नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नैपर्ने अवस्था आएको बताएका छन्।
कांग्रेस धनुषाले शुक्रबार जनकपुरमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टीको १५ औं महाधिवेशनमा सहयोगको अपेक्षा राखेको बताए।
‘मैले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारणले म कांग्रेसको सभापति बन्नपर्छ। म लाखौं कमाउने मान्छे हो, मैले त्यो छोडेर राजनीतिमा आएको हो। मलाई कुनै लोभ छैन,’ उनले भने, ‘म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो। बिपी १४ वर्ष जेल बस्नुभयो। पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गर्नुभयो। कृष्णप्रसाद कोइरालाको हजारौं विगाह जमिन थियो। आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो।’
उनले आउँदो महाधिवेशनमा नेता कार्यकर्ताहरूको आफूले सहयोग पाउने अपेक्षा राखेको पनि उनले बताए। ‘सहयोग गर्नुहोला, म तपाईंहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु,’ उनले भने।
उनले कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एकढिक्का बनाउने र नेता कार्याकर्ताहरूलाई न्याय दिलाउने आधार पनि प्रस्तुत गरेका थिए।
उनले कांग्रेसको विधानमा भएको केही व्यवस्था गलत रहेको बताए। पार्टी सभापतिको मात्र चुनाव गराउने व्यवस्था गरेर सभापतिलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
उनले हरेक पदमा चुनाव भएकाले पनि गुट उपगुट बनेको दाबी गरेका थिए।
‘बिपी कोइरालाका पालाको विधान कस्तो थियो। समावेशी शब्द उहाँले कहिल्यै प्रयोग गर्नुभएन। मन्त्री बनाउँदाको समावेशीता हेरौं, केन्द्रीय समिति बनाउँदाको समावेशीता हेरौं। विधानमा लेखर मात्र हुन्छ त नेता व्यवहारिक भयो स्वार्थी भएन भने किन विधान चाहियो,’ उनले भने।
चुनावका बेलामा टिकट वितरण गर्दा केन्द्रीकरण गर्न नहुने उनले बताए। केन्द्रका २०–३० जना प्रभावशाली नेताहरूले भाग लगाएर टिकट वितरण गर्दा समस्या भएको उनको भनाइ छ।