हजुरआमाका कथा
बिहान सखारै उठ्यो। घरका कुना-कुना बडारकुँडार गर्यो। चौबन्दी चोलो, कम्मरमा बेरेको धोती र त्यही धोतीमाथि बाँधेको पटुकीको आडमा गाग्री अड्याएर पानी ल्यायो। रातोमाटो र गोबर मिसिएको पोतारीमा भिजाएको झुम्रोले मूलढोका बाहिर लिप्यो। लिपेको ठाउँमा पूजा गर्यो। सूर्यनारायणलाई अक्षता छर्कियो। अनि रात झमक्क नहुञ्जेल घरभान्सा र बारीको धन्धामा लाग्यो।
हाम्रा अधिकांश आमा/हजुरआमाका जीवनचर्या यसैगरी बिते।
यदाकदा त्यस्ता आमा/हजुरआमा पनि भेटिन्छन्, जसले यी सबै गतिविधिमा मात्र आफूलाई भुलाएनन्। समाजद्वारा निर्धारित सीमा नाघेर अघि बढ्न सके। त्यहाँ अलिकति उनीहरूको आँट या जिद्दीपनले काम गरेको हुन्छ। अलिकति परिवारको साथ र सहयोगले।
यस्तै एक हजुरआमा भोटाहिटीको घरमा भेटिइन्।
करिब ८५ वर्ष पुग्न लागेकी ती हजुरआमा हुन्, नारायणदेवी श्रेष्ठ।
नातिनी पुस्ता प्रभावित गर्न सक्ने उज्याली र सौम्य नारायणदेवीभित्र 'बौद्धिक नारायणदेवी' पनि लुकेको रहेछ। उनले बिक्रम सम्वत २०१४ सालमै १७ वटा कविताहरूको संग्रह 'मुखूस्वां' प्रकाशित गरिसकेकी रहिछन्।
त्यो बेला साहित्यकारहरूको खुबै वाहवाही हुन्थ्यो। अहिले पनि हुन्छ। नारायणदेवीको हकमा भने भएन। सायद उनी 'नारायणदेव' भइदिएकी भए हुन्थ्यो कि!
नारायणदेवीलाई हौस्याउन समाजले मद्दत गरेन। परिवारबाट भने उनले साथ पाएकै भन्नुपर्छ। किनकि, त्यो जमानामा पनि उनी पढ्न स्कुल जान्थिन्।
नेपालमा औपचारिक शिक्षाको सुरुआत १९१० सालमा भएको हो। तत्कालीन दरबार स्कुलबाट, जसको नाम पछि भानु मावि राखियो। स्कुल खुले पनि सुरुमा त्यो केटाहरूका लागि मात्र थियो। केटीहरूले पढ्न पाउँथेनन्।
छोरी पढाए चिठ्ठी लेख्न सक्छे र 'पोइल जान्छे' भन्ने सोच थियो। त्यसैले छोरी पढाउनु भनेको समाजलाई चुनौती थियो। यस्तो जकडका बाबजुद केही साहसिला महिलाको प्रयास र केही पद्मशम्शेरको सुधारवादी सोचले छोरीहरूलाई पढ्ने सुविधा मिल्यो।
ती दिन सम्झँदै नारायणदेवी भन्छिन्, 'पद्मशम्शेर महाराजले अब पुरुषलाई मात्र होइन आइमाईलाई पनि पढाउनुपर्छ भन्नुभयो। दरबार स्कुलमै छुट्टै सेक्सन बनाइदिनुभयो। पद्मोदय दरबार स्कुल भनेर खोल्नुभएको थियो। म त्यहीँ पढ्न गएँ।'
स्कुलमा कति थिए त केटीहरू?
'त्यो बेला त केटी पढ्ने स्कुल खुल्यो भनेपछि धेरै आए नि। सानी नानीहरू पनि, आमाहरू पनि। सबै पढ्थे,' उनले सुनाइन्।
तपाईंको कक्षामा?
'मेरो क्लासमा पनि २०/२५ जना थियौं।'
दरबार स्कुलमै महिला कक्षा हुन्जेल उनी पढिन्। पछि २००४ सालमा पद्मशमशेरले निजी भवन र १३ रोपनी जग्गा दिएर दरबार स्कुलको 'महिला सेक्सन' लाई पुतलीसडक सारेर 'पद्म विद्याश्रम' को रूप दिए।
स्कुल सरेपछि नारायणदेवीको कक्षा धाउने दिन सकिएछन्।
'किन? कति कक्षासम्म जानुभो त?' मैले सोधेँ।
'पाँच क्लाससम्म। हामी 'फस्ट बुक' पढ्थ्यौं। स्कुल उता सरेपछि भने आमाले फस्ट बुक पनि सकेको छैन, बाउ नभएकी छोरीलाई टाढा पठाउँदा मान्छेले कुरा काट्छ भन्दै मान्नुभएन,' उनले भनिन्, 'अनि म कक्षा गइनँ। घरमै पढेर २००८ सालमा राष्ट्रिय विद्यापीठबाट प्रवेशिका दिएँ। त्यो बेला एसएलसी जस्तो हो।'
सरदार भीमबहादुर पाँडेको किताब 'त्यस बखतको नेपाल: राणाकालीन आखिरी तीन दशक' का अनुसार नारायणदेवीले भनेको 'फस्ट बुक' पिसी सरकारले लेखेका थिए।
अनि प्रवेशिका जाँच कहाँ दिएको?
'भोटाहिटीमै राष्ट्रिय विद्यापीठ अफिस थियो। दरबार स्कुल भोटाहिटीबाट बायाँ भयो, दायाँतिर विद्यापीठले भाडामा कोठा लिएर अफिस खोलेको थियो,' उनले सुनाइन्, 'त्यहीँ सेन्टर पर्यो। अनि जाँच दिएको।'
स्कुल पठाउन नमानेको आमाले कसरी प्रवेशिकासम्म पढाउनुभयो त?
'सानो छँदा बुबाले दाइ र मलाई बालकुमारीको 'बसाह' भन्ने सामानहरूको पसल नजिकै पढाउनुहुन्थ्यो। त्यहाँ एउटा 'ग्वरं' छ। ग्वरं भनेको कालोपाटी। त्यसमा लेखेर बुबाले पढाउनुहुन्थ्यो। यही देखेर आमाले पनि थाहा पाउनुभयो होला नि,' उनले भनिन्, 'पछि कहीँ सम्मेलनमा गयो भने चाहिँ कराउनुहुन्थ्यो। छोरी जातलाई यताउति पठायो भने मान्छेले कुरा काट्छ भन्दै रिसाउनुहुन्थ्यो।'
कस्तो सम्मेलनमा जानुहुन्थ्यो?
'साहित्यिक सम्मेलन। आमालाई नभनी जान थालेँ। घरमा म, दाइ र आमा मात्रै। भात पकाउनुपर्थ्यो। चुह्लोमा बसेर भात पकाउँदै लेख्थेँ। आमा आउनुभयो भने कापी-कलम लुकाउथेँ। अनि त बिना ध्यान पकाएको खानामा कहिले नुन नपुग्ने, कहिले के,' उनी आफ्ना साहित्यिक दिनका अनुभव सुनाउँदै गइन्, 'खाना मिठो नभएपछि काम गरेर आएर एक गाँस मिठो खान मुश्किल हुने भन्दै आमा गाली गर्नुहुन्थ्यो। म चुप लागेर बस्थेँ। पछि खाँदा आफूलाई पनि मिठो लाग्थेन।'
घरको काममा नारायणदेवीले ध्यान नदिएकै कारण आमालाई उनको साहित्यिक बाटो मन परेन होला। नारायणदेवी लेख्न बस्यो कि गाली खान्थिन् रे।
यतिका बाबजुद उनले धेरै कविता लेखिछन्। तीमध्ये एउटामा 'छोरी भएर जन्मिनुमा पीर मान्नुपर्दैन, एक दिन यस्तो आउँछ, जब समाजले छोरी पाएकोमा खुसी मनाउनेछ' भन्ने सन्देश दिएकी छन्। आफ्नै छरछिमेकमा छोरी जन्मिँदा आमा र बच्चालाई गरिएको हेला देखेर उनले यो कविता लेखेकी थिइन्।
सायद २०१० सालभन्दा अगाडि नै लेखिएको थियो। किनकि १९ वर्षको उमेरमा उनको कैलाशराम श्रेष्ठसँग बिहे भयो। बिहेसँगै लेखनले जबर्जस्ती बीट मार्यो।
सासू थिइनन्, ससुरा कडा थिए। ससुराका ५ छोरी र एउटा छोरा रहेछन्। उनलाई नाति चाहिएको रहेछ। चिना देखाउने क्रममा नारायणदेवीको भाग्यमा ५ जना छोरा छ भनिदिएछन्। ससुराले 'नाति' जन्माउने केटी मानेर नारायणदेवीकी आमासँग धेरै कर गरेर मागे।
ससुराको कर र रहरले नारायणदेवी कैलाशरामकी श्रीमती भइन्। कविता लेख्नु त परको कुरा, उनलाई घरमै उकुसमुकुस भयो।
उनी सुनाउँछिन्, 'बिहे भएपछि त कहाँ डुबेँजस्तो भो। ससुरा अनौठो हुनुहुन्थ्यो, बिहान ३ बजे पूजा गर्ने। ४ बजे खान चाहिने। एक कटौरा चिनीपानी र मुँग दालको रोटी तयार गर्नुपर्ने।'
बुहार्तनका दिन सम्झँदा उनका आँखामा अझै पनि बादल लाग्छ। हुन पनि स्वभावै हो- सुखका दिन चाँडै भुलिन्छ। दु:खका क्षण मनका भित्री कुनामा बसिरहन्छन्।
'झिसमिसे रातमै उठेर रोटी बनाउनुपर्ने। फेरि मुँग राति भिजाउन नहुने, बिहान पकाउनुअघि नै भिजाउनुपर्ने,' उनी ससुराका बानीले दिएको दुःखलाई शब्दमा उतार्ने प्रयास गर्दै भन्छिन्, 'मुँग बिहानै सिलौटामा पिस्यो। अनि ठूलो तावामा मोटा-मोटा ठूला रोटी पकाउने। घ्यूतेल चाहिँ वीर हस्पिटलबाट ठेक्का लिनुभएको थियो ससुराले। टिनका टिन घरमै आउँथ्यो। खै के खालको हुनुहुन्थ्यो।'
ससुराका सबै काम सकेर मात्र उनले खान पाउने रहिछन्।
'बिहानको खाना-धन्दा सक्दा ४/५ बज्छ। ६ बजे साँझ भइहाल्ने। अनि फेरि बेलुकाको तयारी। चरेसका भाँडाको थुप्रो,' उनले भनिन्, 'कामले हैरान।'
बिहानको भात बेलुकी मात्र खान पाउने घरमा भित्रिएकी छोरी भेट्न कहिलेकाहीँ आमा पुग्ने रहिछन्। साँझै बेलुकीको भात खान लागेको ठानेर आमा सोध्दिरहिछन्, 'यति चाँडै खान लागेको?'
आमालाई ढाँट्दै उनी भन्दिरहिछन्, 'आज चाँडै खाएको!'
ससुराको 'सेवा' र कामधन्दाले उनलाई हात बिसाउने फुर्सदै थिएन। कविता लेख्ने हात यसै कुँजिए। उनी विस्मात पोख्छिन्।
२०१३ सालमा उनको पहिलो सन्तान भयो। 'छोरा पाउने बुहारी' बनाएका ससुराले यसबेला भने खुबै ख्याल राखेछन्। आमाबच्चालाई हावा लाग्ला भनेर ठाउँ ठाउँमा पर्दा राख्न लगाएछन्। छोरीहरू बोलाएर पकाएर ख्वाउन लगाए। हुने र सक्नेसम्म सुविधा दिए।
न्वारनमा चापागाउँ बिहे गरिएकी माइली आमाजू आएकी थिइन्। चार/पाँच दिनपछि उनलाई पुर्याउन नारायणदेवीका ससुरा गए। भोटाहिटीबाट कुपन्डोल पुल पुगेपछि आमाजूले थकाइ मारौं भनेर बसालिछिन् र कुरा सुरु गरिछिन्।
'ए बा, नानीचाले छोरा पाएको हैन। छोरी पाएको हो। हेला नगर्नुस्! हामी छोरी भएर त तपाईंको घर कति स्याहार गर्यो,' नातिको सपना देखेका नारायणदेवीका ससुरा छोरीको कुरा सुनेर जिल्ल परे। त्यहीँ झोक्राएर धेरै बेर बसे। र, छोरीलाई पुर्याएर आएपछि बुहारी र नातिनीको मुख फर्केर पनि हेरेनन् रे! नातिको आशमा गरिएका स्याहार हेलामा परिणत भए।
ससुराले एकाबिहानैको पूजापाठ छाडे। दिउँसोतिर मन लागे गर्थे। बोल्न छाडे। पूजाकोठामा केही सामान सकिएको देख्यो भने रिसले भाँडै फ्याँकिदिन्थे रे!
नारायणदेवीलाई डर लाग्थ्यो। पछि उनले छोरैछोरा पाइन्। ससुराले माया गर्न थाले। राम्ररी स्याहारे। खान दिए। ती नातिनीले भने हजुरबाको स्नेह कहिल्यै पाइनन्।
नातिनी हजुरबा भनेपछि हुरूक्कै। पछिपछि लाग्थिन् रे! बजारबाट नातिनीलाई बोकाएर हजुरबा बम्बइसन मिठाइ ल्याउँथे। घर आएर नातिहरूलाई ठूलो भाग हातमा दिन्थे। नातिनीलाई टाढैबाट फुत्त फालिदिन्थे रे!
नारायणदेवी गुलिया मिठाइका तीता पल सम्झँदै भन्छिन्, 'नानुचा (छोरी) लाई बाजेसँगै जानुपर्ने। ससुरालाई पनि जहाँ गए पनि नानुचा चाहिने। तर माया गरेर हैन। सामान बोकाउन होला। अनि केही भन्यो भने भ्वाक्क हान्नुहुन्थ्यो नानुचालाई। एकफेर नाथ्री फुट्ने गरी कुट्नुभो। मलाई त कस्तो दु:ख लागेको।'
जुन महिलाले २००६/०७ सालतिरै महिला जागरणका कविता लेखेकी थिइन्, उनैले महिला भएकै कारण दबिनुपरेको थियो।
जसले 'छोरी जन्मिएकोमा खुसी हुने दिन आउँछ' भनेर शब्दमार्फत् उद्घोष गरेकी थिइन्, उनकै छोरी दुःख भोगिरहेकी थिइन्।
नारायणदेवी बिहेअघि नेपाल भाषा साहित्य लेखनमा मात्र नभई राजनीतिमा पनि जोडिएकी रहिछन्। २००६ सालमा खोलिएको नेपाल महिला संघकी संस्थापक सदस्य रहिछन्। उनका बुबाका साथी गणेशमान सिंह र मंगलादेवीका कारण राजनीतिमा तानिएकी रहिछन्। मंगलादेवीलाई दिदी भन्दिरहिछन्। एकअर्काको घरमा आउजाउ पनि हुने। यसैबाट प्रभावित भएर कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेको महिला संघमा उनी सदस्य बनिछन्।
लेखन यात्रासँगै राजनीतिको बाटो पनि बिहेपछि छुट्यो। आमासँग लुकिछिपी कविता र सम्मेलनसँग त नजिक हुन पाउँथिन्, ससुराको शासनबीच लुक्न कहाँ सक्नु?
नारायणदेवीको कुरामा सही थाप्दै उनीसँगै बस्ने छोरा दिनेशराम श्रेष्ठ भन्छन्, 'हाम्रो बाजे त टोलै थर्काउने। उहाँ बजारमा हिँड्दा कसैले नमस्ते गरेन भने मलाई देखेनस् तैंले भन्दै औंलो तेर्स्याउने। मैले नि देखेकै हो।'
यिनै बाधाबीच पनि उनले बिहेअघि लेखिएका कविता भेला पारेर जसोतसो २०१४ सालमा 'मुखूस्वां' प्रकाशन गरेकी थिइन्।
अनि खुलेर लेख्न फेरि कहिले सुरु भयो त?
'श्रीमानका साथीहरू सिद्धिचरण श्रेष्ठ, सिद्धिधर हृदय (नेवार भाषाका साहित्यकार) घर आउँदा मलाई ए नानु खै लेखेको भनेर कराउनुहुन्थ्यो। उहाँहरूलाई म लेख्छु भन्ने मेरो बिहे नहुँदै थाहा थियो।'
ती दिनमा उनका ससुराको निधन भइसकेको थियो। श्रीमान कैलाशराम श्रेष्ठ पनि विश्वेश्वरप्रसाद कोइरालालाई गुरू मानेर हिँडेका र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँगै हिँड्ने समूहका थिए। घरबाहिरै व्यस्त हुन्थे। आफ्नी श्रीमतीले घरमा ससुराबाट भोग्नुपरेको कष्टबारे पनि कमै थाहा पाउँथे। आफ्ना बाबुले हेला गरेकी छोरीलाई भने उनी खुबै माया गर्थे रे! नारायणदेवीका अनुसार, पाँच सन्तानमध्येकी एउटी मात्रै छोरी बाबुसँगै सुत्थिन्। बाबुकी प्यारी थिइन्।
राजनीतिक चेतना भएकैले होला, नारायणदेवीको लेखनमा श्रीमानबाट समर्थन वा विरोध केही भएन।
उनी पढ्न-लेख्न फुक्का भइन्। नेवारी भाषामा कविता लेख्ने, महादेवी बर्मा, सुमित्रा चौहानका किताब पढ्ने, समाचारसँग अद्यावधिक हुने गर्न थालिन्।
यही क्रममा २०१४ मा छापिएको उनको 'मुखूस्वां' मा अरू १७ वटा कविता थपेर २०६२ सालमा फेरि छपाइन्।
योबाहेक नेपाल भाषामा लेखिएका उनका थुप्रै कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। आजकाल उनी ठाउँ-ठाउँबाट संस्थाको सम्मान कार्यक्रममा जान्छिन्। नभए, पत्रिका, नेवारी किताब र विभिन्न प्रकाशन पढेर समय बिताउँछिन्।
समाचार भने उनी नेपालको मात्र होइन, अमेरिकाको समेत ध्यान दिएर सुन्छिन्। त्यहाँ के भइरहेछ भनेर चासो र जानकारी राख्छिन्।
उनका दुई छोरा अमेरिकै बस्छन्। नारायणदेवी पनि दुईपटक पुगेर आइसकिन्।
यहाँ सँगै भएका छोरा दिनेश भन्छन्, 'अमेरिकामा कहीँ आँधी-हुरी आयो, कहीँ बम वा पेस्तोल पड्क्यो भने आमाले बाहिरै आएर सोध्नुहुन्छ। अमेरिकामा भाइहरूलाई फोन गर त, त्यहाँ के भएको छ भन्नुहुन्छ।'
नारायणदेवीसँग भेटेर फर्कँदै गर्दा मनमा कुरा खेलिरह्यो- उनले पनि बिनारोकटोक ऊर्जाशील समयमै साहित्य सिर्जना गर्न पाएकी भए... आजसम्म उनका कति कृतिहरू आउँथे होलान्...!
यी हजुरआमाका कथा पनि पढ्नुहोस्ः
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे