श्रीलंकामा ३ टेस्ट, ५ एकदिवसीय र १ टि–२० प्रतियोगिता खेल्न गएको भारतीय टिमका सदस्यहरु अब पहिले जस्तै देखिने छैनन्। २५ जुलाईदेखि सुरु हुने टेस्टमा भारतीय खेलाडी नयाँ रुपमा देखिने छन्।
भारतबाट उड्नुअघि प्रायः सबै खेलाडीले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका छन्। भारतीय खेलाडीले सामूहिक रुपमा कपालको स्टाइल परिवर्तन गरेको सम्भवत यो पहिलो अवसर हो। यसमा सबैभन्दा बढि चर्चा हार्दिक पाण्ड्याको भइरहेको छ। उनले श्रीलंकातर्फ लाग्नुअघि इन्स्टाग्राममा आफ्नो परिवर्तन भएको कपालको नयाँ स्टाइल पोस्ट गरेका छन्।
पाण्ड्याबाहेक प्रारम्भिक ब्याट्सम्यान अजिङ्क रहाणे, रोहित शर्मा, केएल राहुलले पनि आफ्नो हेयरस्टाइल परिवर्तन गरेका छन्। यी सबैको हेयरस्टाइल आलिम हाकिमले परिवर्तन गरेका हुन्।
आलिम हेयर स्थाइलिस्ट हुन्। उनको कामको प्रसंसा गर्दै पाण्ड्याले लेखेका छन्, ‘वास्तवमै तपाई जादूगर हो। त्यसैले हामी तपाईलाई निकै मन पराउँछौं।’ पाण्ड्याले हाकिमसँगै खिचेको फोटो पनि शेयर गरेका छन्।
रहाणेले पनि आफ्नो लुकमा केही परिवर्तन गरेका छन्। उनले पनि इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गरेका छन्। रवी शास्त्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेपछि भारतको यो पहिलो विदेश भ्रमण हो। मंगलबार मात्र जाहिर खानको स्थानमा भरत अरुणलाई बलिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको थियो।