ब्राजिलका स्टार स्ट्राइकर नेइमार २६ अर्ब ६४ करोडभन्दा पनि बढि रकम २६ अर्ब ८६ करोड रुपैयाँमा फ्रान्स क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध भएका छन्। २५ वर्षीय स्टारले शुक्रबार फ्रेन्च क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
गत वर्ष इटाली क्लब युभेन्ट्सबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध हुँदा पाउल पोग्बा १२ अर्ब ५ करोड रुपैयाँमा स्थानान्तरण भएका थिए। पोग्बाभन्दा दोहोरो बढि राषीमा नेइमार स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी पुगेका हुन्।
उनलाई आफ्नो क्लबमा भित्र्याउन पिएसजीले अन्तर्राष्ट्रिय फुटबललाई चकित बनाउने रकम खर्चेको हो। नेइमार विश्वको सबैभन्दा महंगो रकममा पिएसजी भित्रिएका हुन्। उनले पारिश्रमिकबापत वार्षिक ५ अर्ब ४४ करोड रुपैयाँ पाउने छन्। उनको साताको तलब मात्र ९ करोड ४६ लाख रुपैयाँ हुनेछ।
उनलाई ५ वर्षका लागि पिएसजीमा भित्र्याउन क्लबले कूल ५३ अर्ब ५४ करोड रुपैयाँ खर्चेको छ। पिएसजीमा अनुबन्धित भएपछि नेइमारले क्लबको विषयमा पहिलो प्रतिक्रिया दिँदै भने, ‘युरोपको एउटा अति महत्वकांक्षी क्लब।’ उनले पिएसजीको महत्वकांक्षाले नै आफूलाई आकर्षित गरेको, जसले आफूमा भोक र उर्जा जगाएको बताए।
‘आजदेखि मैले चुनौतीलाई भित्री मनदेखि नै स्विकार गरेको छु, म आफ्नो बलबुताले भ्याएसम्म सबै गर्नेछु, क्लबका मित्रहरुलाई सहयोग गर्न।’ फ्रेन्च क्लबले शुक्रबार दिउँसो पत्रकारसम्मेलनको आयोजना गर्दैछ। नेइमारलाई भोली शनिवार पहिलो पल्ट क्लब समर्थकसमक्ष देखा पर्नेछन्। पिएसजीले शनिवार सिजनको पहिलो खेल आमियन्सविरुद्ध पार्क डेस प्रिन्सेसमा खेल्दैछ।
पिएसजी गत सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा समावेश भएको थियो। अबे खेलमा बार्सिलोनाले ६ गोल हानेपछि पिएसजीको क्वाटरफाइनल प्रवेश गर्ने सपना भताभूङ भएको थियो। पिएसजीलाई बाहिर्याउन नेइमारले नै अन्तिम सेकेन्डमा गोल गरेका थिए। नेइमार पिएसजीमा आवद्ध हुने स्क्रिप्ट यही खेलपछि तय भएको मानिएको छ।
गत सिजनको फ्रेन्च लिगमा पिएसजी मोनाकोसँग पछाडि पर्न पुगेको थियो। नेइमारको आगमनपछि क्लबले च्याम्पियन्स लिग र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेको छ।