मलेसियालाई ५८ रनमा अल–आउट गरेको नेपालले युथ–१९ विश्व कप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो छनोट खेल ५ विकेटले जितेको छ।
सिङ्गापुरमा भइरहेको छनोट खेलअन्तर्गत मंगलबार भएको खेलमा टस जितेर नेपालले मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो। जसमा कप्तान सन्दीप लामिछानेले ८ दशमलव ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर पुनः ५ विकेट लिएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रन बनाउँदै अल–आउट भयो।
मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। सन्दीपले सिङ्गापुरविरुद्ध पहिलो खेलमा पनि ५ विकेट लिएका थिए।
मलेसियाविरुद्ध पवन सरार्फले पनि ३ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए। सन्दीप सुनार र किशोर महतोले १–१ विकेट लिए।
नेपालका प्रारम्भिक ब्याट्सम्यान सुनारले फेरि एक पल्ट निरास तुल्याए, उनी ६ रनमा आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो। आदिल खान पनि ५ र दीपेन्द्र सिंह ऐरी पनि ४ रनमा बोल्ड भए। नेपालले ४५ रनमा ४ विकेट गुमाएको थियो। नेपालका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक २३ र प्रनित थापामगरले १८ रन बनाए। अनिल साह शुन्यमा आउट भए। रोहित कुमार पौडेल ४ रनमा अविजित रहे। उनले मोहम्मद आमिरको बललाई चौका प्रहार गर्दै नेपाललाई विजय दिलाए।
नेपालविरुद्ध लेफ्ट आर्म अर्थोडक्स बलर हाफिजुद्धिनले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै ६१ रन बनायो।