आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) लाई जिल्याउँदै उज्वेकिस्तान एएफसी युथ–२३ च्याम्पियनसिपका लागि छनोट भएको छ। नेपाल सहभागी समूह ‘डी’ को अन्तिम खेलमा युएईलाई २–० गोलले पराजित गर्दै उज्वेक आफ्नो समूहबाट सिधै आगामी वर्ष चीनमा आयोजना हुने एएफसी युथ–२३ च्याम्पियनसिपका लागि छनोट भएको हो।
यसअघि समान २ खेल खेल्दा नेपाललाई ५ गोल हानेको युएई गोलअन्तरको आधारमा अगाडि थियो। तर, उज्वेकिस्तानले बुधबार सम्पन्न तेस्रो तथा निर्णायक खेलमा युएईलाई पराजित गर्दै आफ्नो स्थान सुनिश्चित गरेको हो।
युएई अघिल्लो २ संस्करणको क्वाटरफाइनल प्रवेश भएको टिम हो। अब युएईले प्लेअफको उत्कृष्ट ५ टोलीको रुपमा युथ–२३ च्याम्पियनसिपमा प्रवेशका लागि कुर्नु पर्नेछ। छनोटमा उत्कृष्ट ठहरिएका ५ उपविजेता टोलीले च्याम्पियनसिपमा प्रवेश पाउने प्रावधान छ।
यसअघिको दुईवटा संस्करणमा उज्वेकिस्तान उत्कृष्ट ५ उपविजेताबाट प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेको थियो।
उज्वेकिस्तानले पहिलो खेलमा लेबननलाई ३–१ र दोस्रो खेलमा नेपाललाई २–० ले पराजित गरेको थियो। युएईले भने नेपाललाई ५–० र लेबननलाई १–० ले पराजित गरेको थियो।