमार्फत गोल गरेका थिए।
यसपछि कुनै गोल गर्न नसकेका उज्वेक खेलाडी हत्तोत्साही देखिन्थे। नेपाली डिफेन्डरहरुले लगभग ५० मिनेट उज्वेकको सबै प्रहार खेर फ्याँके। अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको २४ मिनेट भित्र गानिइभ अजिजजोनले नेपालको डिफेन्सलाई भताभूङ पारेपछि ८० मिनेटमा उज्वेकिस्तानले दोस्रो गोलको सफलता पाएको थियो।
उनले फरवार्ड बोबिर अब्दिझोलिकोभसँग वाल पास खेल्दै नेपालको डिफेन्स तोडेका थिए।
नेपालको तर्फबाट ६० मिनेटमा एक मात्र सुन्दर मुभ कप्तान विमल घर्तीमगरले सुनिल वलसँग मिलेर बनाएका थिए। विमलले डिबक्स भित्र निकालेको बलमा सुनिल राम्रो पोजिसनमा थिए। तर, उज्वेकका दुई डिफेन्डरको दबाबमा डिबक्स भित्र लड्न पुगेपछि नेपालले राम्रो अवसर गुमायो। विमलले रेफ्रिसँग पेनाल्टीको आग्रह पनि गरेका थिए। तर, रेफ्रिले विमलको आग्रहलाई खारेज गरे।
नेपाली गोलरक्षक एलन न्यौपानेले ६३ मिनेटमा उज्वेकिस्तानको गोलको एउटा अवसरलाई विफल तुल्याए। नेपालले समूह डी को अन्तिम खेल बुधबार लेबननसँग खेल्नेछ। छनोटमा शीर्ष स्थानमा हुने टोलीले आगामी वर्ष चीनमा आयोजना हुने एएफसी युथ–२३ च्याम्पियनसिपमा सिधै मौका पाउनेछ। नेपालले आफ्नो दुवै खेल हारिसकेको छ। उज्वेकिस्तानको भने यो दोस्रो जित थियो। राती युएई र लेबननबीच अर्को खेल हुँदैछ।