नेपाली क्रिकेटको विधान प्रादेशीक आधारमा बन्ने लगभग पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) का प्रतिनिधिलाई सल्लाहकार समूहले बुझाएको रिपोर्ट र निर्वाचित क्यान पदाधिकारीहरुको सहमतिको आधारमा नेपाल क्रिकेट संघ (क्यान) को विधान प्रादेशीक आधारमा बन्ने पक्का भएको हो।
करिब २ वर्षअघि क्यान प्रतिबन्धित भएपछि आइसिसीले विधान परिमार्जन गर्दै नयाँ निर्वाचनमार्फत नेपाली क्रिकेटलाई अघि बढ्न सुझाव दिएको थियो। जसअन्तर्गत उसले अधिकार प्राप्त सल्लाहकार समिति गठन गर्दै क्यानमा रहेको क्रृटी हटाएर अघि बढ्न सल्लाह मागेको थियो।
शनिवार सल्लाहकार समूहले आइसिसीका प्रतिनिधिलाई आफ्नो रिपोर्ट बुझाएको छ। जसमा प्रदेशको स्वरुपअनुसार २ जिल्ला बराबर १ जनालाई भोटिङको अधिकार दिने प्रस्ताव गरिएको छ। श्रोतले जनाएअनुसार क्यानको साधारण सभा ६८ जनाको हुनेछ, जसमा जिल्लाबाट ३८ मत सुनिश्चित गरिएको छ।
यस्तै, क्यानको कार्यसमिति १७ सदस्यीय हुनेमा लगभग सहमति बनेको छ। तर, आगामी निर्वाचनका लागि पुरानो कार्यसमितिका पदाधिकारी सिधै उठ्न पाउने विषयमा सहमति बन्न नसकेको सल्लाहकार समितिका एक प्रतिनिधिले सेतोपाटीलाई बताए।
‘क्यानको कार्यसमिति १७ सदस्यीय र एजिएम (साधारण सभा) ६८ हुनेमा लगभग सहमति बनेको छ। अन्य कुरा थप मिटिङबाट सल्टिन्छ होला,’ आइसिसीका प्रतिनिधि र सल्लाहकार समितिको मिटिङमा सहभागी एक प्रतिनिधिले बताए।
आइसिसीका उपाध्यक्ष इमरान ख्वाजालाई बुझाइएको सुझावको सम्बन्धमा निर्वाचित क्यानले १ महिनाभित्र आफ्नो साधारण सभा बोलाएर यसलाई पास गर्नु पर्नेछ र निर्वाचनको नयाँ मिति तोक्नु पर्नेछ।
यसपछि मात्र आइसिसीले क्यानको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना छ। आइसिसीको प्रतिनिधिको रुपमा आएका ख्वाजाले शनिवारको बैठक निकै लाभदायक भएको र यसले समस्या समाधानतर्फ बाटो समातेकोमा खुसी व्यक्त गरेका छन्।