मित्रकुमारी अधिकारी ८५ वर्ष लागिन्।
उनी १९९१ साल वैशाखमा लमजुङ, कुन्छा खुमारीबोटमा जन्मेकी हुन्। आमा माधवी देवी, बाबु जीवनाथ कोइराला।
१४ वर्ष उमेरमा दुराडाँडा, लमजुङकै शोभाकर अधिकारीसँग मित्रकुमारीको बिहे भयो।
बिहेलगत्तै २००६ साल साउन ११ गतेको कुरा।
मित्रकुमारीका ससुरा वसन्त अधिकारी लगायत २७ जना ब्राह्रमणले 'हलो क्रान्ति' मा भाग लिए। पण्डित तोयानाथ अधिकारीको अगुवाइमा उनीहरूले दुराडाँडा, लमजुङमा हलो जोते।
'ससुराले हलो जोत्दा मेरा माइतीले भातभान्सामा जात काढे,' मित्रकुमारीले भनिन्।
'हलो क्रान्ति भनेको के हो?' मेरो प्रश्नले उनलाई त्यतिबेला भोग्नुपरेका कष्ट र पीडाको समयमा पुर्याइदियो।
'त्यो बेलाको चलनअनुसार बाहुन जातले हलो जोत्न हुन्थेन,' मित्रकुमारीले भनिन्, 'चलनविपरीत उहाँहरूले हलो जोतेर गाउँलेलाई चुनौती दिनुभएको थियो। त्यही हो हलो क्रान्ति।'
त्यो हलो क्रान्तिको के-के याद छ?
'छ नि। म घरै थिएँ। ससुरा वसन्त, जेठाजु तोयानाथ, देवर बद्रिनाथ सबै गएर दुराडाँडामा हलो जोत्नुभो। मेरा श्रीमान पनि जाने कुरा रहेछ। त्यतिबेला गोरखामा हुनुहुन्थ्यो। विदा नपाएर आउनु भएन,' उनले सुनाइन्।
हलो क्रान्तिमा सहभागीहरूलाई होच्याउँदै कविता पनि बनेको रहेछ। मित्रकुमारीलाई कण्ठै छ।
'म सुनाउँछु है' भन्दै उनी सुनाउन थालिन्-
नइपाल पश्चिम लमजुङ पहाड मध्य विषय अति उत्तम दुरडाँडा
सत्कर्मले सहित प्रफुज्ज माला सुधर्म नष्ट गरने एकथिन जान
तोयानाथ बद्रीनाथ वसन्त थिए सारा।
'डडाँली हलो जोतेर बिग्रे भन्दै कविता बनाए,' उनले भनिन्, 'दुरडाँडाका बासिन्दालाई डडाँली भन्थे। त्यो क्रान्तिमा भाग लिने व्यक्तिलाई मात्र होइन, पूरै परिवारलाई गाउँलेले अपमान गरे।'
अधिकारी परिवार र अरू बाहुन परिवारले हलो जोतेपछि रमिता लाग्यो। ठूलै तरंग ल्यायो गाउँमा। मित्रकुमारीका अनुसार गाउँका जो छोरी/बुहारी, घर/माइत गएका थिए, ती उतै रहे। कोही आउन-जान पाएनन्।
'मेरा घरकाले हलो जोतेकै कारण म पनि एक/डेढ वर्ष माइत जान पाइनँ। पछि गएँ। तर भान्सामा जान दिन्थेनन्। कसैले भान्सामा लग्यो कि भनेर शंका गर्दै चियोचर्चो गर्थे गाउँले,' उनले सुनाइन्।
किन?
'अब यता हाम्रो दुराडाँडाको पानी नचल्ने भो नि। त्यतिबेला सार्की, घर्तीले मात्र हलो जोत्छन् भन्थे,' त्यो दु:खकी साक्षीले मित्रकुमारी भन्छिन्, 'बाहुनले जोतेपछि उसको भात-पानी नचल्ने भो। हामी केटीहरूले त के बोल्ने। माइत गएकाहरू माइतमै। घरका घरै।'
अघिल्लो साल मात्र बिहे भएको, माइत जाने कति रहर थियो मित्रकुमारीलाई। तर अनौ र हलोले माइतीको बाटो छेकिदियो।
एक वर्षपछि भने बुबा लिन आए।
चार-पाँच घन्टा हिँडेर छोरी लिन त आए, उनको घरको पानीसम्म पिएनन्। गाउँभरमै पिएनन्। अझै पनि ती दिन सम्झिँदा आफूहरूको कसुरबिना नै माइतीबाट पाएको रुखोपनले बिझाउँछ उनलाई।
'सरासर आएर लिएर जानुभयो। जाँदा चौतारामा मान्छेहरू तास खेलेर बसेका थिए। बुबासँग मलाई देखेपछि उनीहरू झस्के,' बल्लतल्ल माइत जाँदा पनि गाउँलेका आँखा तिखा देखिएका क्षण सम्झिँदै उनले सुनाइन्, 'ए बैदार (उनका बुबा त्योबेला बहिदार थिए), छोरी लिएर आउनुभो' भने। बुबाले 'ल्याएँ' भनेपछि हामी खुरूखुरू हिँड्यौं। ती मान्छे त हाम्रो पछि नै लागे। हामीसँगै हाम्रो पिँढीमा बसे।'
किन आएका?
'चियो गर्न नि। मलाई अब भान्सामा लान्छ कि लाँदैन भन्ने हेर्न। यति निन्दा भो। दाजुहरूले भात पकाउनुभएको थियो। पस्केर भान्साको डिलतिर ओरालेर दिनुभो। आफ्ना आमाबाको घरमा पनि त्यसरी तल बसेर खान पर्दा मन थाम्नै सकिनँ। रोएँ,' त्यो भान्साको डिल सम्झँदा अहिले उनका आँखाका डिल भारी देखिँदै थिए।
उनीहरूका पछि लागेर आएकाहरूले उनको पिछा छाडेनन्।
'घरका प्वालबाट, करेसाबारीबाट समेत हेरेका। कहाँ राख्यो छोरीलाई, के खायो, कसो गर्यो, भान्सामा चढायो चढाएन भनेर। त्यस्तो थियो जमाना,' उनले सुनाइन्, 'दिक्क लागेको थियो दूरदूर गरेको देख्दा।'
यो त्यही माइती थियो, जहाँ कुनै बेला उनी सर्वेसर्वा थिइन्।
मित्रकुमारी नौ वर्ष हुँदा आमाको मृत्यु भएको थियो। उनी घरकी जेठीबाठी। आमाको मृत्यु भएको ४५ दिन हुँदा कान्छी बहिनी तीन महिनाकी थिइन्। उनको पनि त्यही दिन मृत्यु भयो।
अरू ६ वर्षको भाइ, ४ र २ वर्षका बहिनीको स्याहारसुसार जिम्मेवारी मित्रकुमारीकै काँधमा। उनले 'आमा'कै थान्कोमा बसेर स्याहारिन्।
'साना भाइबहिनी हेर्ने, खुवाउने, स्याहार्नेदेखि घर सबै हेर्ने मेरै काम भयो,' कलिलो काँधमा आएको भारी सम्झिँदै उनले सुनाइन्, 'ठूलो ताल्चासाँचो हुन्थ्यो। बुबाले त्यो साँचो पटुकोभित्र घुसारेर बस् भन्नुहुन्थ्यो। बुबा र दाजुभाइहरू घरबाहिरै। कोही काममा, कोही पढ्न।'
पाँच वर्षको उमेरमा गुन्यूचोलो पाएकी उनले त्यति बेलादेखि नै धोतीचोलो लगाउँथिन्। ठूलो साँचोको झुप्पा पटुकीमा घुसारेर घर भित्रबाहिर गर्दै हिँड्ने उनी आफैं सानी नानी थिइन्।
त्यो बेला छोरीको दूधे दाँत नझर्दै बिहे गरिदिने चलन। धन्नै भन्नुपर्छ, घरको जिम्मेवारीले उनको बिहे धकेलियो। उनका बुबाले 'छोरी बूढी हुन्जेल बिहे नगरिदिएको' आरोप भने सहनुपर्यो।
त्यतिबेलाको चलन हेर्ने हो भने दुई बिहे नै सामान्य थियो। अझ श्रीमतीको मृत्युपछि अर्को बिहे त गर्थे नै। यही सम्झेर उनलाई सोधेँ, 'बुबाले अर्को बिहे गर्नुभएन?'
'अहँ। आमा गएको वर्ष दिन नहुँदै केटी दिन आएका थिए। बुबाले गर्दिनँ भन्नुभो। एक जना बूढा मान्छेले आफ्नी नातिनीसँग बिहे गराउन आए। बुबा ४० वर्षको हुनुहुन्थ्यो त्यतिबेला। सबैले उहाँलाई 'उमेर छ, बिहे गर। तिमीलाई सजिलो हुन्छ' भन्थे। बुबा मान्नुभएन। मलाई स्वास्नी चाहिने सन्तानका निम्ति हो। सन्तान छन्। अब स्वास्नी चाहिँदैन भन्नुभो। कुमारै बस्नुभो।'
'कुमारै त भन्न मिलेन नि है,' मैले उनका कुरा काटेँ।
'कुमार त हैन, कुमारजस्तै। ४० वर्षमा त मान्छे बिहे गर्छन् हैन र,' उनी बुबाको निर्णयको सरहाना गर्दै भन्छिन्, 'उहाँले बिहे गर्नुभएन। गाउँलेले पनि व्यवहार फेरेनन्। गाउँका जम्मै छोरी, बुहारीदेखि अफिसका मान्छेसम्म बुबासँग सरसल्लाह लिन आउँथे। उहाँ हामी र गाउँलेसँगै रमेर बस्नुभो।'
उनका बुबाले बिहे गरेनन्, छोरीको समेत बिहे नगरिदिएको आरोप लागेपछि केटो खोज्न थाले।
तर सौतेनी आमा नल्याएका बुबाले मित्रकुमारीलाई सौता बनाएर कन्यादान गरिदिए। शोभाकर अधिकारीकी दोस्री श्रीमती बनेर भित्रिइन् मित्रकुमारी।
'कसरी त्यस्तो भयो? थाहा पाएर कि नपाई?
'थाहा के नहुनु। नियति त्यस्तै। मेरा श्रीमानका तीनवटी छोरीछोरी रहेछन्। फेरि कान्छी छोरी बाउको मूलो परेकी रे। श्रीमान त्यतिबेला सिन्धुलीमा जागिरे। आफैं ज्योतिषी पनि। दसैंमा घर आएका बेला श्रीमतीलाई व्यथा लागेपछि जोखना हेर्नुभएछ। अब मूलो परेकी जन्मिन्छ भन्ने थाहा भएछ। उहाँलाई खुब ज्वरो पनि आएको रहेछ। अरूले थाहा पाए यसोउसो भन्छन्, खैलाबैला हुन्छ भनेर 'अफिस नपुगी भा छैन, जसरी नि जान्छु, मलाई बोक्ने मान्छे खोज्दिनू' भन्नुभएछ। ससुराले मान्छे खोज्दिएपछि सिन्धुली जान भनेर हिँड्नुभयो। तर सिन्धुली नगई बेसीमा गएर बस्नुभएछ,' उनले सविस्तार सुनाइन्।
त्यति बेला 'मूल परेर' जन्मिएका छोराछोरी सँगै राख्ने चलन थिएन। त्यो समय कटेपछि, गाईको टाङमुनिबाट छिराएर अनेक पूजाआजा गरेर मात्र घरमा ल्याइन्थ्यो।
कति समय बस्नुभएछ त श्रीमान बेसीमै?
'आफ्नो जोखाना सफल हुन्छ कि हुन्न भनेर बुझ्न बच्चा नजन्मेसम्म त्यहीँ बस्नुभएछ। राम्रै जन्मे घर फर्किने, नभए सिन्धुली जाने भनेर। मूलो परेकै जन्मेपछि सिन्धुलो जानुभो। यता कात्तिकमा छोरी जन्मी। चैतमा झाडाबान्ता लागेर देवर बित्नुभो। देवरका दुइटा श्रीमती, सन्तान थिएनन्। जेठीबाट तिनटी छोरी नै छोरी भएपछि एकदिन मेरा श्रीमानले राम्रो कुलघरानकी बढेकी केटी खोज्नू, म अर्को बिहे गर्छु भन्नुभो रे।'
उनका श्रीमानले के सोचे वा के जोखाना हेरे थाहा छैन, उनले आफ्ना बुबा र भान्दाइलाई केटी खोज्न भने। ती भान्दाइ कोइराला थरका। एकै थर भएकाले मित्रकुमारीका बुबासँग राम्रो चिनजान रहेछ। तिनै भान्दाइले मित्रकुमारीको बिहेका लागि हैरान पारे।
'दिनै बिहान उठ्दा पिँढीमा आएर बसिसक्ने। त्यस्तो कर गरेर माग्नुभो,' मित्रकुमारीले सम्झिँदै भनिन्, 'बाले दिन्नँ-दिन्नँ भन्नु भाथ्यो। ती भान्दाइले हत्ते गर्नुभो। अनि बुबाले जागिरे दिमागले सोच्दै, केटो जागिरे छ, धनीलाई दिनुभन्दा जागिरेलाई दिन जाती ठानेर दिनुभयो।'
'त्यसरी सौतामाथि नै दिनु त्यो बेला तपाईंको उमेर अलि बढी भयो भनेर त होइन?'
'त्यस्तो त हैन। उनीहरूले हत्ते गरे। फेरि मलाई अन्तबाट पनि सौतामाथि नै माग्न आथे। अन्त दिनुभन्दा यही जागिरेलाई दिनु वेश भनेर हो। बाले ती भान्दाइलाई 'ल भाइ, तिमीले उपद्रो नै गर्यौ, तिमीलाई दिएँ एउटा छोरी' भनेर रुनुभयो।'
फागुनको अन्त्यमा मित्रकुमारीको गोर्खा जिल्ला अदालतका 'विचारी' शोभाकर अधिकारीसँग कुरा छिनियो। चैतमा बिहे गर्ने चलन छैन। वैशाखमा शोभाकरले विदा मिलेन भने।
जेठमा शोभाकरकी श्रीमतीका तर्फबाट छोरा जन्म्यो।
'छोरा जन्मेन भनेर केटी खोज्या, बिहे गर्न लाग्दा जन्म्यो। अब के गर्ने बुबाले। उबेला बिहे छिनेको केटी छोड्न गाह्रो थियो,' त्यो बेलाको समय वा चलनका अगाडि हार खाएका बुबाको भनाइ सम्झिँदै मित्रकुमारीले सुनाइन्, 'दसै भाइ छोरा पाए नि के गर्नु, अब दिइसकेँ भन्नुभो। त्यसरी सौतामाथि परियो। त्यत्रा छोराछोरी थिए उता।'
उता सुत्केरी उकासेर असारमा बिहे भयो।
मित्रकुमारी शोभाकरका घरमा दोस्रो श्रीमती बनेर भित्रिए पनि उनी तेस्री थिइन्। शोभाकरकी पहिले पनि एक श्रीमती थिइन्, जसको मृत्यु भइसकेको थियो। शोभाकर मित्रकुमारीभन्दा २० वर्ष जेठा थिए। सौताकी जेठी छोरीका छोरा र आफ्नी जेठी छोरी सँगसँगै जन्मिएको मित्रकुमारी बताउँछिन्।
त्यसरी बिहे गरेका श्रीमानसँग उनको कस्तो सम्बन्ध रह्यो? घरमा कसरी बसिन्?
'श्रीमान र मेरो दोहोरो कुरा हुन्थेन। हाम्रो कान्छो छोरो जन्मिएपछि चाहिँ कुरा भएको याद छ,' उनले सुनाइन्, 'केही वर्षसम्म सौताको पनि राम्रो व्यवहार भएन।'
अनेकन हण्डर खाएकी मित्रकुमारीले हरेश भने खाइनन्। कलिलै उमेरमा आमाको भूमिका निर्वाह गरेकी उनको ममता आफ्ना छोराछोरीमा झनै झाँगियो। छोराछोरीको भविष्य बनाउनतिर ध्यान दिइन्। उनका छ सन्तान छन्- छोरी विन्दु, श्री, अब्ज र छोरा प्रभाकर, रत्नाकर र प्रवीणकर।
उनी आफूले पढ्न/लेख्न पाइनन्। कान्छो छोरा पाँच वर्षको भएपछि अक्षर चिनेकी थिइन्। छोराछोरीलाई राम्ररी पढाउने धोको थियो। कालान्तरमा उनी आफ्ना र सौताका गरेर १३ जना छोराछोरी लिएर काठमाडौं आइन्। छोराछोरी पढाइन्।
उनका छ जनै छोराछोरीले उच्च शिक्षा हासिल गरेका छन्। छोराछोरीसँग विदेश घुमेकी छन्।
भारतको चारधाम जान नपाएको उनको गुनासो छ। फेरि आफ्नो गुनासोलाई आफैं विस्थापित गर्दै भन्छिन्, 'छोराछोरीले विदेश घुमाएका छन्। हरिद्वार र गया गइसकेँ। इटालीमा शिव मन्दिर दर्शन गरेँ। श्रीलंकामा बद्री र सीताको दर्शन। यहाँ पनि मुक्तिनाथ, गोकर्ण गइसकेँ।'
जहाँ पुगे पनि उनको एउटा बानी कहीँ गएको छैन, उनी अरू कसैले पकाएको खान्नन्।
यति धेरै सन्तानकी आमा, ठूलो परिवारकी बुहारी मित्रकुमारीको आफैं पकाएर खाने बानी कति हदसम्म रहेछ भने, म उनीसँग कुराकानी गर्न जाँदा उनको दाहिने हात सुन्निएको थियो। केही समयअगाडि भाँच्चिएको रहेछ। प्लाष्टर काटेपछि पनि फुलेकै थियो। त्यो अवस्थामा पनि उनले अरूले पकाएको नखाएको कुरा सुनाउँदै थिए उनका छोरीबुहारी।
'कसरी यस्तो बानी बस्यो?'
मित्रकुमारीले आफ्नो बानी पछाडिको कथा सुनाइन्।
भएछ के भने, हलो क्रान्तिले जात काढिएको थियो। धेरै वर्षपछि विस्तारै खुकुलिँदै गयो। भातभान्सा चल्न थाल्यो। कोही लुकीलुकी खान्थे। कोही के गर्ने-के गर्ने भन्ने चल्दैचल्दै गयो।
मित्रकुमारीका अनुसार २००८/०९ सालदेखि धेरैले लुगा लाएरै भात खान थाले। पहिले नुहाएर, धोती फेरेर खान्थे। त्यसपछि विस्तारै 'ट्यामचरी' खाने भन्दै कुखुराको मासु खान थाले। समाजमा यस्तो हुँदै गएपछि मित्रकुमारीका ससुराले 'अब म कसैले पकाएको खान्नँ' भनेछन्।
ससुराले त्यसो भनेपछि उनका श्रीमानले पनि 'बाले खानुहुन्न भने म नि खान्नँ' भन्न थाले। पछि बल्ल मित्रकुमारीहरूलाई 'तिमीहरूले कतै गएर, माइततिर पनि गएर खाँदैनौ भने तिमीहरूले पकाएको खान्छौं, नभए आफैं पकाएर खाने' भनेछन्।
'हाम्रो कामै भात पकाउने थियो। त्यही पनि नखाने भन्दिएपछि के गर्ने। हुन्छ भन्यौं,' मित्रकुमारीले भनिन्, 'हाम्री जेठी (सौता) कतैकतै लुकेर चाहिँ खान्थिन्।'
श्रीमतीहरूको बाध्यता!
'मैले भने खाइनँ। अनि त्यही बानी भयो। अरूले पकाएको खान्नँ,' उनले भनिन्।
अनि हात भाँचिदा के गर्नुभयो त?
'दुई/तीन दिन रोटी खाएँ। रोटीले चित्त नबुझेपछि राइसकुकरमा पकाएर खाएँ। पहिले त राइसकुकरमा पकाएको खान्थिनँ। अब खानै पर्यो। देब्रे हातले चामल हालेँ, पकाएँ, पस्केँ,' उनले भनिन्।
घरमा अरू सदस्य हुँदा पनि कठिन परिस्थितिमा आफैं पकाएर खानुपर्दा उनलाई दु:ख नलागेको बताउँछिन्।
बरू अरूले छोएको खाएर 'अगति' परिएला भन्ने पीर छ।
आफ्ना सुन्निएका हात देखाउँदै भन्छिन्, 'यी यस्तो सुन्निराछ। उहिलेदेखि बानी लागिहाल्यो। पहिले रजस्वला हुँदा पनि रोटी, मकै, पुवा खाएर गुजारा चल्यो। भगवानका कृपाले भातै पकाउन नसक्ने गरी बिरामी भएर सुत्या छैन। सकिञ्जेल आफैं पकाउने।'
मित्रकुमारीको यो इच्छामा परिवारका कोही तगारो बन्न चाहन्नन्। छोराबुहारी भन्छन्, 'आमा यसमै खुसी हुनुहुन्छ।'
तै मित्रकुमारीको एउटा इच्छा अधुरै छ- स्विमिङ कस्ट्युम लगाएर पौडी खेल्ने।
सन् २०१५ मा श्रीलंका पुग्दा मित्रकुमारीलाई खुबै पौडी खेल्न मन लागेको रहेछ।
'यिनीहरूले जानी-नजानी खेलेको देख्दा मैले पाए त गर्थें होला भन्ने मनमा आएको नि,' उनले हाँस्दै भनिन्।
यो रहर मित्रकुमारीको मनमा कायमै रहेको बुहारी मोनाले सुनाइन्। सासूको रहर पुर्याउन, उनले 'एक्स्ट्रा लार्ज' साइजको स्विमिङ कस्ट्युम पनि किन्दिन खोजेकी रहिछन्।
बुहारीको कुरा सुनेर ८५ वर्षीया मित्रकुमारीले भनिन्, 'खोइ ल्याइदिएनन् त स्विमिङ कस्ट्युम। ल्याइदिए भने त लगाएर पौडी खेल्थेँ भन्ने हिम्मत छ मसँग।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
वृद्धाश्रममा २० वर्षदेखि सान्नानी
'छोरी भइदिएकी भए ...'
'काठमाडौं यस्तो होला भन्ने कल्पनै गरेकी थिइनँ'
रूद्रकुमारीले फेरि आफ्नो कथा भन्ने छैनन्
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे