रसुवामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
बिहीबार बस दुर्घटना हुँदा घाइते भएका २१ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने १७ जनालाई उपचारको लागि त्रिशूली लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार उत्तरगया गाउँपालिका-५ पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे-त्रिशूली सडक खण्डमा गत्लाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नं.२० गुल्म हेड क्वार्टर रसुवाबाट सप्रनि रविन्द्र दाहालको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सप्रनि दिनेश घिमिरेको कमाण्डमा टोली परिचालन भएको थियो।