प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अध्यादेश ल्याउन हुने र मिल्ने बताएका छन्।
तर अध्यादेशका अन्तरवस्तु के छन् भन्नेमा भने प्रश्न रहने उनको भनाइ छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै माओवादी उपमहासचिव शर्माले भने, ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ, त्यसभित्र के-के आयो भन्ने प्रश्न पो हो त। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतामा आतंक छ। सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका पो छ त।’
शर्माले सत्तापक्षलाई सुझाव भन्दै मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ नहुने बताएका छन्।
‘सत्तापक्षलाई म सुझाव राख्न चाहन्छु, मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन,’ उनले भने, ‘अध्यादेश कहाँ अड्केको छ, ल्याउनुपर्यो। छलफल गरौंला, राम्रोलाई राम्रै भनौंला।’
सरकारले ६ वटा अध्यादेश सदनमा दर्ता गरेको छ। तर राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिएकोले निर्णयार्थ पेस गरेको छैन। जसपा नेपालले भूमिबाहेक अध्यादेश स्वीकार गर्न सहयोग गर्ने बताएको छ।