आइसिसी एसिया युथ–१९ विश्व कप छनोटअन्तर्गत विहिबार भएको खेलमा नेपालले आफ्नो पुरानो प्रतिद्वन्दी अफगानिस्तानसँग अहिलेसम्मकै सबैभन्दा खराब पराजय भोगेको छ।
मध्यगतिका बलर नवीन उल–हक र अफस्पिनर मुजिब जार्डनको बलमा असहज महसुस गरेको नेपाल १ सय ४१ रनले पराजित भएको छ। यसअघि सिङ्गापुरलाई ४ र मलेसियालाई ५ विकेटले पराजित गरेको नेपालका लागि ब्याट्सम्यानले फेरि निरास पारे।
पुछारमा पवन सरार्फबाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अंक चुम्न सकेनन्। पवनले २६ रन बनाएका थिए।
नेपालले टस जितेर अफगानिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो। जसमा शाहब आलमको ३, कप्तान सन्दीप लामिछाने र पवन सरार्फको २–२ विकेट लिएपछि अफगानिस्तानले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।
प्रत्युत्तरमा नेपाली ब्याट्सम्यान सुरु देखि नै अफगानी बलरको प्रभावमा देखिए। हकले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ४ बलमा ४ विकेट लिएपछि नेपालले सुरुमै अफगानिस्तानलाई खेल सुम्पिएको थियो। उनले दीपेन्द्रसिह ऐरी, प्रनित थापामगर, अनिल शाह र आदील खानलाई ४ बलमा ह्याट्रिकसहित आउट गरेका थिए।
यस्तै, जार्डनले ९ ओभरमा ५ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएपछि नेपालको खेलमा फर्किने सम्भावना ध्वस्त भयो।
नेपाल २६ ओभरमा ४९ रन बनाएर अल आउट भयो। युथ विश्व कपको छनोटमा नेपाल २०११ मा अफगानिस्तानसँग फाइनलमा ६१ रनले पराजित भएको थियो।