प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक बसेको छ।
मंगलबार साँझ ६ बजे बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू छन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दुई दलीय संयन्त्र बैठक बसेको हो।
सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।
जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ। सत्ता पक्षलाई जसपा नेपालको साथबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन।
यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बसेको हो।